भारत-चीन चेपुवामा नेपाल

आलोक नेपाली । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका छन् । भारत र चीन जस्ता विशाल मुलुकको बीचमा रहेकाले मात्र शाहले नेपाललाई तरुल भनेका होइनन् । तरुल ढुंगाको बीच पनि अवसर निकाल्दै टिक्न र फैलन सक्छ । नेपालले अनेकन चुनौतीहरू चिर्दै एक्काइसौं शताब्दीको युगमा आफूलाई आर्थिक सम्भावना भएको देशका रुपमा प्रस्तुत गर्दै आएको छ । जल, जमिन र जङ्गल नेपालको सम्पत्ति हो । प्रकृतिको वरदान नेपालमा यति धेरै स्रोत छन् कि तिनको केही सदुपयोग मात्रले देशको कायापलट हुन्छ । मानव स्रोतमा नेपाल कमजोर छैन । तर, देशभित्र अवसर नदेखेर युवाशक्ति विदेश पलायन भइरहेका छन् । राजनीतिक अस्थिरताले नेपाललाई सबैभन्दा पिरोलेको छ । यसका पछाडि आन्तरिक राजनीति मात्र दोषी छैन । बाह्य शक्तिको पनि ठूलो भूमिका छ । 
भारतको स्वार्थ
भूगोल जोडिनु, सहजता र सांस्कृतिक समानताका कारण नेपालको भारतसँग नजिकको सम्बन्ध छ । भारतसँग जनता तहको सम्बन्ध छ । राजनीतिक तहमा पनि सम्बन्ध स्थापित छ । नेपालको ७० प्रतिशत व्यापार भारतसँग हुन्छ । भारतले बोलीमा मित्र ठानेपनि व्यवहारमा बेला बेलामा आफ्नो प्रभाव क्षेत्र देख्ने गरेको छ । भारतको सत्ताधारीमा बिट्रसको भूत सवार छ । उनीहरूलाई ब्रिटिशले गुलामको व्यवहार गरेकाले उनीहरू पनि साना छिमेकीलाई गुलाम बनाउन खोज्छन् । ब्रिटिशले भारत छाडेपनि भारतले ब्रिटिश प्रवृत्ति छाड्न नसकेको गुनासो भइरहन्छ । 
भारतले नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग पु¥याएपनि निश्चित स्वार्थ पूरा गर्ने शर्तमा ग¥यो । त्यसैले जब जब राजनीतिक परिवर्तन हुन्थ्यो भारतले केही न केही लाभ लिएकै हुन्थ्यो । राणा शासन अन्त हुँदापछिको सन्धी सम्झौता केलाउँदा होस् या पञ्चायती शासन स्थापना हुँदाको बखत नै किन नहोस् भारतले नेपालबाट स्वार्थ लियो । दुईवटा जनआन्दोलनपछि भएका नदीसँग सम्बन्धि सम्झौतालाई केलाउन सकिन्छ । पछिल्लो जनआन्दोलनपछि भारतले नागरिकता विवादमा दबाब दियो । जसले नेपाललाई अर्को संकटमा धकेल्यो । 
संविधान निर्माणमा भारतले असहयोगी भूमिका खेल्यो । दलहरू एक भएर संविधान घोषणा गर्न खोज्दा अवरोध सृजना गर्न खोज्यो । भारतीय विदेशसचिव सुव्रमण्य जयशंकर नेपाल आएर संविधान घोषणा रोक्न दबाब दिन खोजे । नेताहरूलाई प्रत्यक्ष भेटेर धम्कीको भाषा दिएर गए । जुनसुकै धम्कीको सामना गरेर भएपनि संविधान घोषणा भयो । आफ्नै देशका लागि संविधान बनाउँदा छिमेकले औंला ठड्यायो । देशभित्रका स्वार्थी तत्वहरूलाई प्रयोग गरेर नाकाबन्दी लगायो । १३५ दिन लामो नाकाबन्दीबाट नेपाली जनताले दुःख पाए । भारतसँग परनिर्भर आयात निर्यात रहेको देश अस्तव्यस्त भयो । जनताले युद्धको समयमा जस्तो अभाव झेले । तैपनि, राष्ट्रियताको लागि सरकारलाई साथ दिए । नेपाली जनताले राष्ट्रप्रतिको प्रेम र राष्ट्रवादको उदाहरण विश्व सामु पेश गरे । भारत समेत नाकाबन्दीबाट हटाउन वाध्य भयो । 
