​कम्युनिष्ट आन्दोलनको समस्या नै भ्रष्टीकरण हो- नारायणकाजी श्रेष्ठ, प्रवक्ता, (नेकपा)

दृष्टि न्यूज

१० वर्षको अन्तरालमा तपाईं तेस्रोपटक पार्टी एकतामा निर्णायक भूमिकामा देखिनुभयो । एकता केन्द्र हुँदै नेकपा माओवादी केन्द्रसँग जोडिएका सबै परिचय अब इतिहास बने । कस्तो लाग्दो रहेछ बारम्बार परिचय फेरिँदा ?
कम्युनिष्ट भनेका गतिशील क्रान्तिकारी हुन् । त्यसकारण तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर नै हामीले निर्णय गर्नुपर्ने हुन्छ । र, हरेक पटकका निर्णयले तत्कालीक परिस्थितिको सन्दर्भमा सही निर्णय नै गरेको पुष्टि गरेको छ । हामीले शान्तिप्रक्रिया सफल पारेर नयाँ संविधान बनाउनका निम्ति पार्टी एकीकरण गरेर एकीकृत नेकपा माओवादी बनायौँ, त्यो सही नै थियो । अहिले संविधान निर्माण गरिसकेपछि संविधान कार्यान्वयनको नेतृत्व पनि कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूले लिनका लागि दुईवटा पार्टीका बीचमा एकता जरुरी थियो । त्यो एकता ऐतिहासिक वस्तुगत आवश्यकताले निर्देशित गरेको थियो ।  त्यसैले हामीले आत्मगत रूपले पहलकदमी गरेर पूरा गरेका छौँ । त्यसकारण पहिचान चैँ हाम्रो के हो भने, हामी कम्युनिष्ट क्रान्तिकारी हौँ । र, हामीले नेपाल र नेपाली श्रमजीवी वर्गको आवश्यकताअनुसार सही सही निर्णय गरेरै जानुपर्छ भन्ने कुराको पहिचान बनाएका छौँ । त्यसो हुनाले मलाई यो पहिचानबाट म आनन्दित नै छु । एउटै पार्टीको पहिचान सधैँ भइरहनुपथ्र्यो भन्ने हुँदैन । नामको होइन, कम्युनिष्ट क्रान्तिकारीको पहिचान छ कि छैन, देश र जनताको पक्षमा सही निर्णय गर्ने प्रवृत्तिको पहिचान छ कि छैन भनेर हेर्दा यो पहिचानबाट म खुसी नै छु । 

तर, पार्टी एकतापछि लामो समय अलमलमै बितेको देखिन्छ, नेकपाको राजनीतिक संगठन तलसम्म पु¥याउने काममा गतिशीलता देखिँदैन । के कमजोरी भयो ? 
पार्टी एकीकरण नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनको वस्तुगत आवश्यकताको उपज थियो । त्यसले एउटा परिणाम राम्रै दियो कि, करिब दुईतिहाइ बहुमतसहितको संघीय सरकारको हैसियत प्राप्त ग¥यौँ । यस्तै, ६ वटा प्रदेशमा सरकार सञ्चालन गर्ने तथा स्थानीय तहहरूमा पनि हामीले बहुसंख्यामा नेतृत्व गरिराखेका छौँ । तर, यो पार्टी एकतालाई पूर्णता दिनका निम्ति सांगठनिक एकीकरणको काम तलसम्म समयमै पु¥याउन सकेनौँ । त्यसले गर्दा पार्टीका यत्रा कार्यकर्ता, सदस्य जिम्मेवारीविहीन अवस्थामा, कमिटीविहीन अवस्थामा छन् । यो निश्चित रूपमा दुःखद र नकारात्मक कुरा हो । यो हाम्रो कमजोरी हो । समय घर्किन लागिसकेको छ । त्यसैले हामीले यो कमजोरीलाई समयमै सच्याउने दिशातर्फ पहलकदमी गरेका छौँ । सांगठनिक एकीकरणको कामलाई पूर्णता दिन बैठक बसिराखेका छौँ । अहिले सचिवालयको बैठक बस्दैछ । त्यसपछि हामी स्थायी समितिको बैठक बस्छौँ, र प्रदेश कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिल्ला कमिटीहरूको पनि एकीकरण प्रक्रियालाई अगाडि बढाउने गरी पहलकदमी गर्छौं र सांगठनिक एकीकरणको प्रक्रिया पूर्णताको दिशातिर लैजान्छौँ । म दोहो¥याएर भन्छु, कमजोरी भयो सच्याउनेतिर हामी छौँ । 

