नेपालको जलविद्युत् विकासमा खुलेर लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

दृष्टि न्यूज


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा गत शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरेका हुन् ।
नेपालको जलविद्युत्मा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनीलगायत निकायले आफ्नो योजनाका आधारमा गर्न सक्ने मन्त्री पुनले बताए । उनले भने ‘इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आफूले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न पाउनेछन् । उनीहरुले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले त्यही अनुसार छलफल गरेर निर्णय गर्न सक्नेछ ।’
सन्तुलित क्षेत्रीय विद्युत बजारमा नेपालले विश्वास गर्ने सन्दर्भ जोड्दै मन्त्री पुनले भने ‘क्षेत्रीय सहकार्य र आवद्धताले नै दिगो क्षेत्रीय ऊर्जा विकासलाई सहयोग पु¥याउनेछ ।’  नेपालले ऊर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले सार्क फ्रेमवर्क सम्झौता तथा बिम्स्टेक (बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास)ग्रिड इन्टरकनेक्सन गरेको विषयमा पनि उनले जोड दिएका थिए ।
उक्त क्षेत्रीय विद्युत बजारका आधारमा नेपालमा जलविद्युत् विकासमा लगानी गर्न सकिने उनको भनाइ थियो । साथै, यिनै आधारमा टेकेर सार्क क्षेत्रका निकायले दिपक्षीय वा त्रिपक्षीय सम्झौतामा सम्बन्धित प्रसारण लाइनसमेत निर्माण गर्न सक्ने मन्त्री पुनले बताए ।
द्विपक्षीय तहमा नेपालले सन् २०१४ डिसेम्बरमा भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) गरेको सन्दर्भ पनि मन्त्री पुनले जोेडेका थिए । पिटिएकै आधारमा दुई देशका सरकारले प्रसारण आवद्धता, निर्माण तथा नीतिगत समानतामा काम गरिरहेको मन्त्री पुनको भनाइ थियो ।
फोरममा उपस्थित लगानीकर्तालाई आकर्षित गर्दै मन्त्री पुनले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिम्समा समझदारी गरेको पनि बताए । साथै, विद्युत विकास गर्न चीनसँग इनर्जी कोअपरेसनमा पनि समझदारी भएको उनले जानकारी दिएका छन् । यस्तै, बंगलादेशसँग पनि यही प्रकारको समझदारी भएको उनले जोडे ।
उल्लेखित दिपक्षीय तथा त्रिपक्षीय समझदारी तथा सम्झौता र देशको आवश्यकताका आधारमा नेपालले विद्युत विकासको लक्ष्य निर्धारण गरेको पनि मन्त्री पुनले बताए । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र ५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको पनि उनले फोरममा जानकारी गराएका थिए । विद्युत् निर्यात गर्न क्षेत्रीय बजार सुनिश्चित हुँदै गएको पनि उनले आश्वस्त गराएका थिए । 

Related News