चीनसँग बढ्दो निकटता
नाकाबन्दीले नेपालीहरूलाई दुःख मात्र दिएन सोच्न वाध्य बनायो । भारतको मात्र भर पर्ने परम्परामा परिवर्तन ल्यायो । नेपालले उत्तरतर्फ नजर लगायो । चीनसँग पारवहन सम्झौता भयो । उत्तरतर्फको ढोका खुल्दै जाने प्रयासहरू भए । चीनसँगको धेरै नाका खुल्न थाले । चीनले नेपालसँगको सीमा सम्म रेल ल्याउने प्रक्रिया बढायो । यसले भारतलाई शतर्क बनायो । दिल्लीमा बहसहरू चल्न थाले । नेपालमा चिनियाँ प्रभाव बढेको विषय उठ्न थाल्यो । छिमेकप्रति भारतको हस्तक्षेपकारी नीतिले नेपाललाई सोच्न वाध्य पारेको थियो । दक्षिण एशियाका मुलुकहरू श्रीलंका, मालदिभ्स, बँगलादेश जस्ता मुलुकमा समेत चिनियाँ लगानी बढ्न थाल्यो । चीनले दक्षिण एशियामा प्रभाव विस्तार गरिरहँदा भारत चिढियो । भारतले दलाई लामा कार्डलाई आक्रामक बनाउन खोज्यो । भारत निर्वासित तिब्बती धर्मगुरू लामालाई चीनसँग जोडिएका भारतको राज्यहरूमा भ्रमण गर्न छुट दियो । यस घटनापछि चीन चिढियो । उसले भारतको उत्तरपूर्वी राज्यहरूमा प्रभाव बढाउन थाल्यो । भारत र चीनबीचको सीमा विवाद पुनः बल्झियो । यतिसम्मकी चीनसँग भुटानको सीमा विवाद रहेको दोक्लाम क्षेत्रमा भारतले हात हाल्यो । यसकारण दक्षिण एशिया मामलामा भारत र चीनबीच तनाव बढ्यो । 
दोक्लाममा भारतको चासोका कारण चीन चिढिएको छ । उसले तेस्रो पक्षको उपस्थितिप्रति आपत्ति जनाउँदै सैन्य उपस्थिति बढाएको छ । चीनको विदेश नीति सार्वजनिक हुने मुखपत्र ग्लोबल टाइम्समा काश्मिर र कालापानीमा चासो देखायो । भारततर्फ औंला ठड्याउँदै काश्मिर र कालापानीमा चीन प्रवेश ग¥यो भने के हुन्छ ? प्रश्न ग¥यो । काश्मिरमा भारत र पाकिस्तानबीच विवाद छ भने कालापानीमा नेपाल र भारतबीच विवाद छ । तेस्रो पक्षका रुपमा चीनले यी दुई क्षेत्रमा प्रवेश गर्ने चेतावनी दिएबाट भारतमा समेत तरंग आएको छ । कालापानी नेपाली भूभाग भएपनि भारतले सेना राख्दै आएको छ । नेपालका कतिपय सीमा क्षेत्रमा भारतीय सेना बसेकोबारे समेत नेपालभित्र बेला बेलामा विरोध हुनेगरेको छ । 
भारत चीन द्वन्द्वको क्रिडाभूमी