कमजोरी सच्याउनेतिर जाँदैछौँ त भन्नुभयो । कमजोरी भयो भन्ने महसुस गर्ने तर, नसच्चिनै रोग झाँगिँदो छ । अहिले पनि सामूहिक निर्णय प्रक्रिया भएन, विधि र पद्धति मिचियो भन्ने स्वर बढ्दो छ नि ? 
नेपाली कम्युनिष्ट आन्दोलनको समग्रतामा र आम रूपमा तपाईंले कुरा गर्नुभएको हो भने विधि प्रक्रियाको पालनाको समस्या, अन्तरपार्टी जनवादलाई सुनिश्चित गर्ने समस्या र सामूहिक नेतृत्वको अभ्यासको समस्या छँदैछ । त्यो हाम्रो पार्टीमा पनि एउटा वा अर्को रूपमा अभिव्यक्त भएकै छ । तर, जहाँसम्म अहिले हाम्रो ठोस विषयको कुरा छ, सचिवालय बैठकमा छलफल गरिरहेका छौँ । बैठकमा सबै कमरेडहरूले आआफ्ना धारणा, विचार राख्ने क्रम जारी छ । त्यसआधारमा निर्णयको प्रक्रिया अगाडि बढ्छ र त्यसलाई पनि अझ अगाडि बढाएर हामीले स्थायी समितिको बैठकमा आफ्नो प्रस्ताव पेश गर्छौँ र छलफल गरेर निर्णय गछौँ । त्यसकारण हामीले कमिटीबाटै निर्णय गरेर जान खोजिराखेका छौँ । अब रह्यो पार्टीभित्र कतिपय विषयमा मतभेद असन्तुष्टिका कुरा, एउटा कम्युनिष्ट पार्टीभित्र त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । कम्युनिष्ट पार्टीभित्र मतभेदहरू राख्ने स्थिति बनेन, मतभेद नै भएन, अन्तरविरोध नै भएन वा अन्तरसंघर्ष नै भएन भने त्यो गतिशील र जीवन्त नै हुँदैन । कृत्रिम मतभेद खडा गरेर पार्टीमा अन्तरविरोध चलाउने होइन । कम्युनिष्ट पार्टी द्वन्द्ववादमा आधारित गतिशील पार्टी हो । त्यहाँभित्र मतभेदहरूलाई सहज रूपमा स्विकार गरिनुपर्छ । अन्तरविरोधले पार्टीको गतिशीलता र वैचारिक लाइनको परिमार्जनमा योगदान पु¥याउँछ । त्यसकारण पार्टीभित्र कतिपय विषयमा छलफल भएका छन्, हामीले स्वभाविक रूपमा लिन्छौँ र अझ त्यसलाई पार्टीको एउटा अनिवार्य अंगका रूपमा ठान्छौँ । 

देशमा तिनवटै तहमा सरकार मूलतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छ । तर, तलतिर हेर्दा पार्टी देखिँदैन । एकता हुनुअघि नेकपा एमालेको सांगठनिक सुदृढिकरण लोभलाग्दो थियो । एकतापछि त्यसबेलाको माओवादी जस्तै भद्रगोल बन्यो भन्ने गुनासो सुनिन्छ । के भन्नुहुन्छ ?
यो कुरामा सत्य हो जस्तो मलाई लाग्दैन । किनभने हामीले पनि हे¥योँ, नेकपा एमालेको एउटा कुरामा मात्रै नियमितता रहेछ, पार्टीभित्र कमिटीको नेतृत्व र कमिटीका सदस्यहरूको चुनाव गर्ने । त्यो बाहेक, अन्य कुनै संस्थागतता हामीले देखेनौँ । पछिल्लो अवस्थामा उहाँहरूले पनि भन्नुहुन्छ, विधि, पद्धति, संस्थागतता, सामूहिकता एकदम कमजोर भएर गएको सत्य हो । हाम्रो पार्टीभित्र पनि त्यो समस्या थियो । अझ हाम्रो पार्टीमा त ठूलठूला कमिटी थिए, जसको बैठकै बस्न नसक्ने, विधि पद्दतिको अभ्यासै नगरिने स्थितिमा पुगेको थियो । र, त्यहाँ एकजना दुईजना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष भन्नेहरूले नै पार्टी कमिटीको निर्णय भन्दै आफूले निर्णय गर्दै जाने स्थिति बनिराखेको थियो, स्थानीय कमिटीहरूमा । त्यसकारण हाम्रो यो साझा कुरा बन्या छ, एउटा कुरा त । दोस्रो कुरा, अहिले तल पार्टीहरू छैनन् भन्ने कुरा चैँ सही हो । पार्टीका मान्छेहरू छन्, पार्टी कमिटीहरू छैनन् । त्यो त तथ्य भयो नि त । किनभने हाम्रो सांगठनिक एकीकरणले कहीँ पनि पूर्णता पाएको छैन । भर्खर प्रदेश कमिटीको पदाधिकारीसम्म बनाएर अहिले सचिवालयले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दियो । तर, त्यो कार्यान्वयनमा त गएको छैन । किनभने त्यसलाई स्थायी समितिमा लैजानै छ । त्यस्तै, जिल्ला कमिटीहरू छैनन् । जनवर्गीय संगठनहरू छैनन् । तल्ला कमिटीको एकीकरण भइसकेको छैन । त्यसकारणले पार्टी कमिटीहरू छैन, त्यसअर्थमा पार्टी छैन । पार्टीका कार्यकर्ता र सदस्यहरू छन् जस्तो अहिले भएको छ । यो कुरा सत्य हो । अब हामी सांगठनिक एकीकरणको कामलाई छिटै पूरा गर्छौं र, पार्टीलाई अत्यन्तै गतिशील र सक्रियढंगले अगाडि बढाउँछौँ । 

