​भारत भ्रमणलाई फर्केर हेर्दा

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भित्रीरुपमा के–के भयो त्यो त थाहा भएन, तर बाहिरबाट हेर्दा सफल देखिन्छ । किनभने भारतीय नाकाबन्दीताका ओलीले काठमाडौंमा रेल कुदाउनेदेखि समुद्रमा नेपाली झन्डासहितको पानी जहाज चलाउने जुन सपना नेपाली जनतालाई बाँढेका थिए, त्यो सपनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपनामा परिणत गरिदिने भएका छन् । यो भन्दा पनि महत्वपूर्ण कुरा नेपाल भारत सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने कुरालाई भारतीय बुद्धिजीवीहरुले महत्वका साथ उठाएका छन् ।
भारतीय पत्रकार सी राजा मोहनले नेपाल भारतबीचको विशेष सम्बन्धलाई सार्वभौमसत्ताको आधारमा स्थापित गर्नुपर्ने विश्लेषण गरेका छन् । नेपाल एक स्वतन्त्र र सार्वभौम छिमेक भए पनि भारतले नेपालको त्यो सार्वभौमिकता र स्वतन्त्रतालाई बिर्सने गरेको कारण बेलाबेलामा नेपाल–भारत सम्बन्धमा खटपट आउने गरेको उनको निष्कर्ष छ । सीराजाले अबका दिनमा नेपाल–भारतबीच सम्बन्ध बिग्रन नदिन सार्वभौमसत्ताका आधारमा सम्बन्ध स्थापित गर्दा जनस्तरमा पनि त्यसको बलियो प्रभाव पर्ने कुरा उल्लेख गरेका छन् । भारतको उत्तरी छिमेक नेपाल समृद्ध र बलियो हुनु भनेको भारतको लागि पनि खुशीको कुरा हो, सीराजाले भनेका छन् । यहाँनेर सम्झनुपर्ने कुरा के छ भने विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा भारतीय स्वार्थमा सन्धि, सम्झौता गर्ने भएकोले पनि भारतले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि धावा बोल्दै आएको हो । तर, यस पटक भने प्रधानमन्त्री ओलीले युएनमा सुरक्षासम्बन्धी नेपालले भारतसँग समान अवधारणा बनाउने विगतको त्रुटिलाई सच्याएर आएका छन् । विगतमा नेपालका प्रधानमन्त्रीले गरेका यस्ता राष्ट्रघाती कुरा संयुक्त विज्ञप्तिमै उल्लेख गरिएको हुन्थ्यो र नेपाली जनताको शिर निहु¥याउनु पथ्र्यो ।
कंग्रेस आईका प्रवक्ता मणिशंकर अ्ययेरले पनि नेपाल पनि भारत जत्तिकै सार्वभौम राष्ट्र हो भन्ने कुरा भारत सरकारले बेला बेला बिर्सने गरेका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आउने गरेको बताएका छन् । नेपालमा संविधान निर्माणताका भारतीय पक्षबाट जुन हस्तक्षेप गरिन खोजियो, त्यसले सम्बन्ध बिग्रेको कुरा उठाउँदै अ्ययेरले सिंगो देशको कुरा छाडेर भारतीय पक्षले मधेसको मुद्दा बोक्दा नाकाबन्दीको तहसम्म पुगेको सम्बन्धलाई स्मरण गर्दै दुःखद् भनेका छन् ।
प्रधानमन्त्री ओलीले भ्रमणमा जानुभन्दा अगाडि ‘देशको शीर निहुरिन नदिने’ जुन प्रतिबद्धता जाहेर गरेका थिए, त्यो शब्दलाई विजयकुमारले अन्नपूर्ण पोष्टको टिप्पणीमा लगुताभाष भनेका छन् । एउटा स्वतन्त्र र सार्वभौम मुलुकका प्रधानमन्त्री त्यो पनि दुईतिहाईभन्दा बढी मत पाएका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा यस्तो शब्द प्रयोग नगरे हुन्थ्यो भन्ने विजयकुमारको निष्कर्ष थियो ।
जे होस्, प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेको जे जति समाचार बाहिर आएका छन्, त्यो सकारात्मक नै छन् । एउटा स्वतन्त्र र सार्वभौम देशको प्रधानमन्त्रीले आफ्नो देशको पक्षमा अडान लिदा कुनै पनि छिमेकी देशले टाउको दुःखाउनु हुँदैन भन्ने पनि यो भ्रमणको उपलब्धि हो । नयाँदिल्लीलाई उत्तर छिमेकसँग नेपालको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराले टाउको दुखाइरहेको हुन्छ । नेपाल कुनै पनि मानेमा उत्तर चीन र दक्षिण भारतको प्रतिस्पर्धी देश होइन । तसर्थ, आफ्नो देशको हितका लागि नेपाल उत्तर र दक्षिणसँग हातेमालो गरेर अगाडि बढ्न स्वतन्त्र छ । जुन प्रयासको थालनी प्रधानमन्त्री ओलीले यसअघि चीन भ्रमण र अहिले भारत भ्रमणबाट सुरु गरेका छन् । दुई ठूला छिमेकीको हितलाई ध्यानमा राखेर नेपाल अगाडि बढ्न सक्यो भने ओलीले भनेझै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बन्न धेरै समय कुर्नु पर्दैन । 

Related News