​कलाकार राज्यबाट उपेक्षित छन्– ज्ञानु राना, वरिष्ठ गायिका

ज्ञानु राणा, नेपाली संगीतिक क्षेत्रको एउटा विराट प्रतिभा, एक मुर्धन्य स्रष्टा । कुनै परिचयको आवश्यकता नपर्ने नाम । कयौँ अजर, अमर,  कालजयी गीत छन्, यिनको नाममा । यिनको कोकिलकण्ठबाट मन्त्रमुग्ध नहुँने सायदै कोही होला । ३५०० भन्दा बढी आधुनिक, लोक र भजनमा आवाज भरेकी गायिका राणा अहिले ललितकला क्याम्पसमा लोकगीतसम्बन्धी परीक्षा दिने काममा सक्रिय छन् । बाबु धर्मराज थापाको प्रेरणाले बाल्यकालदेखि गायन क्ष्ँेत्रमा लागेकी ज्ञानु राणाको अन्ततः त्यसैलाई जीवन कर्म बनाइन् । ६९ वसन्त पार गरिसकेकी यी विराट प्रतिभासँग रेजिना पाण्डेले गरेको संवाद । 

संगीतमा लागेर के पाएँ जस्तो लाग्छ ? 
मनको आनन्द र सन्तुष्टि ।

यति मात्र हो र ?
त्यसोत ः कागजका सम्मान पत्रहरू र सजावटका धेरै सामग्री पनि पाएकी छु । 

किन यति भावुक जवाफ नि ? 
मलाई यस्तै लाग्छ । अरु केहि पाउँछु भन्ने आशा कम छ । कलाकारहरू  देशका गहना हुन् भनिन्छ । तर, धेरै स्तरीय सजर्कहरूको गम्भीर र दयनीय अवस्था देख्दा दुःख लाग्छ । यसले पनि मन खिन्न बनाउँछ । 

कलाकारको त्यस्तो दयनीय अवस्था छ र ?
बिरामी हुँदा उपचारको त कुरै छाडौँ, अन्त्येष्टि गर्ने पैसा नहुँदा हामी कलाकारहरूले नै कार्यक्रम गरेर शव जलाएका पनि छौँ । लालबहादुर खाती, सुन्दर श्रेष्ठ जसलाई सदा राज्यले बेवास्ता नै ग¥यो । उमेर भइसक्यो, हाम्रो अवस्था पनि त्यही नै हुन्छ कि भन्ने डर लाग्छ ।

भनेपछि सरकारले कलाकारलाई सम्मान र संरक्षण गर्न सकेको छैन ?
हो । राज्यले कलाको महत्व बुझेन जस्तो लाग्छ । कलाको महत्व बुझेको भए कलाकारको सम्मान र संरक्षणमा ध्यान जान्थ्यो होला । गणतन्त्र आएपछि सरकारको सम्मान र संरक्षणमा सून्य सहभागीता छ । राजतन्त्र रहेका बेलामा यस्तो थिएन । केही हदसम्म भए पनि कलाकार बाँचेका थिए । अहिले न निजी क्षेत्रको मात्र भर छ । 

यो क्षेत्रमै नलागेको भए हुन्थो भन्ने निराशा कहिल्यै आएको छ, जीवनमा ?
त्यस्तो त कहिल्यै भएन । म संगीतकै लागि जन्मिएकी हुँ जस्तो लाग्छ । संगीत नहुँदो हो त सायद मेरो जीवन पानीबिनाको माछा जस्तै हुन्थ्यो ।
 
यतिखेर चाहीँ के गर्दै हुनुहुन्छ ?
बाँसुरी गुज्जँन भन्ने भजन संग्रह गरिरहेको छु । साथै, यसको भिडियो बनाउने काम भइरहेको छ ।  

तपाईले लोक, आधुनिक, भजन, चलचित्र विधामा गीत गाउनुभएको छ । तपाईंको आफ्नो रुचि चाहीँ के मा छ ?
सबैथरी गीत गाउन रमाईलो लाग्छ । भजन र लोकगीत म अझ आनन्द लिएर गाउने गर्छु । 

आगामी योजना के छन् ?
बुबा धर्मराज थापाका लोकगीतहरूलाई रिमिक्स गर्ने सोच बनाउँदै छु ।

किन ?
बुबाका सदाबाहर गीतहरूलाई अहिलेको पुस्ताले पनि सुनुन् भन्ने उद्देश्यले र जीवित राख्ने उद्देश्यले यो काम गर्न लागेको हुँ । अहिले पुराना गीत बज्न छोडेका छन् । पुराना कलाकारहरू योगदान ओझेलमा परेको छ । त्यसैले बुबाका गीतलाई नयाँ तरिकाले बजारमा पुनः ल्याउन सकियो भने एउटा सर्जकले सम्मान पाउँछ कि भनेर हो । 

रिमक्सले ओर्जिनल गीतहरू बिगारेको आरोप छ नि ?
त्यसको उद्देश्यमा भर पर्छ । पुराना गीतका स्रष्टा बाँचुन भन्ने उद्देश्यले रिमिक्श गरिएको हो भने त्यसले ओर्जिनल गीत मर्दैन । तर, गीतको अंगभंग नै बिगारेर बेरूप बनाइयो भने चाहीँ तपाईंले भनेको कुरा लागू हुनसक्छ । 

गीत गाउन हिजोआज कतिको अफर आउँछर ?
कसले सम्झन्छ र अब हामीलाई ? अवसर आए अहिले पनि गाउन सक्छु जस्तो लाग्छ । तर, संगीतमा नयाँ पुस्ताको बाहुल्यता रहेकाले हामी पुरानालाई सम्झिनेहरू छैनन् । मेरो रहर पनि छ नयाँ संगीतकर्मीहरू सँग काम गर्ने । हेरौँ के हुन्छ । 

त्यसबेला र अहिलेको समयमा के फरक पाउनुभएको छ ?
धेरै फरक पाएकी छु । जुनबेला मैले गीत गाउन थालेँ, त्यो बेला महिलालाई यो क्षेत्रमा आउन धेरै गाह्रो थियो । नाँच्ने गाउने भनेको धेरै परको कुरा थियो । नानाथरी, नचाहिँदा कुराहरू सुन्नुपर्दथ्यो । कुलघरान नै बिगारे अब छोरीलाई नाँच्न गाउन लगाएर भन्ने कुरा सुन्नुपथ्र्यो । तर, अहिले धेरै सजिलो छ । महिलाहरू पनि स्वतन्त्र भएर काम गर्न पाएका छन् । 

तपाईंलाई मनपर्ने गायक गायिका ?
मेरो पालाका दिलमाया खाती, बच्चु कैलास, नारायण गोपाल । अहिलेका अन्जु पन्तका  गीत राम्रो लाग्छन् ।

Related News