यसकारण हार्दैछन् चन्द्र भण्डारी

दृष्टि न्यूज

गुल्मी, १२ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीले यसपटक भने चुनाव हार्ने तथ्य तथा कारणहरु बाहिर आएका छन् । 
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभामा निकै कष्टपूर्ण संघर्षले चुनाव जिते पनि यसपटक धेरै कारणले उनले चुनाव हार्ने तथ्य काँग्रेस कार्यकर्ताबाटै बाहिर आउन थालेको छ । अघिल्लो निर्वाचनमा भण्डारीले गरेका बाचा अनुसार कुनै पनि काम अगाडि बढ्न नसक्नु नै उनको हारको मुख्य कारण बन्ने कुरा काँग्रेसवृत्तबाटै बाहिर आएको छ ।
    भण्डारीले आफूले पूरा गर्नसक्ने भन्दा पनि बढी महत्वाकांक्षी योजनाहरु बताउने तर काम गर्न नसक्नाले उनलाई यसपटक मतदाताले नपत्याउने गरेको बारेमा पार्टीभित्रै गम्भीर छलफल चलेको छ । कामभन्दा वढी सस्तो प्रचारबाजीमा रमाउने भण्डारी प्रवृत्तिका कारण यसपटकको निर्वाचनमा प्रदिप ज्ञवालीका सामु चन्द्र भण्डारी विकासका बारेमा नक्कली, राजनीतिक तथा बैचारिक सम्बन्धमा निकै कमजोर सावित भएकाले काँग्रेसी कार्यकर्ताले हार स्वीकार गरिसकेको खुल्नमा आएको छ । 
    उनले अघिल्लो निर्वाचनमा जे पनि गर्छु भन्दै हिडेकाले अहिले ती कामहरु गर्न नसक्दा कार्यकर्ताकहाँसम्म पुग्न पनि उनलाई निकै समस्या भएको काँग्रेसका नेताहरुले कुरा खोल्न थालेका छन् । अघिल्लो निर्वाचनमा भण्डारीले मुख्य नारा बनाएको सालझण्डी–तम्घास फास्ट ट्रयाक र रिडीमा बन्ने भनिएको तीनमुखे पुल उनले नाम जोडे पनि कामले भने कुनै गति लिएको छैन ।
     ती मुख्य योजनाहरु उनी संसद बन्नुपूर्व टोपबहादुर रायमाझीले प्रदीप ज्ञवालीको दबाबमा समावेश गरिएको बताएपछि चन्द्र भण्डारीको दाबी हावादारी गफ सावित भएका छन् । अघिल्लो पटक विकासे नाराको रुपमा अगाडि सारिएका कामले गति लिन नसकेपछि कार्यकर्ताहरु जनतासामु के भनेर मत माग्न जाने भनेर समस्या भएको बताउन थालेका छन् ।  
नैतिक संकटमा नेतादेखि कार्यकर्तासम्म 
अघिल्लो निर्वाचनमा निकै झुटो प्रचारबाजी गरेर मत मागेकाले यसपटक अघिल्लो निर्वाचनमा हिंडेका नेता तथा कार्यकर्ता आलोचनाबाट जोगिनलाई अर्को निर्वाचन क्षेत्रमा गएर मत माग्ने गरेका छन् । मतदाताले प्रश्न उठाए के उत्तर दिने भन्ने चिन्ताले उनीहरुले भण्डारीको साथ छोडेको बुझिएको छ ।
    जस्तोसुकै काम पनि मैले गर्छु गरेको हुँ भन्ने अनि काम केही नगर्ने उनको मुख्य स्वभाव भएकाले अहिले उनका पार्टीका जिल्ला तहका नेताहरुलाई उनको निर्वाचन क्षेत्रमा हिंड्न समस्या परेको बताउछन् । अघिल्लो निर्वाचनमा निकै उत्सहपूर्वक हिंडेका काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी उनको झुटो आश्वासनका कारण पछाडि लाग्न छाडेका छन् ।