केन्द्रमा पार्टी एकीकरण भएको यतिका समयसम्म तल्ला तहमा पार्टी बन्न सकेको छैन । यस्तो होला भन्ने कहिल्यै सोच्नुभएको थियो ?
थिएन । यस्तो होला भन्ने त कल्पनै थिएन । ६, ७ महिनासम्म सांगठनिक एकीकरणको काम पनि पूरा नहुने, त्यसपछि पार्टीलाई सुदृढ गर्ने, व्यवस्थित गर्ने, रुपान्तरण गर्ने अभियान त बाँकी नै छ । तर, सांगठनिक एकीकरणको समय यति धेरै लाग्ला, ६ महिनासम्म राजनीतिक प्रतिवेदन नै प्रकाशित नहोला जस्तो मैले कल्पना गरेको थिइनँ । तर, अहिले भोगिएको छ । अहिले यथार्थ त्यही भयो । तर पनि यसबाट हतासिएर भएन, निराश भएर भएन । यसलाई विधिपद्धतिअन्तर्गत अगाडि बढाउन, सांगठनिक एकीकरणको कामलाई टुंगो लगाउन र राजनीतिक रूपमा पनि सही दिशा निर्धारण गर्दै अगाडि बढाउन पनि प्रयत्न गर्ने काम म जारी राख्छु । किनभने कम्युनिष्ट हुनुको नाताले हामी आलोचनात्मक चेतसहित अगाडि बढ्नुपर्छ । त्यसमा पनि पार्टी एकता हुनुपर्छ । कम्युनिष्टहरू एकठाउँमा आउनुपर्छ भनेर लगातार पहलकदमी गर्ने एउटा मुख्यपात्रका हिसावले पनि मैले आफ्नो नैतिक जिम्मेवारी धेरै महसुस गरेको छु ।

तपाईंले मात्रै महसुस गरेर त हुने होइन होला । समग्रमा ढिला भइसक्यो है भन्ने ‘रियलाइजेसन’ छ कि छैन सचिवालयमा ?
सांगठनिक एकीकरणको सवालमा अब ढिला भयो भन्नेमा चैँ सचिवालयका सबैजसो नेतृत्वदायी कमरेडहरू सहमतै हुनुहुन्छ । तर, समग्रतामा छलफल, बहस अझै बढी आवश्यक छ भन्ने मैले महसुस गरेको छु । 

