​हिमालयन हाइड्रो एक्स्पो सम्पन्न

काठमाडौं, २४ पुस । नेपालमा पहिलोपटक सञ्चालन गरिएको अन्तराष्ट्रिय स्तरको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को आयोजनामा सम्पन्न एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गरेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।
उनले भने, ‘हामीले अपेक्षा गरेअनुसारको नतिजा एक्स्पोले दिएको छ । स्वदेशी तथा विदेशी कम्पनीले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा  आशावादी छौं ।’
एक्स्पोले नेपालको जलविद्युत् विकासमा कोशेढुंगाको काम गर्ने र विदेशी प्रविधिलाई भित्र्याउन सहज हुने विश्वास उनले व्यक्त गरे । 
एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्थालगायत झन्डै सय वटाभन्दा बढी स्टलले सहभागिता जनाएका थिए ।  
एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको साथ रहेको थियो । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले सहयोग गरेका थिए । 

Related News