हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ : प्रधानमन्त्री ओली

दृष्टि न्यूज

काठमाडौं । धेरै विवादको जन्म दिँदै विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था ‘युनिभर्सल पिस फेडरेसन’ ले आयोजना गरेको ‘एसिया प्यासिफिक समिट’ सकिएको छ । आफूलाई ‘जिससकी छोरी’ दावी गर्ने युनिफिकेसन चर्चकी प्रमुख हक जा हान –म्याडम मुन)का अघिल्तिर थुप्रै नेपाली नेतासमेत नतमस्तक देखिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने सभामुख कृष्णबहादुर महरासहित सरकारका थुप्रै मन्त्री, दर्जनौँ सचिव, देशका विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुखसमेत सहभागी थिए । त्यसोतः म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्र तथा सरकार प्रमुखसहित ५० देशका १५ सय प्रतिनिधि सहभागी थिए । 
समिटको सहआयोजकका रूपमा सरकार देखिएको, प्रधानमन्त्रीसहित उच्च नेतृत्वले आवश्यकताभन्दा बढी महत्व र समय दिएको जस्ता आलोचनासमेत भए । तर, समिटको उद्घाटन समारोहलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनालाई गर्विलो भाषणबाटै जवाफ दिए । प्रधानमन्त्री ओलीको भाषणको सार थियो, ‘हामीलाई हाम्रै संस्कृति, परम्परा र इतिहासमा गर्व छ ।’ बुद्ध जन्मेको देश नेपाल संसारको पुरानो सभ्यतामध्येको एक भएको सन्दर्भ चर्चा गर्दै प्रधानमन्त्रीले हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरू सिक्न सकिने भएकाले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने स्पष्ट पारे । कसैसँग नैतिक रूपमा आत्मसमर्पण नगरिने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले थपे, ‘भौतिक वस्तुहरूको अभाव हाम्रो समाजको केही हिस्साले अझै पनि भोगिरहेको छ । तर, यसको अर्थ यो होइन कि हामी नैतिकरुपमा नै आत्मसमर्पण गर्ने वा अरुको संस्कृति र मूल्य(मान्यतालाई नक्कल ‘अङ्गीकार’ गर्न आतुर छौं ।’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले अगाडि भने, ‘मलाई के विश्वास छ भने हिमालयमा अवस्थित यो प्राचीन शहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिहरूको जीवनलाई कसरी उज्ज्वल बनाउने भन्ने बारेमा धेरै सिकाउन सक्छ । हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ । हामीलाई के पनि विश्वास छ भने हामी विश्वलाई शान्ति, मित्रता र भातृत्वको विकासका लागि आवश्यक मूल्य र मान्यताहरु प्रदान गर्न सक्छौं ।’
प्रधानमन्त्रीले अंग्रेजीमा गरेको सम्बोधनको सम्पादित अंश ः
आज हामी इतिहासको त्यस्तो मोडमा छौं कि मानवजातिले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा धेरै संवेदनशील र अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको छ । विश्व इतिहासमा आजको समय अति नै शान्त कालखण्ड हो । अन्तरराष्ट्रिय व्यापार, भिन्न संस्कृतिहरु बीचको अन्तरक्रिया र प्रविधिको नवीनतम विकासले विश्व समुदायलाई अझ धेरै गहिरोसँग एकाकार गरेको छ ।
हामी एक्काइसौं शताब्दीका मानिसहरु छलफलका माध्यमबाट समाधान गर्न सकिने विश्वव्यापी समस्याहरुको निराकरण गर्दै विश्वभरिका मानिसहरुको जीवनस्तर माथि उठाउन सफल भएका छौं । साथै भविश्यमा अझ सहज जीवनको आशा गर्न सक्ने तहमा पुगेका छौं । तथापि, अनगिन्ति चुनौती र दिनानुदिन बढ्दै गएका समस्याहरुले हामीलाई सताइरहेका छन् र हाम्रो शिघ्र ध्यानको माग गरिरहेका छन् । गरिवी, अशिक्षा, र धेरै घातक रोगहरुको निदान भएपनि तिनीहरुले विश्भर लाखौं मानिसहरुको ज्यान जोखिममा पारिरहेका छन् ।
यहाँ यो उल्लेख गर्नु सान्दर्भिक हुन्छ कि हाम्रो जमीनको ६० प्रतिशत भूभाग बढ्दो तापक्रम न्यून गर्न उपयोग भैरहेको छ । यसरी हाम्रो हिमालय र बनहरुले वातावरणको दिगोपन कायम गर्न अतुलनीय योगदान गरेका छन् । तर, बिडम्बना कुनै गल्ती नै नगरेको समुदाय नै पर्यावरणीय समस्याबाट पीडित छन । यो स्वीकार्य छैन । त्यसैले हामी जलवायु न्यायसम्बन्धी सिद्धान्तको पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिन चाहन्छौं ।
मेरो विचारमा हाल विश्वले भोगिरहेका सबै समस्याहरुलाई समाधान गर्न तीनवटा प्रमुख बिषयमा ध्यान दिनुपर्छ । सबै राष्ट्रहरुबीच बहुपक्षीय सम्बन्धलाई बलियो पार्दै शान्ति र अन्तरनिर्भरतालाई कायम राख्ने, प्राकृतिक पर्यावरण र बासस्थानको रक्षा गर्दै विकसित र विकाशशील राष्ट्रहरुले आपसी समृदीलाई अघि बढाउने र संसारभरका मानिसहरुलाई विश्वव्यापी मूल्य र मान्यताबारे उपदेश दिने ।
भूमण्डलीकरणले हामी सबैलाई नजिक ल्याउने र आपसी सहकार्यको वातावरण सिर्जना गरेको छ । तर, यसले कतिपय अव्यक्त र उल्टा परिमाण पनि ल्याएको छ । भूमण्डलीकरणको परिभाषासँग नै मेल नखाने गरी यसले असमान मञ्चहरु निर्माण गरेको छ, जहाँ धेरै विकासशील राष्ट्रहरुको मूल्यमा प्राप्त लाभहरु ठूला र समृद्ध अर्थतन्त्र भएका मुलुकहरुले उपभोग गरिरहेका छन् ।
‘वसुधैवकुटुम्बकम’ मा आधारित हाम्रो समाजले मानवताप्रतिको हाम्रो ज्ञान उजागर गर्छ । संसार नै एउटा परिवार हो भन्ने यसको अर्थ हो । बुद्धको जन्मभूमि रहेको यो देशका हामी आफूभित्रै अरुलाई भेट्छौं । हामीलाई संसारकै सबैभन्दा पुरानो सभ्यताको हिस्सा भएकोमा गर्व छ । एशिया प्रशान्त क्षेत्र ज्ञानको ज्योति पहिलोपल्ट बलेको क्षेत्र हो । पुस्तौं पुस्तासम्म त्यो ज्ञान र एशियाली मान्यता कायम रहेकामा पनि हामीलाई गर्व छ । 

Related News