भनेपछि रुपान्तरणको बहस अझै धेरै बाँकी छ ? 
त्यो त धेरै चुनौतिपूर्ण छ हेर्नुस् । नेपाल कम्युनिष्ट पार्टी विश्वमा नै उदाहरण दिन सक्ने राजनीतिक उपलब्धी लिएर अगाडि बढिरहेको छ । यसको अत्यन्तै उज्वल पक्ष हो । त्यसले हामीलाई नयाँ नेपाल फेर्ने ऐतिहासिक अवसर पनि दिएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पनि आशाको तारोको रूपमा यो स्थापित भएको छ । तर, वैचारिक स्खलन र चारित्रिक भ्रष्टिकरण हाम्रो पार्टीको र समग्रतामा सिंगै नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ठूलो समस्या बनेको छ । वैचारिक स्खलन र भ्रष्टिकरणको यो नकारात्मक प्रवृत्ति जसरी तीव्र रुपमा अगाडि बढिरहेको छ, त्यसलाई त्यसलाई रोकेर वैचारिक सांस्कृतिक आन्दोलन चलाएर पार्टीलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । तर, यो तुरुन्तै भइहाल्दैन । एउटा जादुको छडी चलाए जसरी निर्णय गरेको भरमा यो हुने होइन । हामी सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूले हाम्रो पार्टीको यो मुख्य समस्या वैचारिक सांस्कृतिक भ्रष्टिकरणको समस्या हो भन्ने कुरा आत्मसाथ गर्दै वैचारिक सांस्कृतिक अभियान चलाउनुपर्छ  । र, पार्टीमा एकातिर वैचारिक लाइनलाई स्पष्ट पार्ने, अर्कोतिर सबैलाई नेता–कार्यकर्तालाई वैचारिक रूपले सुसूचित बनाउँदै भ्रष्टिकरण, सांगठनिक रूपमा नोकरशाही केन्द्रियता र अराजकतावादी प्रवित्तिविरुद्ध अभियान छेड्ने, जनवादी केन्द्रियताको अभ्यास गर्दै विधिपद्धितिअनुसार पार्टीलाई सञ्चालन गर्ने यो अभियान हामीले चलाउन सक्नुपर्छ ।  

माओवादी पार्टीमै हुँदा पनि यहाँले विधि, पद्धति, सामूहिक नेतृत्व, सांगठनिक तथा आर्थिक पारदर्शीताको कुरा गर्नुहुन्थ्यो । एकतापछि बनेको पार्टीमा त्यस्ता थुप्रै समस्या देखिन्छन् । विभिन्न समूह सक्रिय छन् । विधिप्रक्रिया मिचियो भन्ने असन्तोष सुनिन्छ । पारदर्शीता छैन । नेताहरूका जीवनशैली झनझन भड्किलो बन्दै गएको गुनासो बढेको छ । यो प्रवृत्ति फेर्नै नसकिने रहेछ कि के हो ? यहाँको अभियान कहाँ पुग्यो ? 
अभियान जारी छ । मलाई यो सरल लागेको छैन । चुनौतिपूर्ण छ, धेरै जटिल छ भन्ने कुरा बोध हुन्छ । तर, सफल हुनै सकिँदैन भन्ने छैन । आशावादी हुँदै प्रयत्न जारी राखिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको जुन वैचारिक र चारित्रिक भ्रष्टिकरणको समस्या छ, यो ठूलो रोग हो र यो लामो समयदेखि छ । यसका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनले यति धेरै समर्थन प्राप्त ग¥यो त्यो धेरै ठूलो कुरा हो । राजनीतिक एजेन्डामा यो सफल हुँदै आएको छ । अब चाहीँ यो राजनीतिक एजेन्डाले मात्रै सफलता हासिल गर्दैन । अब चाहीँ व्यवहारमा जनताले आफ्नो जीवन परिवर्तन यो राजनीतिक परिवर्तनबाट भयो कि भएन भनेर हेर्न चाहन्छन् । त्यसका निम्ति हामीले आफ्नो पार्टीलाई शक्तिशाली पनि बनाउने, क्रान्तिकारी पनि बनाउँदै जनमुखी काम गर्न जरुरी छ । यसकालागि ठूलो बहसको खाँचो छ । ठूलो राजनीतिक उपलब्धी रक्षा गर्दै नेपाली समाजको सामाथिक आर्थिक रुपान्तरणको काम गर्नुपर्छ, यो ऐतिहासिक अवसरलाई चुक्न दिनुहुँदैन र त्यसका निम्ति पार्टीलाई पनि कम्युनिष्ट क्रान्तिकारी पार्टी जस्तो बनाउनुपर्छ भन्ने नेता–कार्यकर्ताको ठूलो जमात नेपाल कम्युनिष्ट पार्टीभित्रै छ । त्यसकारण एउटा ठूलो बहस र छलफलको प्रक्रियाबाट वैचारिक सांस्कृतिक रुपान्तरणको प्रक्रिया अगाडि बढाउन सकिन्छ । यो पार्टीलाई शक्तिशाली पनि र क्रान्तिकारी पनि बनाउन सकिन्छ भन्ने विश्वास मलाई छ । 