 काँगे्रस जिल्ला सचिव खिलध्वज पन्थीले प्रदेशसभा सदस्य पदमा उम्मेदवारी नपाउनुमा चन्द्र भण्डारीले खेलेको असहयोगी भुमिका मुख्य कारण रहेको बुझाई काँगे्रस नेता कार्यकर्ताहरुमा व्याप्त छ । भण्डारीले उनलाई अघिल्लो निर्वाचनमा मुख्य योजनाकार बनाएर सँगै चुनावी अभियानमा राखेका थिए तर अहिले उनले पनि साथ छोडेपछि अन्य कार्यकर्ताहरुले भण्डारीको साथ छोडेर अर्को निर्वाचन क्षेत्रमा जाने वा तटस्थ बस्ने निर्णय लिएका छन् । उनको निर्वाचन क्षेत्रमा जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले समेत औपचारिकता पूरा गर्न निकै कम समयमात्र दिएका छन । 
स्थानीय तहको निर्वाचनमा भुवन श्रेष्ठले काँगे्रसले आफ्नो विरासत ठान्दै आएको रेसुङ्गा नगरपालिकाको मेयर पदमा समेत पराजय भोग्नुका पछाडि चन्द्र भण्डारीले भविष्यमा आफ्नो राजनीतिक प्रतिस्पर्धी जन्मन नपाओस् भनेर असहयोग गरी हराएको जिम्मेवार काँगे्रस कार्यकर्ताहरु बताउँछन् । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारणका क्रममा समेत काँगे्रसका नेताहरु रहेको क्षेत्र प्रतिनिधिसभा क्षेत्र नं.२ मा समावेश गराएर भण्डारीले काँगे्रसभित्र एक्लो बृहस्पति बन्न चलखेल गरेको आरोप भण्डारीमाथि छ । 
संविधान संशोधनमा भण्डारीको दोहोरो चरित्र
पाँच नम्बर प्रदेश टुक्रयाउने विषयको विपक्षमा चर्को रुपले देखापरेका भण्डारी अन्ततः संविधान संशोधनको पक्षमै उभिए । एकाएक संविधान संशोधनको पक्षमा भण्डारीले हस्ताक्षर गरेपछि भारतीय दबाबका सामु घुँडा टेकेको लुम्बिनीको काँगे्रस वृत्तमा त्यतिबेलै चर्चा चलेको थियो । उनी त्यही कारण पनि पार्टीमा बिश्वासिला पात्र मानिदैनन् । 
मुसा प्रवृत्तिका भण्डारी
नेपाली काँगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र भएर मनग्ये लाभ उठाएका भण्डारी पछिल्लो पटक रामचन्द्र पौडेलको दाहिने हात बनेर प्रभाव र रवाफ जमाउने प्रयास गरे तर काँगे्रसको गत महाधिवेसनमा कोइराला क्याम्प छोडेर एकाएक देउवा क्याम्पमा पुगेर केन्द्रीय सदस्य बन्न सफल भए । महाधिवेशनमा कुनैबेला आफैले आदर्श पुरुष ठानेका पौडेलका विरुद्ध भण्डारीले मोर्चाबन्दी गरेर देउवालाई जिताउन सहयोग गरे । यसले काँगे्रसभित्र उनी अविश्वासिलो बन्दै गएको उनकै समकक्षी एक काँगे्रस केन्द्रीय सदस्य बताउँछन् । ती सदस्यका अनुसार भण्डारी पिपलपाते र मुसा प्रवृत्तिको चरित्रका कारण कसैको पनि विश्वास आर्जन गर्न सकेका छैनन । केन्द्रमा देउवापक्षीय भनेर चिनिए पनि भण्डारी देउवापक्षीय युवा नेताहरुको बीचमा अलोकप्रिय एवं अवसरवादी चरित्रको रुपमा चित्रित छन । केन्द्रमा देउवापक्षीय भनिए पनि जिल्लामा चाहिँ आफ्नो स्वार्थका लागि संस्थापन निकट हुन समेत पछि नपर्ने काँग्रेसका स्थानीय नेताहरु बताउँछन । 
जम्बो मन्त्रिमण्डलमा अटाएनन् भण्डारी
