​ज्ञानेन्द्रको वक्तव्य र हेगको डर

शम्भु श्रेष्ठ । सोभियत संघ विघटन भइसकेपछि त्यहाँका राष्ट्रपति मिखाइल गोर्वाचोभले भनेका थिए– एउटा सिगरेट सल्काउनका लागि पूरै घरमा आगो लगाउने काम गरे, केवल सत्ताका लागि । देश गृहयुद्धतिर धकेलिँदै थियो । जनता विभाजित थिए । नभन्दै आत्मनिर्णयको अधिकारका कारण सोभियत संघ १५ टुक्रामा विभाजन भयो । नेपालमा अहिले संघीयतामार्फत् यस्तै खेलहरु भइरहेका छन् । पाँच नम्बर प्रदेशको विवाद पनि अन्ततः विखन्डनकै रणनीति हो । जसको बिउ प्रचण्डमार्फत् रोप्न लगाइएको छ । ‘जनयुद्ध’ नेपाली जनताको चाहना थिएन । तर, नेपाललाई विखन्डन गर्न प्रचण्ड–बाबुराममार्फत् १० वर्षे बर्बर जनयुद्ध नेपाली जनतामाथि थोपरियो । गणतन्त्रको भारी माओवादीलाई बोकाएर हजारौं निर्दोष नेपालीको हत्या गरियो । अहिले हामी भोलि के हुन्छ भन्ने अवस्थामा छौं । कतै देश गृहयुद्धमा धकेलिन्छ कि भन्ने चिन्तामा जनता छन् । संविधान त आयो तर, त्यसको कार्यान्वयन दिन प्रतिदिन कठिन बन्दै गएको छ । प्रमुख दलका नेताहरु सत्ता भागबण्डामै अल्झिरहेका छन् । मधेसी मोर्चा आफ्नो एजेन्डामा टसमस देखि‘दैनन् । एक प्रकारले भन्ने हो भने गोर्वाचोभले सोभियत संघ विघटन हुँदा जुन पीडा भोगिरहेका थिए, त्यो पीडा अहिले हामी नेपालीले भोगिरहेका छौं ।
यही कुरा बुझेर पूर्वराजा ज्ञानेन्द्रले ‘क्रान्ति र अग्रगमनको नाममा मुलुकको एकता टुक्र्याउने प्रयास भइरहेको र त्यसलाई पराजित गर्न सबै नेपाली जनताको ऐतिहासिक दायित्व भएको बताएका छन् । ज्ञानेन्द्रले आफ्नो वक्तव्यमा स्थायी सत्तामाथि बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ता हावी भएको बताएका छन् । उनको वक्तव्यमा उल्लेख गरिएका परिदृश्यहरुलाई नेपाली जनताले नजिकबाट नियालिरहेका छन् । विदेशी हस्तक्षेपका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खुलेरै विरोध जनाएका छन् । दिनहु‘ प्रकाशित लेखहरुमा बाह्य हस्तक्षेपको खुलेरै बहस भएको छ । तर, सरकार लाचार छ । ज्ञानेन्द्रलाई कारवाही गर्ने कुरा गर्छ । आफू सच्चिने र विदेशी हस्तक्षेपबाट देशलाई मुक्त गर्ने प्रयास गर्दैन । यस्तो सरकारबाट राष्ट्र र राष्ट्रियता जोगाउने कुराको अपेक्षा कसरी गर्ने ?
इतिहास साक्षी छ, प्रचण्डको उदय कहॉबाट भयो भन्ने कुरा एसडी मुनीले आफ्नो किताबमा उल्लेख गरेका छन् । नयॉदिल्लीमा १२ बुँदे सहमति नभइदिएको भए, सायद नेपालको राजनीतिमा छविलाल दाहाल ‘प्रचण्ड’को आवरणमा उदाउने थिएन । दश वर्षे ‘जनयुद्ध’मा आठ वर्ष नयाँदिल्लीमै बिताएका प्रचण्डले त्यतिबेलै राजतन्त्रसँग सम्झौता गर्न नखोजेका होइनन् । तर, माघ १९ को शाही कदमले वातावरण बिग्रियो । माघ १९ को शाही कदम पनि विदेशीकै उक्साहटमा भएको थियो र राजतन्त्रको अन्त्य पनि । नेपालको राजनीति परिवर्तन नाटकीय रुपमा भइरहेको कुरा नेपाली जनताले राम्रोस‘ग बुझेका छन् । त्यो कुरामा प्रधानमन्त्री जस्तो सम्मानित कुर्चीमा बस्ने नेताले आफ्नोे मर्यादाविपरीत बोल्नु उचित हु‘दैन थियो । पूर्वराजा ज्ञानेन्द्रले एउटा सचेत नागरिकको हैसियतले बोल्दा दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भन्ने प्रधानमन्त्री दाहालमाथि छानविन भयो भने कतिवटा हत्याकाण्ड, कति वटा भ्रष्टाचारको काण्ड दोहोरिएला ? सोच्नुपर्ने विषय हो । भारतका विदेश सचिव एसजयशंकरले जेनेभामा नेपालमा मानव अधिकार उल्लंघनको घटना त्यत्तिकै उच्चारण गरेका होइनन् । त्यो प्रचण्डमाथि झुन्डिएको तरबार हो । त्यसैको डर प्रधानमन्त्री प्रचण्डलाई छ र हेग जानबाट जोगिन उनले अरुकै स्वार्थमा देश बिखन्डन गर्ने एजेन्डा संसदमा पेश गरेका छन् । यो भारी पनि उनलाई जसले प्रधानमन्त्री बनाइदियो, उसैले बोकाइदिएको हो । कुरा यति स्पष्ट हुँदाहुँदै पनि ज्ञानेन्द्रको कागजी बाघदेखि डराउनु भनेको कायरता हो ।

Related News