​एमाले र माओवादी पार्टी मिल्नुको विकल्प छैन- ईश्वर पोखरेल, महासचिव, नेकपा एमाले

दृष्टि न्यूज

चुनावी परिणाम अर्थात् जनताले दिएको ‘म्याण्डेट’लाई तपाईँले कसरी लिनुभएको छ ? 
जनताले दुई–तीन वटा कुरा खोजेका छन् । पहिलो राजनीतिक स्थिरता । हामी लामो समयदेखि राजनीतिक अस्थिरताको शिकार भयौँ । नौ–नौँ महिनामा सरकार फेरवदल हुने, एक वर्ष पनि जनताले सरकारको मुख देख्न नपाउने यो दूर्भाग्यपूर्ण चक्र निरन्तर चलिरह्यो । यसबाट सबै पक्ष आक्रान्त भएका छन् । अर्थतन्त्र धरासायी भएको छ । सामाजिक सम्बन्धहरु धरासायी भएका छन् । राजनीतिक अस्थिरता चुलिँदै गएको छ । विदेशी शक्तिको चासो बढेको छ । हाम्रो देशको स्वाभाविक विकास र प्रगतिमा निकै ठूलो समस्या सिर्जना भएको छ । यो कुरा जनताले बुझेका छन् । 
भनेपछि जनताले यही कुराको ख्याल गरेर वाम गठबन्धनलाई दुइतिहाईको नजिक मत दिएका हुन् होइन त ? 
हो, जनताले अब राजनीतिक स्थिरता चाहेका छन् । त्यही निष्कर्षमा जनता पुगेका छन् । राजनीतिक स्थिरताका लागि बहुमतको सरकार बनाउनुपर्छ भन्ने जनताको चासो हो । अर्को, आर्थिक विकास र समृद्धि जनताको चासो हो । अब राजनीति आर्थिक विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुनुपर्छ । जसले आर्थिक विकास र समृद्धिको विषयमा आफूलाई केन्द्रित गर्छ त्यो विषयलाई पत्याउने गरी काम वाम गठबन्धनले गर्छ भन्ने कुरालाई पनि जनताले ध्यान दिएका छन् । जनता राजनीतिक स्थिरता र आर्थिक समृद्धिको एजेण्डामा बहुत चिन्तित थिए । त्यसैले अहिले वामगठबन्धनलाई यस्तो म्याण्डेट दिएका हुन् । त्यो एजेण्डा वाम गठबन्धनले बोकेका कारण हामीलाई पत्याए । 
नेपाली कांग्रेस वा अन्य दलले बहुमत ल्याउँदा राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुँदैनथ्यो, होइन त ? 
यो प्रश्न पनि उठ्न सक्छ । तर, यसका लागि म प्रष्ट भन्न चाहन्छु । विगतलाई पनि फर्केर हेरौँ न । कांग्रेसले २०१५ सालमा बहुमत ल्यायो । राजनीतिक स्थिरता दिन सकेन । उसकै अयोग्यताका कारण मुलुक झन् अस्तव्यस्त भयो र निरंकुश–निर्दलीयताको तीस वर्षे काल जनताले भोग्न बाध्य भए । पछि ०४६ सालमा बहुदलीय व्यवस्था प्राप्त भयो । बहुदलीय व्यवस्थामा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला पनि नेपालमा राजनीतिक स्थिरता कायम हुन सकेन । बरु संसदीय अभ्यासमा फोहोरी खेलहरु सुरु भए । ती क्षणहरु अहिले नेपाली जनता सम्झन पनि चाहँदैनन् । 
०५६ को निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले प्राप्त प्रजातन्त्रलाई दरबारमा लगेर बुझाउनुभयो । जनताले यी सबै देखिरहेका छन् । यो सबै मैले किन भनिरहेको छु भने नेपाली कांग्रेससँग यस पटक हामीलाई बहुमत दिनुहोस् हामी मुलुकमा राजनीतिक स्थिरता कायम गर्छौ, हामी आर्थिक समृद्धि ल्याउँछौँ भन्ने राजनीतिक र नैतिक आधार नै थिएन । 
कांग्रेससँग राजनीतिक र नैतिक दुवै अधिकार नभएपछि वाम गठबन्धनले जनताका बीचमा एजेण्डा लिएर गए होइन त ? 
हो, कांग्रेसलाई पटक–पटक भोगेका जनताले हाम्रो एजेण्डा मन पराए र हामीले जनताको मत प्राप्त गर्न सफल भयौँ । 
जनताको चाहना वामगठबन्ध नै देखियो ? 