विश्व कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेकै छ । हाम्रो दक्षिणको छिमेकी भारतका कतिपय राज्यमा लामो समय शासन गरेका कम्युनिष्ट सरकार धमाधम गिरेका छन् । तर, यहाँ नेकपाको फैलावट बढ्दो छ । यो फैलावट रोक्न, तहसनहस बनाउन बाह्य चलखेल कत्तिको होला ?
कम्युनिष्ट क्रान्तिकारीहरूका लागि अन्तर्राष्ट्रिय परिस्थिति त्यति अनुकुल छैन भन्ने कुरा सत्य हो । तर, म के कुरामा दृढ विश्वास राख्छु भने मुख्यतः हाम्रो भूमिकामा नै यो भर पर्छ । त्यसोतः कम्युनिष्ट क्रान्तिकारीबीच पार्टी एकता नहोस्, चुनाव नजितोस् भनेर यहाँभित्रका र दुनियाका प्रतिक्रियावादी शक्तिहरूको संयुक्त चाहना थियो होला । तर, त्यसलाई चिर्न हामी सफल भयौँ । अब कम्युनिष्ट सरकारलाई राम्ररी सञ्चालन गर्न, जनतामा अत्यन्त राम्रो प्रभाव दिन, देश र जनताको पक्षमा लगातार काम गरेर त्यो चरित्र र छविलाई अझ बढी उज्यालो बनाउन सकिन्छ । त्यसो हुनाले मुख्यकुरा हामीले के गर्छौँ भन्ने नै हो । मलाई अहिले सबैभन्दा बढी चिन्ता पनि त्यसैमा छ । कम्युनिष्ट विरोधी, साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट नामको सरकार पनि नटिकोस् भन्ने चाहन्छन् । त्यसकारण उनीहरूको भित्रदेखि हामीलाई समर्थन हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ । तर, अहिलेको विश्वमा त्यति सजिलो पनि छैन । संविधान हामीले ल्यायौँ । त्यो संविधानअन्तर्गत निर्वाचन गरियो र त्यो निर्वाचनबाट आएको शक्तिसँग सम्बन्ध नराख्ने वा बाह्य रूपमा नै असहयोग गर्न सक्ने स्थिति पनि बन्दैन । हामीले राम्रो काम ग¥यौँ भने कसैले छेक्न सक्दैन । चिन्ता चैँ हामी आफैँले के गर्छौँ भन्ने हो । हामी हाम्रो उद्देश्यप्रति गम्भीर रूपले प्रतिबद्ध हुन्छौँ कि हुँदैनौँ ? हाम्रो कार्यशैली र जनमुखी, श्रमजीवी वर्गमुखी र राष्ट्रमुखी हुन्छ कि हुँदैन ? मुख्य चिन्ता र चासोको विषय यो हो । हामीले जति हदसम्म आफूलाई राष्ट्र र जनताको पक्षमा प्रस्तुत गर्छौं, जतिहदसम्म श्रमजीवी वर्गको पक्षमा प्रस्तुत गर्छौं, त्यति हदसम्म हामी सफल हुँदै पनि जान्छौँ । हामीले त्यो काम गरेनौँ भने दुनियाँको कुनै तागतले समर्थन गरेर पनि हामी सफल हुन सक्दैनौँ । हामी सफल हुन सक्छौँ । तर, हामीभित्र गम्भीर र निर्मम आत्मसमीक्षाको आवश्यकता छ । हाम्रा सकारात्मक र सवल पक्षहरूलाई आत्मसाथ गर्दै हाम्रा कमजोर पक्षलाई समयमै सच्याएर अगाडि बढ्यौँ भने निश्चित रूपमा सफल हुन सक्छौँ । 

बुँदागत रुपमा भन्दा नेकपाका अबका कार्यसूची के के हुन् ?
अहिले हाम्रो सचिवालय बैठक बसिरहेको छ । पहिले त हामी अहिले हामी पार्टीको सांगठनिक एकीकरणको कुरा टुंगो लगाउँदैछौँ । दुई, हामी सरकारको समीक्षा गर्छौं र, सरकारलाई पनि सही ढंगले अझ परिणाममुखी र प्रभावकारि ढंगले अगाडि बढाउन मेहनत गर्छौं । तीन, पार्टीलाई विधि पद्धति र संस्थागत ढंगले सञ्चालन गर्न, पार्टीमा देखा परेको भ्रष्टिकरणविरुद्ध अभियान चलाउन, पार्टीमा जनकार्यशैलीको अभ्यासलाई अगाडि बढाउन मेहनत गर्छौं र चार, महाधिवेशनको सेरोफोरोमा ठूलो वैचारिक सांस्कृतिक अभियान छेड्ने र वैचारिक राजनीतिक कार्यदिशा तय गर्दै पार्टीलाई रुपान्तरण गर्ने अभियानमा लाग्छौँ । 