०७० सालको निर्वाचनमा गुल्मेली जनता सामु मन्त्री बन्नका लागी भनेर मत मागेका भण्डारी पटक पटक गठन भएका कुनै पनी सरकारमा अटाउन सकेनन । यतिसम्म कि आफ्नै पार्टीका सभापति देउवा नेतृत्वको इतिहासकै सबैभन्दा जम्बो ६४ सदस्यीय मन्त्रिमण्डलमा पनि उनी अटाउन नसकेपछि उनको राजनीतिक हैसीयतमा ठुलै प्रश्न उठेकोछ । जम्बो मन्त्रीमण्डलमा पनी उनको नाम नदेखेपछि गुल्मेली काँगे्रसजनहरु भण्डारीका गफैमात्र रहेछन् भनेर मतदातासँग मत माग्न हिच्किचाएका छन् । 
 टिकट किनबेच प्रकरण
यसपटकको निर्वाचनमा प्रदेश सभा उम्मेदवारको टिकट मोटो रकम असुल गरी किनबेच गरेको आरोप कार्यकर्ताहरुले भण्डारीमाथि लगाएका छन् । प्रदेश सभा उम्मेदवार छनोट गर्ने क्रममा जिल्ला तहमा बसेर काम गर्ने नेताहरुलाई अवसर नदिई उनले पैसा र आफनो नितान्तै ब्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले टिकट दिन पार्टीभित्र लबिङ्ग गरेको आरोप छ । काँग्रेसभित्रका सक्रिय कार्यकर्ता भन्दा पनि व्यवसायी फाँटबाट उम्मेदवार बनाएर उनले ठुलो रकम आफ्नो चुनावी खर्चमा लगाउने उद्देश्यले किनबेच गरेको उनका कार्यकर्ताहरु बताउँछन् । सोही उम्मेदवारी छनोट बिषयलाई लिएर काँग्रेसभित्रै निकै ठुलो खटपट चलेको छ । जसले गर्दा यो पटकको निर्वाचनमा उनको प्रचारमा हिंड्नेहरु कम छन् ।
     उनले टिकट किनबेचमा उठाएका उम्मेदवारहरु पैसावाला तर मतदातासँग अपरिचित, के बोल्ने, कसरी मत माग्नेसम्मको कुनै ढंग नभएका हुनाले काँगे्रसको हारलाई मलजल भएको निष्ठावान एवं इमान्दार कार्यकर्ताहरुको बिश्लेषण रहेको छ । प्रदेश सभा सदस्य उम्मेदवार छनोटसँगै ती उम्मेदवारहरुका बारे मतदाताहरुले चिन्दैनन् कसरी मत दिन्छन् त भन्नेबारे काँग्रेसभित्रै निकै ठुलो बसह चलेको थियो । 
पैसा र प्रलोभनको प्रोपोगण्डा
भण्डारीले अघिल्लो निर्वाचनमा पैसा र प्रलोभनमा फसाएर चुनाव जितेपनि यसपटक मतदाताले बुझेको उनकै कार्यकर्ताहरु बताउँछन् । एकपटकलाई जसरी हुन्छ ढाँटियो, मतदाता उनै हुँन सधै कसरी ढाँट्न सकिन्छ ? भन्दै कार्यकर्ताहरु मत माग्न हिंड्न छोडेका छन् ।
अघिल्लो निर्वाचनमा मत किन्न ठूलो रकम खर्चिएका भण्डारीलाई यसपटक पैसाले पनि साथ नदिने कार्यकर्ताहरुले बताउँछन् । ढाँट्न छल्न धेरै अनुभवी मानिएका भण्डारीले जनतालाई अलपत्र पार्ने भएकाले पैसा खर्चिए पनि जनताले मत नदिने उनैका पार्टीका कार्यकर्ताहरुको बुझाई छ । 
उनले जिल्लामा भएका कुनै पनि बिकासका काममा आफनो नाम जोडिहाल्ने बानीले झनै नैतिक संकट थपेको बताउँछन् । बोटेमाझी बस्तीमा जनता आवास भनेर आफ्नै खल्तीबाट पैसा ल्याएर बनाएझँै गरी प्रचार गर्ने भण्डारीको झुटको खेती बोटे माझीहरुले पनि बुझेको बताउँछन् । अघिल्लो चुनावमा जालझेलमा परेर भण्डारीलाई मत दिएकाहरु पनि आश्वासन अनुसार काम नहुँदा मत खेर गएको र अघिल्लो निर्वाचनमा आफुहरु झुक्किएको बताउँछन् ।

Related News