​रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर ज्ञवाली

स्व. ज्ञवालीप्रति प्रधानमन्त्रीलगायत शीर्षस्थ नेताको समवेदना

दृष्टि न्यूज

काठमाडौं  । नेपालका व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक क्षेत्रका उच्चपदस्थ व्यक्तित्वहरुले समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आइतवार ट्वीट गर्दै ज्ञवालीको निधनमा दुःख लागेको बताउँदै समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले सञ्चार उद्यमी ज्ञवालीको निधनको खवरले आफूलाई दुःखित तुल्याएको भन्दै  स्वर्गीय ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका छन् । आइतवारै देउवाले ज्ञवालीको निधनले अपुरणीय क्षती भएको बताउँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै नयाँ शक्तिपार्टी नेपालका संयोजक बाबुराम भट्टराइले पनि ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराइले ट्वीट गर्दै ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका हुन् । भट्टराईले भनेका छन्, ‘नेपालको व्यवसायिक पत्रकारिताका अगुवा तथा कान्तिपुर पब्लिकेसन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । स्वतन्त्र प्रेस र लोकतन्त्रले वहाँलाई सधैं सम्झिरहनेछ !
नागरिक उड्ययन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी,  यस्तै गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायतले पनि स्व. ज्ञवालीको निधनमा दुःख व्यक्त गर्दै  व्यावसायिक संचार माध्यमका अग्रणी संचालक हेमराज ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
७९ वर्षको उमेरमा शनिबार साँझ ज्ञवालीको निधन भएको थियो । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो । चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन् । दृष्टि साप्ताहिक, दृष्टि न्यूज डटकम परिवार पनि स्वर्गीय ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक यस घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

Related News