​हुन्छ र गरिनेछ भन्दै फर्किए मोदी

दृष्टि न्यूज

रमेश घिमिरे । वैशाखको अन्तिम साता नेपाल ‘मोदीमय’ बन्यो । राजनीतिक विश्लेषक, मिडिया र नेताहरुले यस्तो छनक दिए– नेपाल–भारत सम्बन्ध नयाँ युगमा प्रवेश ग¥यो आदि । यस्तो भान दिन खोजिइयो  कि अब नेपाल–भारत बीचका समस्याहरु चुट्कीका भरमा समाधान हुन्छन् । 
मोदी नेपालमै रहेकै बेला नेपाली चिया भारत निकासी हुन नपाएर भारतीय सीमामा रोकिएको खबर छापिएको थियो । नेपाली श्रमिकहरुले दुःख जोहो गरेर भारतमा कमाएको पैसा सीमामा भारतीय सुरक्षा बलद्वारा लुटिएको समाचार त सामान्य भइसक्यो । जनकपुरको रंगभूमि मैदानमा भारतको प्रदेशलाई सहयोग गर्ने ‘शर्त’मा आर्थिक सहयोगको घोषणा गरेका छन् । दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले आफ्ना ‘मालिक’ समक्ष आफ्ना दुःख कष्ट बिसाउँछन् । नेपाली सुरक्षा संयन्त्रको खिल्ली उडाउँदै ‘निर्वाध’ र असीमित संख्यामा आएका भारतीय सुरक्षाकर्मीहरुले ‘असाधारण सुरक्षा’को नाममा नेपालीकै रेकी गरेका छन् । यस सम्बन्धमा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीसँग सम्पर्क गर्दा ‘नेपाल सरकारको नीति, नियम र निर्देश’ बमोजिम नेपाली सेनाले भारतीय प्रधानमन्त्री मोदीलाई ‘सुरक्षा’ दिएको कुरा बताउँछन् । ज्ञातव्य छ जुन देश (भारत)को सुरक्षा विश्वमै आफ्नो शौर्य पराक्रमको लागि नाम कमाएका नेपालीहरुले गरेका छन् । त्यही देश (नेपाल)मा जाँदा यत्रो असुरक्षाको भय किन ? मोदी नेपालमै भएको बेला भारतीय संसद लोकसभामा सत्ताधारी सांसद कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्नु पर्छ भनेर मोदीलाई गरेको स्वागतमाथि तातोपानी खन्याउने काम गरे ।
निश्चय पनि सत्र वर्षसम्म कुनै पनि भारतीय प्रधानमन्त्रीले भ्रमण नगरेको परम्परालाई तोड्दै सन् २०१४ बाट मोदीले सुरु गरेको आफ्नो कार्यकालमा यो तेस्रो नेपाल भ्रमणमा आए र उनले चाहेको कुरा गरे र चाहेको कुरा पाए पनि ।
अर्को वर्ष मई सन् २०१९ मा भारतमा लोकसभाको चुनाव हुँदैछ । मोदीलाई त्यो चुनाव जित्नु छ र भारतमै विपक्षी दलहरुले मोदीको कार्यकालमा भारतको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएको आरोप लगाउँदै आएका छन् ।
उनी त्यो बेला नेपाल भ्रमणमा आए जतिबेला भारतीय दक्षिणी राज्य कर्नाटकको विधानसभाको चुनावको शून्य समय थियो । यसपालि आश्चर्यजनक रुपमा भारतीय टिभी च्यानलहरुले लाइभ टेलिकास्ट गरे, उद्देश्य स्पष्ट छ भारतका धर्मभीरु जनतालाई प्रभावित पार्नु ।
भारतमा ‘राम–जन्मभूमिको मुद्दा ठूलो राजनीतिक ‘इस्यू’ हो, जुन अयोध्यामा छ । धार्मिकि दृष्टिबाट अयोध्याको सम्बन्ध जनकपुरसँग छ, जहाँ मोदीले भारतको चुनावी ‘स्टाइल’को भाषण गरे र त्यहीबाट आफ्ना उत्तरप्रदेश बनारसका मतदाताप्रति आभार पनि व्यक्त गरे । भारतका उत्तरप्रदेश, बिहार, मध्यप्रदेश र राजस्थान त्यस्ता राज्यहरु हुन् जहाँको मतले भारतमा प्रधानमन्त्री को हुने भन्ने कुरा निर्धारण गर्छ । यसमध्ये उत्तरप्रदेश र बिहारको सीमा नेपालसँग जोडिएको छ ।
मोदीले आफ्नो नेपाल भ्रमणको क्रममा पटक–पटक नेपाल–भारत सीमा ‘खुला’ रहनुपर्ने अर्थपूर्ण भनाइ राखे । एक अर्ब तीस करोड जनसंख्या भएको भारतको सीमा खुला राख्दा भोलि नेपालको अस्तित्वमै संकट नआउला ? भन्ने कुरामा नेपाली जनता चिन्तित छन् । 
भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो धार्मिक आस्था प्रकट गर्नाका निमित्त नेपाल सरकारले पूर्ण  सहयोग गर्नुपथ्र्यो, ग¥यो । तर समस्या कहाँनिर आउँछ भने जब धर्मको आडमा राजनीति हुन्छ, त्यहाँ समस्या पनि सँगै आएको हुन्छ । 
समग्रमा मोदीले नेपालबाट जे खोजेका थिए पाए । अरुण ३ पाए, नेपालबाटै आफ्नो चुनावी प्रचार गरे । काठमाडौं–वीरगन्ज रेलको जीपीआरलाई कोरियनसँग थुतेर लिए । नेपालले के पायो ? भन्दा ‘हुनेछ’, ‘गरिनेछ’ । संयुक्त विज्ञप्तिको भावार्थ यही हो ।
व्यक्तिगत रुपमा मोदी र ओलीको सम्बन्ध जतिसुकै ‘घनिष्ठ’ भएतापनि त्यसको मूल्यांकन भनेको त्यो घनिष्ठताले मुलुकले के कति लाभ प्राप्त भयो भन्ने नै हो । अब नेपाली जनता बाँकी बक्यौता कुराको ललीपपमा भुलिनेवाला छैनन्, उनीहरुलाई परिणाम चाहिएको छ । मोदीले तीर्थयात्रा गरेको ठाउँमा दुई चार हजार तीर्थयात्री बढ्दैमा नेपालको आर्थिक कायापलट हुनेवाला छैन ।
यसै प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा छिट्टै उत्तरी छिमेकी चीनको भ्रमण गर्नेछन् र आशा गरौं चीनसँग भएका १२ बुँदे सहमतिको कार्यान्वयन पनि यही भ्रमणबाट सुरु हुनेछ । यसो भएको खण्डमा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा आरम्भ हुनेछ । 
(स्वतन्त्र पत्रकार) rmshghimire@yahoo.com

Related News