​पूर्वी पहाडी जिल्ला अन्धकार

दृष्टि न्यूज

इलाम । पुर्वका केही पहाडी जिल्लामा अन्धकार बनेको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएपछि अन्धकार भएको हो । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको छ । 
इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् । 
विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताएका छन् ।
उनका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले बिहीबार बेलुकीसम्ममा काम सक्ने योजना छ । 

Related News