​इन्टरपोलका अध्यक्ष होङवेईद्वारा राजीनामा

दृष्टि न्यूज

बेइजिङ, (एजेन्सी) । गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएका दिएका छन् । चिनियाँ अधिकारीहरुले सोमबार उनको राजीनामाको घोषणा गरेका हुन् । चिनियाँ कानुनको उल्लंघनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । 
लामो समय सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ । फ्रान्सेली अधिकारीहरुले गत शुक्रबार मात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए । अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् । 
विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् । 
मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारसँग कुरा गर्दै पछिल्लोपटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताइन । चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाबपश्चात एक वक्तव्य जारी गर्दैै भनेको छ, ‘मेङमाथि कानुन उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको छ ।’ 
त्यसलगत्तै, इन्टरपोलले मेङले ‘तत्काल लागू हुनेगरी’ दिएको राजीनामा प्राप्त भएको जनाएको छ । चीनमा उच्च पदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो । चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् । उनीहरु पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ । 
इन्टरपोलमा पहिलो चिनियाँ अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा परेको बताइएको छ । 
इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्ने महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताएका थिए । मानव अधिकार समूहहरुको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त भएका थिए । विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयका रुपमा हेरिएको थियो । तर मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ । 
दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ । राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाएका थिए । मेङलाई अरु पनि संवेदनशील कार्यहरुको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतंकवादी विभागको पनि जिम्मेवारी पाएका थिए । 

Related News