फागुनमा गुफाचौरमा गणेश मूर्ति प्रतिस्थापन गरिदै

दृष्टि न्यूज

पाल्पा । गणेश मूर्ति प्रतिस्थापन समितिको आयोजनामा मंसिर ८ गते तानसेनमा आयोजित भेलामा पं. ईश्वरकृष्ण महाराजले यही फागुन १ देखि १५ सम्म तानसेन टुँडिखेलमा गुफाचौरमा गणेशधाम निर्माणका लागि महायज्ञ सञ्चालन गरिने र लगत्तै गणेशमूर्ति तानसेन–१०, गुफाचौरमा प्रतिस्थापन गरिने उदघोष गरेका छन् । समितिका अध्यक्ष तथा तानसेन नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता, उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, समितिका मोहनलाल गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रमका मूल पाहुना ईश्वरकृष्ण महाराजले धामका लागि पहिलोचरणमा रु १ लाख १ स्वेच्छिक सहयोग गर्ने ३ सय १ जनालाई संस्थापक सदस्य बनाइने र समर्पणता र पारदर्शीतालाई ख्याल गरेर गणेशधाम निर्माण अभियान सम्पन्न गरिने बताए । उनले भेलामा उपस्थित सबैलाई आग्रह गरे–“पाल्पाको पर्यटन विकाससंगै धार्मिक तथा सामाजिक सदभाव अभिबृद्धिका लागि गणेशधाम निर्माणमा सबै जुटौँ, त्याग गरौँ, पाल्पालीले केही गरे भन्ने सन्देश सञ्चार गरौँ ।”
जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख मीरा मरासिनीले पाल्पा विकासका लागि  गणेशधाम अभियान सफल पार्न परिवारसँग सल्लाह गरेर सघाऔँ भनिन् । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले यो अभियान धार्मिक अभियान भन्दा पनि पर्यटन विकास मार्फत समग्र जिल्लाको विकासका लागि आधार भएकाले जे सकिन्छ सहयोग गरेर अभियान सफल पारौँ भने । पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पा तानसेनको विकासका लागि अगाडि सारिएको अभियानलाई सफल पार्न निजी क्षेत्रले सहयोग गर्ने बताए । विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य विश्वराज पौड्यालले धार्मिक रुपले मात्र नहेरी समग्र विकासको आधारका रुपमा गणेशधामलाई सहयोग गर्न आग्रह गरे । तानसेन नगरप्रमुख तथा कार्यक्रमका अध्यक्ष अशोककुमार शाहीले असल संस्कार र संस्कृतिको जर्गेनाका लागि साथै पर्यटन विकास मार्फत तानसेन पाल्पाको समग्र विकासका लागि गणेशधाम बलियो आधार बन्न सक्ने भएकाले सबैले अभियान सफल पार्न सघाउनका लागि आग्रह गरे । उनले छिट्टै विभिन्न उपसमिति गठन तथा सचिवालय स्थापना गरिने जानकारी गराए । कार्यक्रमा संस्थापक सदस्य बन्न प्रतिवद्धता जनाएका २५ जनालाई मूल पाहुनाले टीका र खाँदाले सम्मान गरेका थिए । –गोविन्द भट्टराईबाट

Related News