​प्रदूषण नियन्त्रणका लागि ५० पैसा शुल्क

दृष्टि न्यूज

इलाम । इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको हो । 
नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेरै त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको छ । इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदूषण नियन्त्रण शुल्क भनेको छ । नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय गरेको हो । 
नगरवासीले नगरपालिकालाई कर मात्र बढाउने नभई सुविधा पनि दिन माग गरेका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रदूषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा विरोध गर्नुपर्ने कारण नरहेको बताए ।

Related News