​१६औँ हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता हुने

दृष्टि न्यूज

काठमाडौं । ‘हस्तकलाः समृद्धिका सम्भावनाहरू’ उद्घोषसहित यही कात्तिक २८ देखि मंसिर २ गतेसम्म भृकृटी मण्डप काठमाडौँमा १६औं हस्तकला ब्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ । मेलाको समुद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । 
हस्तकलाको आन्तरिक बजार विकास निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ, नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपाललगायतको सहयोगमा मेला आयोजना गर्न लागिएको हो ।
नेपालको निर्यात ब्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमा करिब १० अरब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात रहेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारतलगायत अन्य मुलुकहरुमा २५ भन्दा बढी बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भइरहेको छ । आयात र निर्यातबीचको दूरी दिनप्रतिदिन बढदै गई मुलुकको ब्यापार घाटा आकाशिँदै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिनप्रतिदिन बढदै गएको छ । 
हस्तकला क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमालाई पनि उच्च तुल्याएका छन् । 
उक्त ब्यापार मेलामा एकै छाना मुनि काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिने छ । मेलाको अवसरमा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले  १४औं हस्तकला प्रतियोगिता आयोजना गर्न लागिएको र यो वर्ष मैनको मूर्ति बनाउने र धाकाको कपडा बुनाई विषयमा प्रतियोगिता गरिने भएको छ ।  त्यसैगरी हस्तकला सम्बन्धी समसामयिक बिषयमा गोष्ठीसमेत आयोजना गरिने छ । त्यसैगरी व्यापार मेलाको दौरानमा हस्तकलाका विभिन्न वस्तुहरुको आगामी वर्ष २०१९÷२० को डिजाइन प्रक्षेपण गरी मेलामा प्रदर्शनी गरिने छ । मेलामा नेपालका विभिन्न भौगोलिक क्षेत्रहरुका प्रतिनिधित्व गर्ने भेषभुषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमहरुलाई मेलामा प्रस्तुति गरिने कार्यक्रम पनि रहेको छ ।
मेलामा देश भित्र महासंघका जिल्ला हस्तकला संघ, बस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरु काठमाडौं उपत्यका लगायत देशको ४५ भन्दा बढी जिल्लाका स्थानीय हस्तकला सामाग्री, लघु घरेलु उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई उच्च प्राथमिकतामा प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने छ । मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट प्रथम हुने प्याभिलियनका साथै वेस्ट स्टललाई एक  नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।
उक्त ब्यापार मेला अवलोकनको लागि आम सर्वसाधारण, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरु र विशिष्ट विदेशी आमन्त्रित पाहुनाहरु तथा क्रेताहरुको सहभागिता रहने छ । मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरी २०० भन्दा बढी स्टलहरु रहने छन् । जसमध्ये भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश आदि अन्तर्राष्ट्रिय व्यापारीहरुको लगभग २० वटा स्टल रहने छन् भने पाँचवटा प्याभिलियनबाट जम्मा ३८ वटा स्टल रहने छन् ।
ब्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको बिजदेश हबको रुपमा बिकास गर्दै लैजाने लक्ष्य राखिएको छ भने ललितपुर महानगरलाई क्राफ्ट सिटीको रुपमा घोषणा गर्ने कार्यक्रम राखिएको नेपाल हस्तकला महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Related News