गाईजात्रामा खुब हसाउने हो- हीमा कोइराला, कलाकार

दृष्टि न्यूज

चर्चित हाँस्य शृंखला ‘जिरे खुर्सानी’का खुरापाती हाकिमकी श्रीमतीको अभिनयमा जमेकी कलाकार हुन्, हीमा कोइराला । मह जोडीको अग्निकुण्ड, डकर्मी, मिस्टर फन्टुस, सन्तोष पन्तको हिजो आजका कुरा जस्ता चर्चित हास्यप्रधान टेलिभिजन कार्यक्रममा समेत अभिनय गरिसकेकी उनले डेढ दर्जनभन्दा बढी ठूलो पर्दाका चलचित्रमा पनि अभिनय गरेकी छिन् । कलाकार बसुन्धारा भुषालको प्रेरणाले कला क्षेत्रमा लागेकी उनै हीमासँग रेजिना पाण्डेले गरेको कुराकानी  :

अहिले के मा व्यस्त हुनुहुन्छ ?
गाईजात्राकै काममा व्यस्त छु । भदौ २ गतेदेखि एकेडेमीमा हुन गइरहेको गाईजात्राको कार्यक्रममा जुटिरहेका छौँ । अहिले टेलिचलचित्र ब्रेकफेलको सुटिङ प्राविधिक कारणले रोकिएको छ । खासै काम भएको छैन ।

हास्यशृंखला एक त कम छन्, त्यसमाथि लगातार बन्द हुँदै गएका छन् । यसले कलाकारलाई मार परेको छैन ?
धेरै नै परेको छ । उमेरमा यही काम गरियो अहिले आएर अर्को काम गर्न मन लाग्दैन । हास्यशृंखला धेरै बने हामी जस्ता कलाकारको जीविका चल्थो ।

हास्यक्षेत्रमा महिला कलाकार कम छन्, किन होला ?
महिला मात्र होइन पुरुष पनि कमै छन् । हास्य कार्यक्रम धेरै बन्न नसकेकै  कारणले यो अवस्था आएको हो ।

कति त यस क्षेत्रमा जमेर पनि बसेका छन् नि ?
छन् । जति पनि हास्यकलाकारले अवसर पाएका छन्, ति सबैले आफैँले र एकलौटी पाराले कार्यक्रम लगेका छन् । हास्यकार्यक्रम नै चलाउँदा पनि एकजनाले नै विभिन्न क्यारेक्टर गरेर चलेका छन् । आफू पनि अघि बढौँ र अरुलाई पनि अघि बढाऔँ भन्ने सोच भइदिएको भए सायद यो अवस्था आउने थिएन होला ।

हास्य कलाकारका लागि त गाईजात्रा दसैँ जस्तै चाड हो भन्छन् नि ?
हो । गाईजात्रामा नै हामीले खुलेर रमाइलो गर्न पाउछौँ र हामी हास्य कलाकारका लागि खाने बाटो पनि यही नै त हो । यही गाईजात्राले त हामीलाई बचाएको छ । मैले त शिवहरि दाईको सहयोगमा एक सालदेखि मात्र गर्न थालेको छु । त्योभन्दा अघि मैले मौका नै पाएको थिइनँ ।

गाईजात्रामा कतिको ब्यंग्य हाल्ने सुरसार गर्दै हुनुहुन्छ ?
उही पुरानै कुरा त हो नि । उही छेडछाड र ब्यंग्य । गाईजात्रेबाट कोही पनि बच्न सक्दैनन्, निशाना चारैतिर लगाउने सुरसार कसिँदैछ ।  

टेलिचलचित्र जिरे खुसानीको नाम फेरेर ब्रेकफेल राखिएको किन हो नि ?
नयाँ शैलीमा काम गर्ने भन्ने सोच राखेर नै नाम फेरिएको हो । खासै कारण त केही छ जस्तो लाग्दैन ।

तपाईंसँगै काम गरेकाहरूले नाम दाम दुवै कमाइसकेका छन् । तपाईं जहाँको त्यही नै हुनुहुन्छ किन ?
बोल्ने को पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै हो । एकोहोरा पाराले काम गर्छु दायाँबायाँ चाँजोपाँजो मिलाउन जान्दिनँ । त्यसैले पनि होला पछि परेको ।

एउटा कडा महिलाको भूमिका निर्वाह गर्नुभएको छ, टेलिचलचित्रमा । घरमा चैँ कतिको कडा हुनुहुन्छ ?
पहिले थिएँ । घर परिबार मिलाउन पनि कडा हुनैपथ्र्थो । तर, अहिले त ठिकै मात्र छु । छोरी अष्ट्रेलिया पढ्न गएकी छिन् । श्रीमान् पनि विदेशतिर हराउनुभएको छ । म माइतीमा नै दाजुभाईहरूसँग बसेकी छु  ।

श्रीमान्सँग तपाईंको तालमेल मिल्दैन भन्छन्, हो ?
पहिले असाध्यै माया गर्नुहुन्थो । पछि कमाउन विदेश जानुभयो विदेश गएपछि वास्ता गर्न छोडेको जस्तो लाग्यो र मैले पनि वास्ता गर्न छोडिदिए । सबैलाई आजादी चाहिएको छ । स्वार्थी समाजमा बसेपछि सहनु नै पर्छ ।


रिल लाइफ र रियल लाइफको श्रीमान्बीचको भिन्नता के छ ?
रिल लाइफमा इमान्दार छ, रियल लाइफमा धोका ।

नारीमाथि हिंसा बढ्नुको कारण के हो जस्तो लाग्छ तपाईंलाइ ?
नारीहरू सहेर बस्ने गर्छन् । अझै पनि घरबाट निस्किएर बोल्न डराउँछन् । श्रीमान्ले छोडेपछि कता गएर बस्ने होला ? समाजले मलाई के भन्ला ? भनेर भित्रै खुम्चिएर बस्छन् । त्यसैले हो ।

तिजको व्रत बस्नुहुन्छ ?
बस्छु ।

कसका लागि बस्नुहुन्छ
श्रीमानका लागी बस्थेँ । उसको सुख, शान्तिको कामना गर्थें । अब आफनो लागि बस्छु, छोरीका लागि कामना गर्छु । दु:ख परेका बेला साथ दिने माइतीको लागि बस्छु ।

अधिकांश नारी तिजमा पतिका लागि व्रत बस्छन् किन होला ?
धर्म र संस्कारले यही कुरा सिकाएर हो ।  

यस्ता कुरामा विश्वास लाग्छ ?
धर्मप्रति मलाई विश्वास लाग्छ । सायद यही धर्मले त हामीलाई सतकर्मको बाटोमा हिँडाउँछ जस्तो मलाई लाग्छ ।
 

Related News