टेलिकमले आजबाट ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने

दृष्टि न्यूज

काठमाडौं, ३ वैशाख । आमाको मुख हेर्ने दिवस तथा एसइई परीक्षा सकिएको अवसर पारेर नेपाल टेलिकमले आजबाट ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)को अवसरमा नेपाल टेलिकमले जिएसएम तथा सिडिएमएका प्रिपेड÷पोस्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार यो अवसर वैशाख १८ सम्म लागू हुनेछ । 
ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिनेछ । ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ । 
कम्पनीले एसइई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सोमबारदेखि नै लागू हुने सो अफरमा विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्नजस्ता सबै सुविधा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिनेछ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 
विद्यार्थीहरूलाई ६ महिनासम्म बोनसको रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । 
त्यसैगरी सो अफरअन्तर्गत रजिस्टर गरिएका सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने जनाइएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिनेछ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । अफरअन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ । 
आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ । 
एसइई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई विद्यार्थी अफरको सिम उपलब्ध गराइनेछ । एसइई परीक्षा दिएका विद्यार्थीले सो सिम लिनका लागि विद्यालयको आइडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । 
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । नेपाल टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ड प्याकेज र एडिएसएल अनलिमिटेड प्याकेजसमेत उपलब्ध गराइरहेको छ ।

Related News