हो, वाम गठबन्धनलाई नेपाली जनताले मन पराए । केही–केहीले वाम गठबन्धनलाई यो चुनावको तालमेलका लागि मात्र गरिएको गठबन्धन हो भनेर पनि बुझेका छन् । तर, त्यस्तो विल्कुल होइन । हामीले यो गठबन्धन चुनावमा तालमेल गरौँ दुई–चार सिट जितिहालौँ भनेर गरेको होइन । नेपालका सबै कम्युनिष्टहरुबीच विचार, बाटो र विश्लेषण मिल्दैछ भने किन अलग बस्नु ? अब एक ठाउँमा आउनुपर्छ भनेर यो निष्कर्षमा आइपुगेका हौँ । 
वाम गठबन्धनलाई बहुमत दिन पाए गरिखान पाइन्थ्यो कि भन्ने जनताको अपेक्षा पनि त होला नि ? 
त्यो ठीकै कुरा हो । मैले अघि पनि यही कुरा गरेँ । यहाँ हजारौँ, लाखौँ युवाले रोजगारी पाउने ३८ वटा उद्योगहरु नेपाली कांग्रेसका पालामा उदारीकरण र नीजिकरणका नाममा कांग्रेसका अर्थशास्त्रीहरुले कौडीको मूल्यमा बिक्री गरे । वल्र्ड बैंक र आईएमएफले अहिले त्यसको ‘रिभ्यू’ खोजेको छ तर कांग्रेसका अर्थशास्त्री ‘रिभ्यू’ भएका छैनन् । यो सबै कुरा जनताले देखेका छन् । त्यसका लागि पनि जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि बहुमतको सरकार वामगठबन्धनबाट खोजेका हुन् । 
तर, जनताले त अझै पनि दुई वटा पार्टी मिल्लान र भनेर आशंका गरेका छन् नि ? 
दुई वटा पार्टी मिल्नुको विकल्प छैन । राष्ट्र र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्छ भनेर नै हामी मिशन केन्द्रित भएर तालमेलका लागि अघि बढेका हौँ । निर्वाचनका बेला हामीले ६०–४० को तालमेल गर्न सफल भयौँ । त्यो चानचुने कुरा थिएन । एमाले र माओवादीमा कतिपय पाउनु पर्ने साथीहरुले पनि टिकट पाउनु भएन तर कसैले पनि चित्त दुखाउनु भएन । यो दुबै कम्युनिष्ट एक होस् भन्ने असल उद्देश्यले नै भएको हो । त्यति मात्र होइन हामीले भविष्यका योजना र सपनासहितको साझा चुनावी घोषणापत्र ल्यायौँ । त्यो पनि हामी एक छौँ भन्ने सन्देश हो । तेस्रो कुरा, पार्टी एकता संयोजनका लागि हामीले पार्टी एकता संयोजन समिति नै बनाएका छौँ । म त्यसको सदस्य पनि हुँ । अहिले हामी घनीभूत छलफलमा छौँ । हामी छिट्टै निष्कर्षमा पुग्छौँ । विचारलाई पुर्नव्यवस्थित गर्ने कुरा, नेतृत्व पुर्नव्यवस्थापन गर्ने कुरा पनि हामी छिट्टै गर्छौ । 
विगतलाई हेर्ने हो भने एमाले र माओवादी एक होलान भन्ने कल्पना पनि थिएन नि ? 
हो, हिजो माओवादी र हामीबीच विचार, सिद्धान्त, बाटो र विश्लोषण नै फरक–फरक थियो । उसले अवलम्बन गरेको बाटो हामीलाई स्वीकार्य थिएन । आज हामी धेरै कुरामा एक ठाउँमा आएका छौँ । आधारभूत कुरामा हामी एक ठाउँमा छौँ भने अलग्गै बस्नुपर्ने आवश्यक छैन भनेर नै हामीले यो निर्णय गरेका हौँ । माओवादीले हिजो हामीले अँगालेको हिंसात्मक बाटो उचित थिएन अब शान्तिपूर्ण प्रतिष्पर्धाबाट आफूलाई स्थापित गनुपर्छ र श्रेष्ठता हाँसिल गर्नुपर्छ भन्ने कुरा स्वीकार गरेको छ । त्यसैले हामी अतितमूखी होइन भविष्यमुखी भएर जान चाहन्छौँ भन्ने कुराको संकेत पनि हो यो । 
माओवादीले विगतमा अँगालेको हत्याहिंसाको बाटो उचित थिएन भन्ने तपाईँको विष्लेशण ? 
हिंसा कम्युनिष्टहरुका लागि अनिवार्यताको विषय बन्न सक्दैन । हिंसा कम्युनिष्टहरुका लागि सैद्धान्तिक अनिवार्यताको विषय बन्न सक्दैन । त्यो अभ्यास कसैले गर्छ भने त्यो अनुचित हो । सत्ताले जस्तो गर्छ त्यसका लागि गरिने प्रतिकार कुनै कालखण्डका लागि स्वीकार्य हुन्थ्यो होला । तर, शसस्त्र संघर्ष सैद्धान्तिक अनिवार्यता मान्य हुन सक्दैन । 
तपाईँ स्वयले नै चुनावलगत्तै प्रधानमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलको नेता सबै एमाले अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्छ भनेर आफ्ना धारणा सार्वजनिक पनि गर्नुभयो नि ?
