​हिन्दी गीतको तयारीमा छु- देविका प्रधान

सदावहार गायिका देविका प्रधानको गायनयात्रा  करिब ४ दशक पुगिसकेको छ ।  ‘परदेशी आई सोध्यो मेरो नाम’ बोलको गीत गाएर रेडियो नेपालबाट सांगीतिक यात्रा  सुरु गरेकी उनले ११ सयभन्दा धेरै गीत गाइसकेकी छिन् । उनै देविकासँग रेजिना पाण्डेको जम्काभेट: 
 हालै बुटवलमा एकल गायन यात्रा सम्पन्न गर्नुभयो,  आजभोलि धैरै नै एकल साँझ गर्नु हुन्छ नि ? 
दर्शक तथा स्रोताहरुको मायाकै कारण एकल साँझ गर्दै आएको हँु ।  बेलायतमा मात्र ६ वटा एकल साँझ गरे । अमेरिकामा नौ पटक र नेपालमा ६ पटक एकल साँझ गरेकी छु ।  दर्शकको मायाले नै यो अवसर पाएको हुँ । 
एकल साँझमा नेपालमा स्रोताहरु धेरै कि विदेशमा ? 
विदेशमा स्रोताहरु धेरै आउनुहुन्छ । पैसा तिरेर कार्यक्रम हेर्न आउनुहुन्छ, नेपालमा चाहिँ धेरै पासको अपेक्षा गर्नुहुन्छ ।   
एकल साँझमा कमाई कस्तो हुन्छ ?   
सबैभन्दा ठूलो कुरा हामी जस्तो गायक-गायिकालाई आयोजकले सम्झिएर एकल साँझ कार्यक्रम राखिदिनुहुन्छ ।  हामी आनन्दले एक थलोमा बसेर गाउन पाउँछौं । त्यही नै राम्रो कमाई हो । काम गरेपछि कमाई त भइहाल्छ ।  एकल साँझहरुबाट म एकदमै सन्तुष्ट छु । 
अरु व्यस्तता के छन् ? 
अन्य गानाहरु रेकर्डमा व्यस्त छु । एउटा हिन्दी गीत पनि गाउँदै छु ।  
विगतको तुलनामा आफ्नो चर्चा आजभोलि कम भएजस्तो लाग्दैन ? 
हो ।  सधैँ मैरै मात्र चर्चा भएर पनि  भएन नि ।  नयाँ–नयाँ गायक गायिकाहरु आइरहनुभएको छ । सबैले राम्रो काम गरिरहनु भएको छ  तर मलाई लाग्दैन कि मेरो चर्चा निकै कम भयो भनेर ।  अहिले त म झन देश विदेशसम्म गीत गाउन पुगेको छु । 
नयाँ एल्बमको पनि तयारी गर्नुभएको छ कि ? 
छैन । एकल एल्बम निकाल्ने भन्ने सोच मात्र बनाएको छु । अहिले अरु नयाँ पुराना संगीतकार रचनाकारको कलेक्शन एल्बमहरुमा गाइरहेको छु ।  
नेपालमा भन्दा कलाकारहरुले विदेशमा सम्मान पाउँछन् भन्ने छ नि हो ?  
हो यसमा हामीले धेरै नै खुशी मान्नु पर्छ । एउटा नेपाली कलाकारलाई जहाँ भएपनि नेपालीले माया गर्छ भन्ने यो प्रमाण पनि हो । विश्वभरी भगवान जस्ता स्रोता पाएकोमा गर्व पनि लाग्छ । 
अहिले एउटा गीत गाएबापत कति लिनुहुन्छ ?
२० हजार रुपैयाँ लिन्छु । तर, सबैलाई यही भन्ने  हुँदैन । कसैले मेरो बजेट कम भयो भने पनि हेरेर लिन्छु ।  
चलचित्रहरुमा चाहिँ तपाईको गीत सुनिन छाडेको छ  नि ? 
नभ्याएर नै हो । आफ्नै कामहरुमा व्यस्त छु । फिल्महरुमा नयाँहरुले पनि अवसर पाउनुप¥यो नि । 
अरुको गीतहरु चाहिँ कत्तिको सुन्नुहुन्छ ? 
सुन्छु भ्याएसम्म । नयाँपुस्ताको गीतहरु सुन्न मलाई साह्रै मनपर्छ । रजिना रिमाल, मिलन अमात्य मलाई अहिलेका मन पर्ने गायिका हुन् । 

Related News