​हरिवनमा ल्होछार महोत्सव सुरु

दृष्टि न्यूज

अच्युतम  सापकोटा, सर्लाही माघ २६ । सर्लाहीको हरिवन नगरपालिका–११ सूर्ती विकास मैदानमा बृहत ल्होछार साँस्कृतिक महोत्सव सूरु भएको छ । नेपाल तामाङ घेदुङ नगर समिति र स्मृति कला केन्द्रको संयुक्त आयोजनामा सूरु भएको महोत्सव आगामी फागुन ५ गते सम्म चल्ने छ ।
तामाङ समुदायको महान पर्व २८ सय ५४ औँ (खि ल्हो ) सोनाम ल्होछारको अवसरमा महोत्सव आयोजना गरिएको घेदुङका नगर अध्यक्ष सशी बल तामाङले जानकारी दिए । १० दिनसम्म चल्ने महोत्सवको आज एक समारोहका बीच रक्षामन्त्री भिमसेनदास प्रधानले उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री प्रधानले मधेसी, आदिवासी, जनजाति लगायत सबै जातजातिको राज्यमा पहुँच पुग्न नसकेसम्म देश बलियो नहुने तर्क गरे । उनले अब बन्ने सरकारले सम्पूर्ण नेपालीको हित हुने गरी विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोल, प्रदेश सांसद डिल्ली प्रसाद उपे्रती, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल लगायतले मन्तव्य राखेका थिए । 
महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति, विभिन्न खेल तमासा लगायत साँस्कृतिक कार्यक्रम हुने स्मृति कला केन्द्रका अध्यक्ष निरज कार्कीले जानकारी दिए ।

Related News