भारत र चीनबीच विवाद बढ्दै जाँदा काश्मिर मात्र नभएर कालापानीको विषय समेत उठेको छ । दृश्यमा जे भएपनि भारत र चीन प्रत्यक्ष नलडेपनि छिमेकमा अदृश्य रुपमा लडिरहेका छन् । दक्षिण एशियामा प्रभाव बढाउन खोज्दा चीनलाई भारतले चुनौती दिइरहेको छ । क्षेत्रीय शक्ति आफू भएकाले नबढ्ने चेतावनीयुक्त गतिविधि देखाइरहेको छ । चीनले पनि नेपालमा सैन्य तहको भ्रमणमा जोड दिएको छ । भारतको नेपालसँग विशेष खालको सैन्य सम्बन्ध छ । दुवै देशको उच्च तहको भेटघाट भइरहेछ । बिमष्टेक सम्मेलन पारेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएको केही दिनमै चिनियाँ उपप्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । भारत र चीनको नेपालप्रतिको बढ्दो चासोको परिणाम हो यो । दुई देशको प्रतिष्पर्धाले नेपाल चेपुवामा पर्ने खतरा उत्तिकै छ । यस्ता घटनाले राजनीतिक स्थायित्वमा खलल पुग्न सक्छ । नेपालको कुनै एक राजनीतिक समूह, जाति वा क्षेत्रका स्वार्थी नेतालाई दुरुपयोग गरेर स्वार्थपूर्ति गर्न बाह्य शक्ति लागिपरेका छन् । यसमा छिमेक पनि संलग्न हुन सक्छन् । मधेशको नाममा राजनीतिक गर्ने समूहलाई भारतले प्रयोग गरी नाकाबन्दी लगाएकै हो । चीनले पनि नदेखिने गरी यस्तै समूह वा व्यक्तिलाई प्रयोग गर्दै आएको छ । 
जोखिममा नेपाल
नेपालमा सरकार ढाल्ने र बनाउने खेलमा समेत छिमेक संलग्न रहेको लुक्दैन । यसमा विदेशीले स्वार्थपूर्ति गर्ने नियत राखेका हुन्छन् । नेपालमा अस्थिरता बढाएर लाभ लिन खोज्ने रणनीति लुकेको हुन्छ । भारत र चीनको पनि नेपालमा आफ्नै खालको स्वार्थ छ । यी दुई देश नेपाल मामलामा जुध्न थाल्दा अन्य शक्तिले समेत लाभ लिन सक्छन् । यस्ता घटनाले नेपालको शान्ति र विकासमा प्रत्यक्ष अवरोध पुग्ने गरेको छ । राजनीतिक अस्थिरता बढ्ने खतरा रहन्छ । देशभित्र चुनावको वातावरण बढ्दै गर्दा यसमा समेत अवरोध पुग्न सक्छ । भारत र चीनको द्वन्द्वको चेपुवाबाट मुक्त हुन नेपाललाई सजिलो छैन । त्यसका लागि नेताहरूमा सुझबुझ र एकताको जरूरी छ । देशलाई दाउमा राखेर विदेशीको स्वार्थपूर्ति गर्न खोजे संकट गहिरिन्छ । देशको सार्वभौमसत्ता नै जोखिममा पर्छ । कुनैपनि देशको पहिलो स्वार्थ राष्ट्रिय स्वार्थ हुन्छ । छिमेकको स्वार्थ अनुसार चल्ने हो भने देश धरापमा पर्छ । छिमेकको घरमा आगो लागेमा असर पर्न सक्छ भन्ने भारत र चीन जस्ता देशले बुझ्न जरूरी छ । नेपाल दुई ढुङ्गाबीचको तरुलबाट दुई ढुङ्गाबीचको डाइनामाइटमा रुपान्तरित भएमा छिमेकलाई समेत खतरा पर्छ । तसर्थ आन्तरिक रुपमा नेपाली नेताहरूले छिमेकको द्वन्द्वमा कुनै एक पक्षको समर्थन र विरोधमा लाग्नेभन्दा राष्ट्रिय स्वार्थमा ध्यान दिनुपर्छ । भारत र चीन जस्ता देशहरूले पनि नेपाललाई  आफूहरूबीचको द्वन्द्वको मैदान बनाउनुहुँदैन । 

Related News