भारु साट्न राष्ट्र बैंक तात्यो

काठमाण्डौ, २७ पुस । भारतले प्रतिबन्ध गरेको भारु ५ सय र १ हजारका नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतले आलटाल गरेपछि राष्ट्र बैंकको टोली आज भारत जान लागेको बुझिएको छ ।
प्रतिबन्धित भारु नोटको साट्न राष्ट्र बैंकले सक्रियता देखाएको हो । यसअघि पनि राष्ट्र बैंकको एक टोली भारत जाने कुरा निश्चित भएको थियो तर भारतले प्रतिबन्धित नोट साट्ने विषयमा सकारात्मक भएको जानकारी गराएपछि उक्त टोली रोकिएको राष्ट्र बैंक श्रोतले बताए ।
प्रतिबन्धित नोट भारतले साटिदिने आस अझै नमरेको राष्ट्र बैंक, विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । ‘भारतले ५सय र हजार दरका भारु नोट साट्नेमा आशावादी छौंं,’ उनले भने, ‘नेपाल र भुटानमा भएका प्रतिबन्धित नोटबारे भारतले विशेष व्यवस्था गर्ने जानकारी दिएको छ ।’
टोलीले प्रतिबन्धित भारु नोट साट्ने प्रक्रिया मिलाउने, त्यसका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख र २ जना विज्ञ सहितको टोली भारत जाने बताइएको छ ।
कूटनीतिक प्रयास असफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपटक र अर्थमन्त्री कृष्णबहादुर महरा र उनका भारतीय समकक्षीबीच पनि दुईपटक कुराकानी भए पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतले ठोस निर्णय आजसम्म दिएको छैन ।
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले रिजर्भ बैंक अफ इन्डियाका गभर्नर ऊर्जित पटेलसँग बारम्बार कुराकानी भएको बताए पनि त्यसले पनि ठोस निर्णय निकाल्न सकेन । नेपालमा रहेका प्रतिबन्धित भारु नोट सटही गर्ने विषयमा भारतसँग कूटनीतिक तरिकाबाट समेत बारम्बार प्रयास भइरहेको छ । तैपनि त्यस्तो प्रयास सफल भएन ।
नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगत्तै ५ सय र हजार दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरे पनि त्यसको प्रतिक्रिया अझै आएको छैन । नेपाली २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ । यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान राष्ट्र बैंकको छ । 
नेपालमा प्रतिबन्धित ५ सय र हजार दरका ३ करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ । भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ ।
भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो । यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउनेगरी प्रतिबन्ध फुकुवा गरेको थियो ।  
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५०० र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए । भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ । 

Related News