अब सरकारको कुरा गरौँ । सरकारका कामकारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पहिलो कुरा त, यो सरकारको समग्र समीक्षा गर्ने बेला भइसकेको छैन । सरकारले देश र जनताको पक्षमा केही सकारात्मक पहलकदमी गरेकै छ । सामाजिक न्यायसहितको समृद्धिको पक्षमा केही सकारात्मक काम भएका छन् । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्बन गर्दै दुवै छिमेकी मित्रहरूसँग समनिकटताको आभारमा मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने र नेपालको बारेमा नेपालीले नै फैसला गर्ने पहलकदमी अगाडि बढाएको छ । यो पहिलो कदम हुनुपथ्र्यो र सरकारले पहिलो कदम सही चालेको छ । दोस्रो, संविधानमा व्यवस्था गरिएको मौलिक अधिकारहरूको कार्यान्वयनका निम्ति समयभित्रै कानुनहरू बनाउने काम सकेको छ । तेस्रो, संघीय संरचनामा देश गइसकेपछि संघीय कानुन, प्रादेशिक र स्थानीय कानुन, विनियम, निर्देशिकाहरू बनाउनुपर्ने  आवश्यकता थियो, त्यो दिशामा सरकारले सकारात्मक पहलकदमी गरेको छ । यद्यपि, यो काम पूरा भइसकेको छैन । चौथो,  संघीयतामा गइसकेपछि संरचनागत रूपमा कर्मचारीहरूको पुनर्संरचना गर्नुपथ्र्यो । त्यो काममा वर्तमान सरकारले केही न केही कदम अगाडि बढाएको छ । अर्को महत्वपूर्ण काम, यसले भर्खरै सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रम निश्चित रूपमा निकै ठूलो महत्वपूर्ण, सकारात्मक गुणतत्वयुक्त कार्यक्रम हो, जसले नेपाली जनता विशेषगरी श्रमजीवी जनतालाई निश्चित रूपमा ठूलो लाभ दिन्छ । तर, गर्नैपर्ने, शिर ठाडो पारेर भन्न सकिने केही काम हुन सकेको छैन । 

जस्तो, सरकारले के काम गर्न सकेन ? 
भ्रष्टाचारविरोधी अभियान तीव्र पार्नुपर्ने र सुशासनको प्रत्याभूति गर्नुपर्ने काममा अपेक्षित परिणाम दिन सकिएको छैन । कम्युनिष्ट पार्टीको सरकार आएपछि भ्रष्टाचारीहरू लगलग काम्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही भएको देखिनुपर्ने, भ्रष्टाचारीहरू अवसरविहीन अवस्थामा पुगेको र इमान्दार, स्वच्छ छवि भएका मान्छेहरू प्रोत्साहित भएको, जनताका नियमित कामहरू घुस नखुवाई हुने प्रक्रिया तीव्र हुनुपर्ने थियो । यसमा हामीले सोचे जस्तो प्रगति हुन सकेको छैन । सुशासन पनि राम्ररी स्थापित गर्न सकिएको छैन । यो विषयमा हामी पार्टीभित्र गम्भीर समीक्षा गर्दैछौँ । 

