​गुन्डा नाइके गणेश लामालाई एक वर्ष कैद सजाय

दृष्टि न्यूज

काठमाडौं । विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई एक वर्ष कैद सजाय, १ करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला गरेको छ । अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको हो । 
लामाले गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आज लामालाई कैदको फैसला सुनाएको हो । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारित भएर २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय तोकेको हो ।
विभागले ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । अन्य चार जनाले अदालतबाट सफाइ पाइसकेका छन् ।  
लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो । लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड  १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो । लामा हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन् ।

Related News