जाकिर हुसेनको तबला जादू

दृष्टि न्यूज

श्याम रिमाल । 
सङ्गीतको शक्ति कस्तो हुन्छ भन्ने पुराना कुराभन्दा  सङ्गीत सुनाइएका बोटविरुवा हलक्क बढ्ने तथा कुखुराले बढी अण्डा दिने र गाइवस्तुले राम्रो दूध दिने पछिल्ला अनुसन्धानले स्पष्ट गरेका छन् । सङ्गीतमा डुबेको व्यक्तिले ईश्वरसँग साक्षात्कार गर्न सक्ने कुरा त छँदैछ, उपयुक्त राग जस्तै मेघराग सुनाएमा पानी पनि पर्नसक्ने भनाइ पनि चर्चामा छ । शास्त्रीय सङ्गीतका माध्यम जस्तै एकतारे, सितार, तबला, सारङ्गी, हार्माेनियममा त्यो  शक्ति हुन सक्छ । पूर्वीय दर्शनमा हिँडेका नेपाल र भारतमा शास्त्रीय सङ्गीतका हस्तीहरुले हजारौँ वर्षदेखिको त्यो परम्परा कायमै राखेका छन् । पुरानामा शम्भुप्रसाद मिश्र, होमनाथ उपाध्याय आदिका शास्त्रीय सङ्गीतदेखि नेपाली सङ्गीत राजदूत सुरसुधा(विजय वैद्य, प्रेम राना औतारी र सुरेन्द्र श्रेष्ठ)को सितार, बाँसुरी र तबलादेखि अतुल गौतम र सरिता मिश्रको तबला, रुपा न्यौपानेको सितारसँग नेपाली समुदाय परिचित छ । 
भारतमा रवि शङ्करको सितारदेखि जाकिर हुसेनको तबलाको चर्चा छ(भारतमा जाकिर हुसेन नामका तेस्रा राष्ट्रपति पनि थिए)  । यी दुवै सङ्गीतज्ञले नेपाली समुदायमा पनि गहिरो छाप छाडेका छन् । यही मङ्सिर ११ गते ६७ वर्षीय विश्वप्रसिद्ध तबला वादक उस्ताद पद्मभूषण जाकिर हुसेनले नेपालमा फेरि तबलाको सङ्गीतबाट सयौँलाई मन्त्रमुग्ध बनाएका छन् । नेपालस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाए । यसअघि उनले सन् १९९७मा बाँसुरीवादक हरिप्रसाद चौरसिया र सन् २००१मा सारङ्गीवादक उस्ताद सुल्तान खानसँग मिलेर नेपालमा आफ्नो प्रस्तुति दिएका थिए । 
उनले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गरे भने सामान्य बोलीचालीलाई तबलाबाटै प्रस्तुत गरे । हुसेनलाई सारङ्गीबाट साविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णनले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए । सारङ्गी र ढोलकको तीव्रतासँगै हुसेनको तबला वादनको गति पनि तीव्र हुन्थ्यो । हात दुख्ने गरी र गल्ने गरी बजाएको  त्यो तबलाको ध्वनि र आवाजसँग स्रोताले पनि तालीले साथ दिएका थिए । चारै सङ्गीतकारहरु सङ्गीतबाटै आफू आफू कुरा पनि गर्थे । हुसेनको हात बेला बेला गल्थ्यो तर त्यसबेला उनी तीन सङ्गीतकारलाई उक्साउँथे र आफू अरुले थाहा नपाउने गरी आराम गर्थे जुन कुरा स्रोतालाई थाहा हुँदैनथ्यो । 
उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताए । भारतीय स्वतन्त्रता र नेपाल –भारत दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश, सभामुख, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायातमन्त्री, नेपाली काँग्रेस, नेकपा, राजपाका नेता, कलाकार, सङ्गीतकार, साहित्यकार, सञ्चारकर्मी तथा विद्यार्थीलगायत विभिन्न पेशाका झण्डै हजार व्यक्तिले  आनन्द लिए । नेपालले  पनि  सुरसुधाजस्तै सङ्गीत दूतहरु खडा गरेर विश्वमा आफ्नो सङ्गीतको जादू देखाउन सकेमा नेपालको कीर्ति विश्वभर फैलन सक्नेछ । हामीकहाँ ३० वटासम्म मादल तथा नाकले बाँसुरी बजाउने प्रतिभा नभएका होइनन् । मुर्चुङ्गा, बिनायो, आरबाजा, सारङ्गीजस्ता मौलिक बाजाका प्रतिभा थिए र छन् । तिनलाई विश्वमा लान सके विश्वले नेपाली संगीतको जादू पनि देख्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड जस्ता संस्थाले नेपाल भ्रमण वर्षमा तिनलाई सङ्गीतका दूत बनाएर पठाउन सके विश्वका पर्यटक नेपाल आई नेपालका सयौँ जादू देख्न पाउने थिए । भारतीय राष्ट्रगानका सङ्गीतकार  रामसिंह  ठकुरी र लता मङ्गेसकरलाई गीत गाउन लगाउने भोलाप्रसाद श्रेष्ठ नेपाली मूलका भएको(प्रकाश सायमीअनुसार) कुरा नबिर्साैँ । लता मङ्गेसकर, आशा भोस्ले, उषा मङ््गेस्कर, मेहदी हसन, गुलाम अली, जगजीत सिंह आदि नेपाली गीत गाउन कति लालायित थिए भन्ने हामीलाई जगजाहेर नै छ । 
shyam_rimal@yahoo.com

Related News