विपक्षी दलले मात्र होइन, नेकपाकै कतिपय नेताले सरकारको ‘पफर्मेन्स’ कमजोर भयो भनिरहेका छन् । त्यत्रो जनसमर्थन रहेको सरकार ‘डिफेन्सिभ’ बन्दै गएको छ । के कारण यो अवस्था आयो जस्तो लाग्छ ?
यस विषयमा पार्टीमा गम्भीर समीक्षा गरिसकेपछि नै हामी विस्तारमा कुरा गर्न सकौँला । किनभने अहिले सचिवालय बैठकमै यो विषयलाई कार्यसूचीमा राखिएको छ । तर, सामान्यतया देखिने कुरा के हो भने, हामीले पार्टीका घोषणापत्र, कार्यक्रमहरू लागू गर्न जुन गम्भीरता र तत्परता देखाउनुपथ्र्यो, त्यति भएन कि भन्न सकिन्छ, पहिलो त । दोस्रो कुरा, पार्टीले महत्वपूर्ण नीति कार्यक्रम र त्यसलाई लागू गर्ने संरचनाहरूको सन्दर्भमा पार्टीमा छलफल गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा जानुपर्ने थियो । यो विषयमा पनि हामी बैठकमा समीक्षा गर्दैर्छौं । तेस्रो कुरा, कामको प्राथमिकता निर्धारण गर्ने क्रममा पो कमजोरी भयो कि भनेर पनि समीक्षा आवश्यक देख्छु । चौथो कुरा यो मुख्यकुरा पनि हो, भ्रष्टाचारविरोधी अभियान र सुशासन स्थापित गर्ने अभियानमा सायद हामीले आफूलाई एकदम कठोर बनाउन सकिरहेका छैनौँ । कठोर नभई भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्ने अभियान सफल हुन सक्दैन । त्यसो नभई समृद्धिको सपना पूरा हुन पनि सक्दैन भन्ने कुरालाई हामीले आत्मसाथ गर्न जरुरी छ । यति हुँदा हुँदै पनि सरकारको एजेन्डा सामाजिक न्यायसहितको समृद्धि नै हो । यसले केही सकारात्मक पहलकदमी गरेको छ । पूर्ण सन्तुष्ट हुन सकिने स्थिति निश्चित रूपमा पैदा भइसकेको छैन । तर, यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउने सम्भावना छ । त्यसका निम्ति हामी गम्भीर समीक्षा गरेर अगाडि बढ्छौँ । 
 
अहिले पार्टीको कुनै पनि निकायले सरकारलाई गाइड गरेको देखिँदैन । पार्टीले सरकार संचालनमा सुझाब दिने गरी कुनै संयन्त्र बन्ने सम्भावना छ ?
मैले अघि नै भनेँ कि सरकारको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण पक्षहरूमा पार्टीद्वारा निर्देशित हुने स्थिति सुनिश्चित हुनुपर्छ । हामी छलफलकै क्रममै छौँ, सायद त्यो दिशातिर जाला भन्ने आशा गरौँ । जे होस्, महत्वपूर्ण पक्षहरूमा पार्टीद्वारा निर्देशित हुने स्थिति बन्नुपर्छ । पार्टीले सरकारलाई सहयोग गर्ने त्यसप्रकारको कुनै ‘मेकानिजम’ बन्छ कि बन्दैन भन्नेबारेमा चैँ विचाराधीन छ । अब पार्टीले नै निर्णय गर्ने कुरा हो । निश्चित रूपमा सरकार सञ्चालनको आफ्नै प्रक्रिया छ । दैनिक रूपमा पार्टीले सरकारको कामकारबाहीमा हस्तक्षेप गर्न मिल्दैन । नकारात्मक काममा त पार्टीले झन हस्तक्षेप गर्नै मिल्दैन । सकारात्मक काममा पनि पार्टीले आधारभूत विषयमा मूलभूत रूपमा गाइड गर्ने हो । त्यो गाइड गर्ने काममा पार्टीले जसरी भूमिका खेल्नुपर्ने हुन्थ्यो, त्यो भूमिका खेल्न के गर्नुपर्छ भनेर पार्टीमा हामी छलफल गर्छौँं । 

कर्मचारीतन्त्रको असहयोगले काम हुन सकेन भनेर कतिपय मन्त्रीले नै गुनासो गरेको सुनिन्छ । महत्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव तपाईंसँग छ । तपाईंको अनुभवले के भन्छ, कर्मचारीतन्त्र बाधक हो कि मन्त्रीहरूमा परिचालन सीप नभएको ?
नेपालको परिवर्तनको प्रक्रियाको एउटा कमजोर पक्ष के हो भने न्यायालय र कर्मचारीतन्त्रको पुनर्संरचना भएन । त्यसकारण ती संस्थाहरूले अहिलेको परिवर्तनलाई कति आत्मसाथ गरेका छन् भन्ने प्रश्न उठेकै छ । कर्मचारी प्रशासनमा समस्या नभएको पनि होइन । त्यसकारण जति सहयोगी हुनुपथ्र्यो, त्यति सहयोगी हुन नसकेको भन्ने गुनासो अन्यथा देख्दिनँ । तर, मन्त्रालयको नेतृत्व ‘लिडरसिप’ सही छ भने, स्वच्छ भने, ‘भिजनरी’ (दृष्टिकोणसहितको) छ भने, ‘कम्पिटेन्ट’ (क्षमतावान) छ भने व्युरोक्रेसीलाई हाम्रो कामको पक्षमा ल्याउन सकिन्छ भन्ने मेरो व्यक्तिगत अनुभव छ । 

