​फेसबुकले नायिका बनायो- प्रेक्षा बज्राचार्य, नवनायिका

ग्लामर क्षेत्रमा सानैदेखि रुचि राख्दै आएकी प्रेक्षा बज्राचार्य अन्ततः रजतपत्रमा प्रवेश गरेरै छाडिन् । चलचित्र ‘जात्रा’बाट डेब्यू गरेकी प्रेक्षालाई अभिनय मात्र होइन, नाच्न र गाउन औधी मनपर्छ । युट्युवमार्फत आफ्ना क्रियशन प्रस्तुत गदै आएकी प्रेक्षा आईटी स्टुडेन्ट पनि हुन् । बहुप्रतिभाकी धनी उनै प्रेक्षासँग रेजिना पाण्डेले गरेको कुराकानी ः

चलचित्रमा कसरी प्रवेश गर्नुभयो ?
रवीन्द्रसिं बानियाँ जीले चलचित्रको कन्सेप्टसहित मलाई अफर गर्नुभयो । मैले स्क्रिप्ट पढेँ, राम्रो लाग्यो र तयार भएँ । 

रवीन्द्रजीसँग परिचय थियो ?
हामी फेसबुक फ्रेन्ड थियौँ । मैले युट्युुवमार्फत आफ्ना क्रियसन प्रस्तुत गर्दै आएकी थिएँ । त्यही हेरेर उहाँले मलाई अफर गर्नुभएको हो । 

एक्कासी त्यस्तो प्रस्ताव आउँदा कस्तो लाग्यो ?
शुरुमा पत्यार लागेन । सरप्राइज्ड भएँ । पछि थप कुराकानी हुँदै जाँदा सबै वास्तविकता नै बने । 

कस्तो खालका क्रियशन युट्युवमा राख्ने गर्नुभएको थियो ?
सांगीतिक । आफैँले बनाएका ¥याप म्युजिक भिडियो राख्ने गरेको थिएँ ।

चलचित्र जात्राले राम्रो व्यापार गरिरहेको छ, कस्तो लागेको छ ?
निकै राम्रो लागेको छ । पहिलो चलचित्रले नै यति राम्रो रेस्पोन्स पाउँदा खुसी नहुने कुरै भएन । दुई सातामा नै जात्राले आफ्नो लगानी उठाइसकेको छ । 

कहिल्यै सोच्नुभएको थियो, चलचित्रमा काम गर्छु भनेर ?
सोचेकी थिइनँ । 

चलचित्र हलमा पुगेर आफ्नो अभिनय हेर्दा कस्तो लाग्यो ?
धेरै फरक पाएँ । हामी मनोरञ्जन लिन्छौँ, तर क्यारेक्टरमा उभिएर अभिनय गर्ने काम गारो नै हुनेरहेछ । दर्शकलाई पूर्ण मनोरञ्जन गराउन कलाकार निर्देशकले धेरै मेहनत गर्नुपर्दो रहेछ । 

चलचित्र खेल्नुअघि नेपाली चलचित्र हेर्नु हुन्थ्यो ?
हेर्ने गरेको थिएँ । पछिल्लो समय धेरै नेपाली चलचित्र हेरेको छु । 

भविष्यमा सिने क्षेत्रमै लाग्ने सोच्नुभएको छ कि रहर मात्र हो ?
अब कुनै न कुनै रूपमा सिने क्षेत्रमै लाग्ने सोचेकी छु । 

तपाईं थान्का व्यपारीको छोरी हुनुहुन्छ व्यापार कस्तो छ नि थान्काको ? 
राम्रो छ, यो पेशामा मेरो बुबाले लामो समयदेखि काम गर्दै आउनुभएको छ । थान्काको आर्ट र कलाको व्यापार निकै राम्रो छ र बढेको पनि छ ।

तपाईंले बुबाको व्यपारमा कतिको सघाउने गर्नुभएको छ ?
सघाउने गरेको छु । आफ्नो व्यापारलाई त मर्न दिनु भएन नि ।

Related News