कम्युनिष्ट आन्दोलमा दुई वटा अभ्यास छन्, मल्टी सेन्टर र युनि सेन्टर  । हामीले दुबै अभ्यास गरेका छौँ । हामी यी दुई अभ्यासका बारेमा पछि छलफल गरिरहेका छौँ । मलाई अहिले सोध्नुहुन्छ भने कम्युनिष्ट पार्टी भित्र मल्टी सेन्टर गलत कुरा हो । त्यसकारण जो व्यक्ति पार्टीको अध्यक्ष हुन्छ । संसदीय दलको नेता पनि त्यही हुन्छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ । पार्टीको मुल बिचार बोक्न नेता अध्यक्ष हुने हो । त्यही व्यक्ति संसदीय दलको नेता र प्रधानमन्त्री हुने हो । यो ‘म्याचिङ’ छ । यो भागवण्डा गर्ने जस्तो कुरो पनि होइन । यो मेरो तर्क हो ।  
अहिले आलोपालो प्रधानमन्त्रीको कुरा पनि आएको छ नि ? 
यो आलोपालो भन्ने कुरा ‘नन्सेन्स’ कुरा हो । दुई वटा पार्टी रहेको र मोर्चागत संरचना रहेको बेलामा आलोपालो संगतीपूर्ण शब्द हुन्थ्यो होला । हामी अहिले एउटा पार्टी बनाउने कुरा गरिरहेका छौँ । यस्तो बेलामा के–को आलो प्रधानमन्त्री ? यो ‘नन्सेन्स’ कुरा हो । बरु त्यहाँ चुनौतिको सामना गर्न शक्तिको विन्यास हुनसक्छ । 
यो कहाँबाट आयो त, एमाले भित्रै छलफल भएर आयो कि ? 
यो कतै छलफल भएर आएको कुरा होइन । यसको निहितार्थ भनेको या त वामगठबन्धनलाई गठबन्धनमै राख्ने पार्टी एकता नगराउने नियत भएका अर्थात नियत वाङ्गिएका व्यक्तिले बोलिरहेका छन् कि त केही नबुझि बोलिदिऔँ न त भन्नेहरु अर्थात अबुझहरुले यसो भनिरहेका छन् । हामी पार्टी एकताको जुन उदेश्यमा अघि बढिरहेका छौँ त्यो उदेश्यमा यो शब्द तालमेल हुने खालको नै होइन । अहिले जबज र माओवादलाई मिलाएर एउटै सिद्धान्त बनाउने कुराको पनि चर्चा भैरहेको छ । त्यो पनि होइन । जबज एमालेको मात्र सिद्धान्त होइन । अहिले हामी सबै कम्युनिष्ट सारमा जबजकै नजिक छौँ । त्यसैले यो एमालेको वा अरुको भन्ने कुरा नै छैन । यो सबैको हो । हामी आगामी छलफलमा विचार, सिद्धान्त, संगठनको ढाँचा सबैका बारेमा गम्भीर छलफल गर्दै अघि बढ्छौँ । 
यसको मतलब अब एमाले र माओवादी मिल्ने नै हुन भनेर निश्चिन्त भए हुन्छ होइन त ? 
यो आवश्यक विषय नै हामीले गरिरहेका छौँ । हामीले केही ‘इपिसोड’ देखाइ दिऔँ न त भनेर गरेको होइन । यो पूरा गर्छौ गरेरै छाड्छौँ । केही नियत वाङ्गिएका रहेछन् भने पनि देखिने छ । तर, एक हुने कुरा रोकिन्न । यो त अघि बढ्यो, बढ्यो । एक हुने भनेको घप्लक्क अँगालो हालेर हुने कुरा होइन । केही प्राविधिक कुरा पनि छन् । त्यसैले केही समय लाग्छ । 
व्यवस्थापनको सन्दर्भमा कुरा गर्ने हो भने कतिपयले आफ्नो पद छाड्नु पर्ने अवस्था पनि होला । तपाईँ महासचिव हुनुहुन्छ ? 
हामीले एकतासहितको नयाँ पार्टी बनाउदै छौँ । यस्तो बेलामा संगठनको ढाँचा नै पुर्नगठन हुनसक्छ । हामी यति ठूलो अभियानमा लागेका बेला एउटा पद वा व्यक्तिको कुरा सामान्य हो । यो मिशन पूरा गर्ने सन्दर्भमा मेरो बाहेक अरुको व्यवस्थापन भन्ने कुरा हुँदैन । पार्टीको सामान्य सदस्य भएर पनि बस्ने आँट गर्नुपर्छ । त्यसमा खुशी हुनुपर्छ ।  
– सम्बोधन साप्ताहिकबाट

Related News