प्रवासीको सहयोगबाट गायनमा अवसर

काठमाडौं, २१ कात्तिक । खोटाङकी बालिका सुस्मिता राई दृष्टिविहीन हुन् । उनी गीत गाउने क्षमता राख्छिन् । शारीरिक अपांगता भएका भोजपुरका नीलमणि भण्डारी पनि गायनमा कम छैनन् । 

यी दुवै जनाले शनिबार भने एकै थलो अर्थात् ‘नवप्रतिभा साँझ’मा आआफ्नो गायन क्षमता प्रस्तुत गरे । प्रवासी नेपालीको आर्थिक सहयोगमा दिया मिडियाले राजधानीमा आयोजना गरेको कार्यक्रममा सुस्मिता र नीलमणिले आआफ्नो गायन क्षमता देखाउने अवसर पाएका हुन् । 

सुस्मिताले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतबाट गाउन सुरु गरेकी थिइन् । नीलमणिले ‘खोया बिर्के’ बोलको गीतबाट गला खोलेका थिए । कार्यक्रममा उनीहरूले झन्डै दर्जन÷दर्जन गीत प्रस्तुत गरेका थिए । उनीहरूले आफ्नो स्वरमा रेकर्ड भएको गीत पनि प्रत्यक्ष गाएर सुनाएका थिए । 
दृष्टिविहीन बालिका सुस्मिताले गायनमै समर्पित हुने उद्देश्यका साथ काठमाडौं आएको सुनाउँदै अग्रजहरूको सहयोगले ‘सानो गायक’ बनाएको बताइन् । “म आफूलाई त गायक हुन्छु भन्ने लागेको थिएन तर स्रष्टाहरूले टेकेको धर्तीमा आउन मन लागेको थियो,” उनले भनिन्, “अहिले अग्रजहरूको साथसहयोगले गाउने मौका मिलेको छ ।”

नीलमणिले मेलामा गाउँदा पाएको ५ हजार रुपैयाँ लिएर आएको राजधानी आएको सुनाउँदै त्यही पनि ठगले खाइदिएको बताए । “अहिले सहयोगी मनहरूको साथ मिलेको छ, त्यही भएर मैले यसरी मञ्च पाएको छु,” उनले भने ।

कार्यक्रम संयोजक बज्रकुमार थुलुङ राईले सुस्मिताको क्षमताबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएको सुनाए । “त्यसपछि उनको प्रतिभालाई उजागर गर्नका लागि के गर्न सकिएला भनेर निकै लागिपरें,” उनले भने, “हङकङ, बेलायतलगायत प्रवासमा रहनुभएका नेपालीहरूले आर्थिक सहयोग गर्नुभएको छ । सुस्मिता र नीलमणिलगायत भाइबहिनीले गायन क्षेत्रबाट नेपाललाई चिनाऊन् भन्ने उद्देश्य हो ।”

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले यस्ता प्रतिभाहरूलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । 

Related News