​अहिलेसम्म मन पर्ने भेटेकी छैन– अनु शाह, नायिका

दृष्टि न्यूज

एक दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय नायिका अनु शाहले हालसम्म २३ वटा चलचित्र र करिब ४ सय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।  थुप्रै विज्ञापनहरुमा समेत काम गरेकी अनुको अन्य नायिकाको जस्तो चर्चा हुने गरेको छैन । उनै अनुसँग रेजिना पाण्डेको जम्काभेट :   
आजभोलि चलचित्र र म्युजिक भिडियोमा तपाईंलाई खासै देखिन्न नि ? 
हो, आजभोलि फिल्म र म्युजिक भिडियोमा त्यति काम गरेकी छैन ।  युनिलिभरको  उत्पादनहरुको प्रचार प्रसारमा बढी व्यस्त छु । 
चलचित्रको कामलाई  छाडेर किन युनिलिभरको प्रचारप्रसारको कामतिर लाग्नुभएको ?  
काम त छोडेको छैन । कामको अफरहरु पनि छन् । विज्ञापन र नयाँ चलचित्रहरु गरिरहेको छु । बीचमा युनिलिभरको प्रचार प्रशारमा व्यस्त भएको मात्र हो । 
चलचित्रमा काम नपाएर त्यत तिर लागेको  भन्ने हल्ला छ नि ? 
होइन ।  मलाई कामको खाँचो पनि छैन । मलाई कामको प्रस्ताव नआएका पनि होइन, अब राम्रा किसिमका चलचित्र मात्र गरौं भन्ने मेरो उद्देश्य हो । जबसम्म दर्शकको माया र सिने क्षेत्रमा अग्रजहरुले काम दिनुहुन्छ तबसम्म अनु शाह कहिल्यै खाली बस्नु पर्दैन । 
तपाईले दुई दर्जन जति चलचित्रमा काम गर्नुभयो । तर  अधिकांश चल्न सकेनन्, होइन ? 
मैले खेलेका सबै चलचित्र राम्रो नै चलेको म मान्छु । मेरो पहिलो चलचित्र युगदेखि युगसम्म पनि दर्शकले रुचाएका थिए ।  चर्चा र प्रशंसा मेरो राम्रै भएको थियो । 
राम्रो चलचित्र बनाउनको लागि तपाईंको बिचारमा के चाहिन्छ ?
सिनेमाको बारेमा राम्रो ज्ञान हुनुहुन्छ । 
भविष्यको केही नयाँ योजना बनाउँदै हुनुहुन्छ कि ? 
हेरौैं ।  यही क्षेत्रमा लागियो,  अब यो ठाउँ छाडेर अन्त जाने भन्ने पनि छैन । यसै क्षेत्रमा केही न केही गर्ने सोच बनाएको छु । अब फिलम निमार्णतर्फ लाग्ने योजना छ । 
कस्तो खालको सिनेमा बनाउने सोच छ ? 
समय र दर्शकको चाहनाअनुसारकै सिनेमा बनाउने हो । 
निर्देशनतर्फ त रुचि छैन ? 
निर्देशन त  गर्न सक्छु जस्तो मलाई लाग्दैन । निर्देशक भनेको त्यो नाम हो, जसको सानो गल्तीले पनि नाम पल्टन सक्छ म त्यो गल्ती गर्न चाहन्नँ ।            
घरजमको बारेमा पनि केही सोच्नुभएको छ कि ? 
घरजम गर्ने उमेर नै भएको छैन, के सोच्ने ? आमाबुबाले बिचार गरिहाल्नु हुन्छ नि ।
मनपर्ने कोही छन् कि ?
छैन, अहिलेसम्म कसैलाई भेटेकी छैन । 
उसो भए बुबाआमाले छानेकै केटोसँग बिवाह गर्नुहुन्छ ? 
हो, आमा बुबाले छोरीलाई मन पर्ने खोज्नुहुन्छ भन्ने विश्वास छ । 
 

Related News