​हिजो र आजको पत्रकारिता

शम्भु श्रेष्ठ । दृष्टि साप्ताहिक आजदेखि ३५ औँ वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासमा पैतीस वर्ष छोटो अवधि भने होइन । यस अवधिमा धेरै पुराना साप्ताहिक पत्रिकाहरु बन्द भए भने धेरै नयाँ पत्रिकाहरुको जन्म भयो । आज नेपाली पत्रकारिताको विकासलाई हेर्ने हो भने यो क्रम कहाँ गएर टुंगिन्छ भन्न सक्ने अवस्था छैन । किनभने सूचना प्रविधिको विकासले मानिसको हात हातमा मिनेट मिनेटमा सूचना प्रवाह भइरहेको छ । हिजोभन्दा आज सूचनाप्रति मानिसहरु आतुर देखिन्छन् । कतै कुनै घटना घटेको हल्ला सुन्नासाथ अनलाइन खोलेर त्यसको पुष्टि गर्न हातका औंलाहरु हतारिन्छन् । पत्रकारिता भन्ने पेशा हिजो देश र जनताका लागि गरिन्थ्यो । एक छाक खाएर रातभर नसुतेर चिसो छिडीमा हातका औंलाले सिसाका अक्षर टिपेर एक पेज सामग्री भर्न दुई दिन लाग्थ्यो । आठ पेज तयार गर्न एक हप्ता लाग्थ्यो । र, त्यो पत्रिकाका रुपमा बजारमा आएपछि पाठकहरुले पत्रिका पढ्न हारालुछ गर्थे । प्रशासनको कान ठाडो हुन्थ्यो । पत्रिका पसलमा छापा मारिन्थ्यो । प्रेसमा तालाबन्दी गरिन्थ्यो । सम्पादक÷प्रकाशकलाई जेल कोचिन्थ्यो । हिजोको पत्रकारिता मिशन पत्रकारितामा आधारित थियो र त्योसँग दृष्टि जोडिन पुग्यो ।
निरंकुश पञ्चायती व्यवस्थामा त्यस व्यवस्थाको विरुद्ध लेख्ने आँट गर्नु चानचुने कुरा थिएन । तर, आजको अवस्था त्यस्तो छैन । आज प्रेस स्वतन्त्रता छ । ठूलो विज्ञापनको बजार छ । योग्य जनशक्ति तयार गर्ने स्कुल, कलेज खुलेको छ भने जति पारिश्रमिक पाइने कर्पोरेट हाउसहरु खुलेका छन् । नेपाली पत्रकारिताले क्रमशः व्यवसायिक रुपधारण गरेको छ । व्यवसायिक पत्रकारिताको विकास भएको छ, भन्नुको अर्थ मिशन पत्रकारिताको भविष्य समाप्त भयो भन्नु होइन । हरेक व्यवसायिक पत्रकारिताभित्र आ–आफ्नै मिशन पनि छ । मिशन र भिजनबिनाको पत्रकारिताले देश, समाज र जनतालाई बाटो देखाउन सक्दैन । त्यसैले पाठकहरु पनि धेरै बाठो भइसके । कुन पत्रिकाले सत्य कुरा छाप्छ भन्ने कुरा पाठकहरु विश्लेषण गर्न सक्षम छन् । त्यसैले आजको पत्रकारिता गुणात्मक हुनु जरुरी छ । नेताले जे भाषण ग¥यो, त्यही भाषण छापेर जनतामा भ्रम छर्नुभन्दा नेताले गरेका भाषण विश्लेषण गरेर ठिक बेठिक कुरा पाठकसमक्ष पु¥याउन सकियो भने त्यसले नेताको आचरणमा पनि सुधार ल्याउन सकिन्छ । तर, नेपाली पत्रकारिताले त्यो बाटो समाउन नसक्नुका पछाडि दलगत स्वार्थ गाँसिनु पनि हो ।
मुलुक अहिले संविधानसभाबाट जारी संविधानको कार्यान्वयन तहमा छ । यसका लागि स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते सम्पन्न हुँदैछ । त्यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्वक सम्पन्न गराउने दायित्व पनि हाम्रै हो । जनताको बलिदानीबाट नेपालमा धेरैखाले राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनले जनतालाई सुशासन र समृद्धिको अनुभूति दिलाउन सकेको छैन । यसको प्रमुख कारण भनेकै राजनीतिक अस्थिरता हो । ठूला दलहरु एक आपसमा मिल्न नसक्नु र मिले पनि लामो समय टिक्न नसक्नुले पनि सिंगो देश र जनता पीडित हुनुपरेको हो । यो अवस्थाको अन्त्य गर्न ढिलै भए पनि राजनीतिक दलहरुबीच ध्रुवीकरण भएको छ र जनता पनि ध्रुवीकृत भएका छन् । आगामी निर्वाचनमा कुनै एउटा गठबन्धनले बहुमत ल्याउने निश्चित आँकलन गरिएको छ । त्यसविरुद्ध फेरि पनि जनतालाई भ्रम छर्ने भाषण स्वयं पार्टीका शीर्ष नेताहरुले गर्दै आएका छन् । यो अस्वस्थ प्रतिस्पर्धा हो । यस्ता कुराहरुमा मिडियाले सशक्त कलम चलाउने हो भने त्यस्ता भ्रमहरु चिरिँदै जाने छन् र नेताहरु पनि सुध्रिदै जानेछन् । पत्रकारिताको धर्म नै जनतालाई सही सूचना र विचार सम्प्रेषण गर्ने भएकोले पत्रकारहरुले राजनीतिक आस्था जे बोके पनि पेशागत धर्म नबिर्सनु नै स्वतन्त्र पत्रकारिता हो ।
दृष्टि यो मान्यतामा अडिग भएकै कारण ३४ वर्षको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको हो । यसका लागि पाठकको माया, विज्ञापनदाताको सहयोग र इमान्दार पत्रकारहरुको सहकार्य नै प्रमुख कुरा हो । चौतीस वर्ष अगाडि एउटा निश्चित मिशन बोकेर जन्मिएको दृष्टिले तेत्तीस वर्ष प्रवेशमा यसको अनलाइन संस्करण बजारमा ल्याएको छ भने भविष्यमा दृष्टिलाई दैनिक बनाउने उद्देश्य बोकेको छ । यो जोश, जाँगर र आँटका आधार पनि हामीप्रतिको पाठकको विश्वास नै हो ।

Related News