​आइएमई ग्रुपले नेपाल भित्र्यायो ओमनको सलाम एयरलायन्सको सेवा

दृष्टि न्यूज

काठमाडौं । आइएमई ग्रुपले ओमनको सलाम एयरलायन्सको सेवालाई नेपाल भित्र्यायाएको छ । सलाम एयरको काठमाडौं–मस्कट उडानसँगै उक्त एयरलायन्सको जिएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेसनल ट्राभल प्रालिले गर्ने भएको हो । 
सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आइएमई ग्रुपले विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षत्रीले सलाम एयरको हवाई सेवा सुरु भएपछि मध्यपूर्वी देशबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज आवागमन थपिएको बताए । 
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन प्रवद्र्धनका साथै सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन महŒवपूर्ण भूमिका खेल्ने बताए । उनले श्रमका लागि मध्यपूर्वलगायत विश्वका विभिन्न देशमा गएका नेपालीलाई रेमिट्यान्स सेवाका अधिरिक्त बजेट एयरलायन्समार्फत हवाई सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । धेरै देशमा आवत–जावतका लागि नेपालको सीधा सम्पर्क स्थापित भएकाले ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटकलाई समेत सहज हुने उनको भनाइ थियो । 
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आइएमई ग्रुपसँग जोडिएको सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । यस एयरलायन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागि बिहान ८ः०० बजे  अवतरण र ८ः४० मा उडान भर्नेछ । 
सलाम एयरलायन्स ओमानको पहिलो बजेट क्यारियरका रूपमा सन् २०१६ मा स्थापना भएको थियो । यसले ३० जनवरी २०१७ देखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हो । सलाम एयरलायन्सले मस्कटलाई हब बनाई १ सय ७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्वारा हाल काठमाडौंबाहेक ढाका, बाकु, टिवलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ स्थान तथा स्वदेशका दुई स्थानमा उडान गर्दै आएको छ । सलाम एयरले ओमानलगायत अन्य गन्तव्यमा तुलनात्मक रूपमा सस्तो र सुलभ भाडादर कायम गरेको कम्पनीले जनाएको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रमा जाने नेपालीले  प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने आइएमईले जनाएको छ । 
सलाम एयरले यात्रुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्ड्ली र फ्लेक्सी गरी ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । यसले व्यावसायिक क्षमता अभिवृद्धि र यात्रुप्रति सेवाको भावनालाई मध्यनजर गर्दैे आफ्ना यात्रु तथा सेवाग्राहीले कुनै पनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निःशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको जनाइएको छ । 
आइएमई गु्रपद्वारा प्रवद्र्धित चन्द्रागिरि हिल्सले सलाम एयरलायन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरूलाई उपहारस्वरूप ५० प्रतिशत र तत्पश्चात् सलाम एयरबाट यात्रा गर्नुहुने सम्पूर्ण यात्रुहरूलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रु महानुभावहरूले सलाम एयरको बोर्डिङ पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै आइएमई ग्रुपका अन्य उत्पादन तथा सेवाहरूमा समेत विशेष ग्राह्यता दिने योजना लिइएको छ ।

Related News