​हरहर मोदी, घरघर मोदी

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गते शुक्रबार जनकपुर र मुक्तिनाथको भ्रमण गर्दैछन् । यस अगाडि पनि उनले त्यस क्षेत्रको भ्रमण गर्ने सोच बनाएका थिए । यसर्थ, उनको यो भ्रमणलाई धार्मिक भ्रमण भने पनि हुन्छ । उनले यस भ्रमण दुई देशको सम्बन्धलाई धर्मसँग जोड्न खोजेका छन् । मोदी सामान्य जोगीको हैसियतमा जनकपुर र मुक्तिनाथको दर्शन गर्न आएका होइनन् । उनी छिमेकी देश भारतका प्रधानमन्त्रीका रुपमा नेपाल भ्रमण गर्न आउन लागेका हुन् । उनको स्वागत नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नु पथ्र्यो । काठमाडौं बसाईको क्रममा औपचारिक कार्यक्रमपछि मात्रै उनी जनकपुर र मुक्तिनाथ जाने कार्यक्रम तय गरिएको भए त्यसलाई स्वभाविक मान्नु पथ्र्यो । परम्परा पनि त्यही नै हो । तर, उनको यो भ्रमणमा त्यसो हुन सकेन । उनी नयाँदिल्लीबाट पटना हवाई जहाजमा आउँदैछन् । पटनाबाट उनी भारतीय सेनाको विशेष हेलिकोप्टरबाट जनकपुर अवतरण गर्दैछन् । मानौं, उनको यो व्यक्तिगत पर्यटकीय भ्रमण हो । यो भ्रमणतालिकालाई धेरैले अचम्म मानेका छन् । यसमा नेपाल सरकारको कमजोरी देखिन्छ । आफ्ना अति विशिष्ट अतिथिलाई पहिला देशकै राजधानी काठमाडौंमा स्वागत गर्नु पर्नेमा प्रदेशको राजधानीमा मोदीको स्वागतको तयारी भइरहेको छ । दुई नम्बर प्रदेशका सरकार स्थानीय निकाय मोदीको स्वागतका लागि आतुर छन् । उत्साहित पनि बनेका छन् । जनकपुरमा मोदीको भव्य नागरिक अभिनन्दनको पनि तयारी हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा पूजा गर्न जाँदा सुनपानी छर्कनेहरु अहिले मोदीको स्वागतका लागि कुचो समाएर सडक बढार्दै हिंडेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले संविधानसभालाई सम्बोधन गर्दा ऋषिमनले संविधान बनाउन आग्रह गरेका थिए । ऋषिमन भन्नुको अर्थ मधेसवादी दललाई पनि समेटेर अगाडि बढ्नु भन्ने नै हो । संविधान जारी भइसकेपछि दुई नम्बर प्रदेशले त्यो संविधान जलाएर आन्दोलन नै गर्न पुगे । जसको आडमा पाँच महिने नाकाबन्दी नै लाग्यो । त्यो नाकाबन्दीले दुई देशबीच तनाव उत्पन्न ग¥यो । अहिले त्यो तनाव मत्थर भएको छ । देश प्रदेशमा विभाजित भइसकेपछि दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलहरुले सरकार बनाएका छन् । त्यो सरकारलाई विश्वासमा लिन र मधेसी जनताको साथमा हामी छौं भन्ने सन्देश दिनका लागि पनि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण जनकपुरबाट आरम्भ भएको हो । यो कुरालाई २ नम्बर प्रदेशको सरकारले पनि उच्च महत्वका साथ हेरिरहेको छ । मोदीले जनकपुरमा घोषणा गर्ने रामायण सर्टिकको प्रतिक्षामा त्यहाँका जनता छन् । भारतको बिहार राज्यसँग सीमा जोडिएको दुई नम्बर प्रदेशमा मोदीको भव्य स्वागतले अर्को वर्ष भारतमा हुन लागेको लोकसभाको निर्वाचनमा बिहारमा जति प्रभाव पर्छ, त्यत्ति नै प्रभाव नेपालको राजनीतिमा पनि बढ्दै जान्छ । किनभने दुई नम्बर प्रदेश अहिले शान्त जस्तो देखिए पनि त्यहाँको राजनीति ‘भूसभित्रको भुम्म्रो’ बन्दैछ । मधेसलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्छ भनेर आन्दोलन गरिरहेका सीके राउतहरुको आधारभूमि पनि दुई नम्बर प्रदेश नै हो । यसै परिप्रेक्ष्यमा मोदीको जनकपुर भ्रमणले दूरगामी असर गर्नेछ ।
यो कुरा नेपाल सरकारले नबुझेको भने होइन । बुझेर पनि केही बोल्न नसकेको पक्का हो । यदि मोदीलाई उनको इच्छा बमोजिम जनकपुर होइन, काठमाडौंमा स्वागत गर्ने तयारी नेपाल सरकारले गरेको भए, यो भ्रमण मोदीको तर्फबाट स्थगित हुन पनि सक्थ्यो । किनभने, मोदी नेपालको औपचारिक भ्रमणमा होइन, जनकपुरको धार्मिक कार्यक्रममा आउन खोजेको सन्देश यो भ्रमणले दिएको छ । यसलाई पनि सांकेतिक रुपमा बुझ्नु जरुरी छ । अन्त्यमा, हरहर मोदी, घरघर मोदी भनेर मोदीको स्वागतमा जुट्नुको विकल्प नेपाल सरकारसँग छैन ।

Related News