​इसाई समाजले मनायो अपांग विद्यार्थीसँग नयाँ वर्ष

धरान, १७ पुस । अग्रेजी वर्ष २०१८ को अवसरमा धेरैले आफ्नो घर, होटलमा भोज खाएर नयाँ वर्ष मनाए पनि धरान इसाई समाजले भने नयाँ वर्षको अघिल्लो दिन आइतवार धरान १६ स्थित सुस्तमनस्थिति  विद्यालय (वौद्धिक अपांगता)का विद्यार्थीलाई विभिन्न सामग्रीको उपहार दिँदै भोज खुवाएर मनाएको छ । 
विद्यालयको हलमा आयोजित एक कार्यक्रममा  समाजले सो विद्यालयमा अध्ययनरत ४९ जना वौद्धिक अपांग विद्यार्थीहरुलाई किताव राख्ने काठको  बाकस ५ थान, ठुलो ऐना ५ थान, पानी खाने ठूलो फिल्टर १ थान, खेलकुदका सामानहरु, म्याट लुगाहरुलगायत फलफूल वितरण गरेका थिए । सोही अवसरमा इसाई समाज धरानको स्थापनाकालदेखि नै समाजको हरेक क्रियाकलापको बारेमा सचारमाध्यमबाट प्रचार प्रसार गरी समाजको छविलाई उच्च पार्दै हौसला प्रदान गरेकोमा पत्रकार आनन्द श्रेष्ठलाई प्रमुख अतिथि समाजसेवी मणिराम श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको थियो । यसैगरी वीपी प्रतिष्ठानका ४ जना डाक्टरहरुलगायत १८ जनालाई सम्मानित गरेको थियो । समाजलाई सहयोग पु¥याउने १५ जनालाई मायाको चिनो पनि प्रदान गरेका थिए । 
सो समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानिसको पुत्र सेवा लिनलाई होइन सेवा दिनलाई आएको हो भन्ने वाईवलको वचनलाई दोहो¥याउँदै धरानको इसाई समाजले थालेको अपांगमैत्री यस्ता कामको अन्य संघ संस्थाहरुले पनि अनुशरण गर्नुपर्ने बताए ।   
विगत ४ वर्षदेखि धरानका विभिन्न अपांग विद्यालयहरुलाई हजारौ मूल्यका भौतिक सामग्रीको उपहार प्रदान गर्नुको साथै प्रितिभोज खुवाएर क्रिसमस र नयाँ वर्ष मनाउँदै आएको कुरा समाजका अध्यक्ष कमल हयुजले कार्यक्रममा जानकारी दिए । 
धरानका ईसाई गुरुहरु पर्शुराम गुरुङ, विसप ज्योति थुलुङ, नरहरी साम्पाङ राईले प्रार्थना गरी सुरु भएको सो कार्यक्रममा नेपाल अपांग महिला संघका संयोजक भीमा खतिवडा, सुस्तमनस्थिति विद्यालयका प्रधानाध्यापक शिला श्रेष्ठले पनि बोलेका थिए । 

Related News