संघीयता कार्यान्वयनको चरणमा छ । तर, सिके राउत र र नेत्रविक्रम चन्द विप्लवका अभियान पनि बढ्दैछन् । यी दुई पक्ष मुलुकका लागि कत्तिको हानिकारक देख्नुहुन्छ ?
हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने काममा दृढता देखायौँ र त्यो विषयमा चुकेनौँ भने, संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रूपान्तरणको काममा सफलता हासिल ग¥यौँ र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगको समुदायलाई अधिकारसम्पन्न गर्ने र उनीहरूको जीवनस्तर उठाउने काम ग¥यौँ, सामाजिक न्यायसहितको समृद्धि देशमा ल्यायौँ भने विखण्डनकारी वा देशभित्रका अरु अतिवादी शक्तिहरू स्वभाविक रूपमा कमजोर भएर जान्छन् । नेपाली समाजको अहिलेको परिवर्तनको प्रक्रियाले स्थायित्व पाउँछ, सुदृढ भएर जान्छ । तर, राष्ट्रियताको पक्षमा चुक्नुभयो वा संविधानको कार्यान्वयनको पक्षमा चुक्नुभयो वा सामाजिक आर्थिक रुपान्तरण गर्न सक्नुभएन, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्नुभएन वा उत्पीडित जाति, क्षेत्र, वर्ग, लिंग र आम जनतालाई यो परिवर्तनबाट मैले यति अधिकार पाएँ भन्ने दिन सक्नुभएन त विखण्डनको खतरा र अतिवादी उग्रवादको खतरा बढ्न सक्छ । तर, मलाई विश्वास छ, हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गरेर, संविधान कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरणको काम गर्छौँ र सबै अतिवादी र विखण्डनकारी प्रवृत्तिलाई परास्त गर्छौँ । 

सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा नेताबारे अनेक टिप्पणी आउँछन् । नेताहरूले नै कमजोरी गरेर यो ठाउँ दिएको हो कि सामाजिक सञ्जालले मर्यादा नाघेका हुन् ?
यो विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ । सञ्चारजगतका साथीहरूले नै समीक्षा गरे हुन्थ्यो भन्ने मलाई लाग्छ । नेपाली मिडियाको विकास तीव्रतापूर्वक भइरहेको छ । तर, यसका साथै, पछिल्ला समय विकृतिहरू पनि झांगिँदै गएको छ । त्यसमा आत्मसमीक्षा गरोस् भन्ने चाहन्छु । त्यसो त नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा अहम् भूमिका खेल्दै ठूलो योगदान पनि गरेको छ । नेपाली राजनीतिमा थुप्रै फोहोर छ भन्ने लागेर नै म त्यो सफा गर्नुपर्छ भन्ने अभियानमा छु । सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न र अहिलेको परिवर्तनलाई स्थायित्व दिने हो भने अबको काम भनेकै राजनीति सफा गर्ने हो । जहाँसम्म तलाईंले संकेत गर्न खोज्नुभएको विषय हो, त्यसबारे मैले बारम्बार स्पष्ट पारेको छु र, यहाँमार्फत् पुनः स्पष्ट पार्न चाहन्छु कि मेरो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरिराखेको छु । अब पनि म सम्पूर्ण रूपले देश र जनताको पक्षमा समर्पित भएर बाँच्न चाहन्छु । मैले मेरो जीवनलाई मुक्ति यात्रा हो भन्ठान्छु । र, मुक्ति यात्राको अभिन्न अंग मैले राजनीतिलाई ठानेको छु । त्यससन्दर्भमा मैले विवाहसम्बन्धी दृष्टिकोण पनि स्पष्ट पारेको छु । त्यसकारण वैवाहिक पारिवारिक सम्बन्धमा प्रवेश गर्ने मेरो सोच छैन । मैले यो कुरा सार्वजनिक रूपमा बारम्बार गरेको छु । तर, पनि केही जिम्मेवार मिडियाले नै मेरो बारेमा भ्रामक समाचार छापेर मेरो चरित्रहत्या गरिरहेका छन् । 
प्रस्तुति : छविरमण अधिकारी

Related News