​हनि ट्रयापमा फसाएर मार्ने युवती पक्राउ

काठमाडौं, २७ असार 
घुम्न जाने भन्दै व्यापारीलाई आफ्नो जालमा फसाएर अपहरण गराई मार्ने दाङकी पूजा घर्तीमगरसहित तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको अपहरण गरी हत्यामा संलग्न पूजासहितका उनका बुबा टिकाराम घर्ती र सल्यानका मान बहादुर भण्डारी पक्राउ परेका हुन् ।   गत २६ गते व्यापारी श्रेष्ठको अपहरण गरी हत्या गरिएको थियो । फरार रहेका तीन जनालाई पनि पक्राउ गरिएको दाङका एसपी धिरजप्रताप सिंहले बताए । 
  जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए । जंगलमा व्यापारी श्रेष्ठ लडेर घाइते भएपछि उनीहरुले हत्या गरेका थिए ।  
यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल तुलसीपुर ६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर १२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन रहेका छन् । हत्यापछि उनीहरुले भारतबाट तीन करोड फिरौती मागेका थिए । सुन्दर युवती प्रयोग गरी अपहरण गर्ने र पैसा असुल्ने हनि ट्रयाप शैलीको अपराध नेपालमा बढ्दै गएको छ । 

Related News