​अमेरिकालाई चुनौती दिँदै इरानले तेल बिक्री गर्ने

दृष्टि न्यूज

तेहरान, (एजेन्सी) । अमेरिकी आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले बताएका छन् । इरानले वासिंगटनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई तोड्दै तेल बिक्री गर्ने जनाएको हो ।
अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले भने, ‘हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने छ ।’ 
रौहानीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले भनेको छ, ‘अमेरिकी अधिकारीहरू यो बुझेका छन् कि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन । इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरेपनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।’
अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्तिराष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्सलगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिंगटनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागु गरिएको जनाएको छ । 
अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ । वासिंगटनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दावी गरेको छ भने यसको तेहरानले खण्डन गर्नेगरेको छ ।

Related News