​अध्यागमन विभागमा सेटिङ

दृष्टि न्यूज

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गरेर चर्चा कमाएमा सहसचिव ईश्वरराज पौडेल अध्यागमन विभागको महानिर्देशक भएपछि उनले विभागमा धेरै सुधार ल्याउने आँकलन गरिएको थियो । तर, अध्यागमनमा कुनै सुधारको संकेत देखिएको छैन ।
विभागमा मुद्दा शाखामा उनले चलखेल उस्तै छ । अनुसन्धानमा अभियुक्तलाई फाइदा हुने गरी सामान्य अनुसन्धान गरी जरिवाना लिएर छाडिन्छ । अदालतमा मुद्दा दायर भएपनि मुद्दा दायर भएकै दिनमा न्यूनतम धरौटीमा अभियुक्तहरु छुट्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयमा हुने सेटिङ रोकिएको छैन । 
त्यो भन्दा अर्काे डरलाग्दो पाटो अनुगमनका नाममा हुने असुली छ । विदेशीहरुले सञ्चालन गरेका कम्पनीहरुमा विभागबाट नियमित रुपमा अनुगमन हुने गरेको छ । त्यस्ता कम्पनीमा धेरै बदमासी हुने गर्दछन् । पर्यटक भिसामा आएर विदेशीहरु काम गर्दछन् । कतिपयले व्यवसायको आवरणमा धर्म प्रचार गरिरहेका छन् । तर, उनीहरुलाई कारबाही हुन सकेको छैन । किनकी त्यहाँ नाम मात्रको अनुगमन हुने गरेको छ । 
कोरियनहरुले गोकर्णमा स्थापना गरेको हाइटेक नेपाल र मल्टिनेशन कोरियनमा पनि ठूलो संख्यामा विदेशीहरु पर्यटक भिसामा काम गर्दै आएका छन् । गत साता दृष्टिले यससम्बन्धि समाचार प्रकाशन गरेपछि विभागले अनुगमन पनि ग¥यो तर उन्मुक्ति दिइएको छ । 
हाल होङ इन पियो, लि सब, जाङ सुक, हिमो नाम गरेका कोरियनहरु अवैध रुपमा सो कम्पनीमा काम गर्दै आएका छन् । त्यससम्बन्धि रिपोर्ट विभागमा पुगिसकेको छ । तर, उनीहरु श्रम भिसा लिने प्रक्रियामा रहेको भनेर उन्मुक्ति दिइएको छ । 
सो कम्पनीमा सक्कली कपालको समेत कारोबार हुने गरेको छ । सक्कली कपालको कारोबार भनेको मानवअंगको कारोबारजस्तै हो । जुन काूननविपरीत हो । तर, नेपाली प्रशासनलाई झुक्याएर त्यहाँ अवैध कारोबार हुने गरेको छ । भिसाको म्याद नाघेकालाई कारबाही हुने शाखामा पनि सेटिङका आधारमा न्यून जरिवाना गराएर छाड्ने गरिएको छ । जसकारण अध्यागमन सुधार हुने छाँट देखिएको छैन । 

Related News