जनसंगठनहरुको अघोषित मृत्यु

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ
जनता एकातिर तथा राजनैतिक दलहरु अर्कोतिर हुन थाल्नु भनेको देशको लागि खतराको संकेत हो । राजनैतिक दलहरुले जनताको आवाज वोक्नु पर्ने हो । राजनैतिक दलहरुले जनताको समस्या वोक्नु पर्ने हो । राजनैतिक दलहरुले नै जनताका दुख पीडामा साथ दिनु पर्ने हो । राजनैतिक दलहरुले नै जनतालाई उनीहरुका समस्याहरु समाधान गर्ने उपाय दिनु पर्ने हो । जनताका समस्या बुझ्न र त्यसको समाधानका लागि उनीहरुलाई संगठित गर्दै सही उपाय सहित अघि वढाउन राजनैतिक दलहरुले विभिन्न जनवर्गीय संगठनहरु वनाउने गर्दछ । यस्ता जनवर्गीय संगठनहरुलाई राजनैतिक दलहरुका मुख्य आधारको रुपमा लिइने गरिन्छ । तर यस्तो महत्व वोकेका जनवर्गीय संगठनहरु अहिले नाम मात्रका रहन गएका छन् र अघोषित मृत्युको बरण गर्न थालेकाछन् ।
सत्ताधारी नेकपाका र प्रतिपक्षी कांगे्रसका जनवर्गीय संगठनहरु कुनै वेला उर्जाशील थिए । जनताका आवाज, दुख पीडा र वेदनाका भाषा वोल्दथे ती जनवर्गीय संगठनहरुले । पंचायती प्रजातन्त्र भनिएको व्यवस्था फासिष्ट तानाशाही व्यवस्था हो भनेर ती जनसंगठनहरुले नै जनतालाई सिकाउँथे । राजा भगवानको अवतार नभएर शोषक सामन्त हो र त्यसकै कारणले देश गरीव कंगाल भएको राजनैतिक रहस्य जनताको घर दैलोमा पु¥याउने काम पार्टीको तर्फवाट ती जनवर्गीय संगठनहरुले नै गर्दथे । पार्टीमाथि प्रतिवन्ध भएपनि र जनवर्गीय संगठनहरुमाथि पनि दमन जतिसुकै भएपनि ती जनवर्गीय संगठनहरुले जनताको लागि विभिन्न खाले संघर्षका कार्यक्रमहरु अघि वढाएर सत्ताधारीहरुलाई चैनको सास फेर्न दिंदैनथे । माओवादीका जनवर्गीय संगठनहरुले पनि जनताको आवाज बुलन्द गर्दै तात्कालिन सत्ताका विरुद्ध धावा वोल्ने गर्दथ्यो । तर अहिले जनवर्गीय संगठनहरु मृत प्राय स्थितिमा रहेको देखिन्छ । 
अहिलेका जनवर्गीय संगठनहरुले जनताको आवाज वोल्न छाडेर नेताहरुको पिछलग्गु वन्न थालेको देखिन्छ । जनवर्गीय संगठनहरु आफै पनि गुटवन्दीको रोगले ग्रस्त वनेको छ । जनताको लागि संघर्ष गर्नु भन्दा पनि आफ्नो साघुरो गुटको लागि आफुहरु विच मै झगडा गर्दैमा जनवर्गीय संगठनका नेताहरुलाई फुर्सद नभएको जस्तो देखिन्छ । जनवर्गीय संगठनहरु जनताका समस्या वोकेर संघर्षको मैदानमा अघि वढ्नु भन्दा पनि नेताहरुको गुटवन्दीका औजारमा रुपान्तरीत हुन पुगेको देखिन थाल्नु दुर्भाग्यको विषय हो । 
माओले क्रान्तिपछिका दिनहरुमा पार्टी सत्तामा रहेपनि जनवर्गीय संगठनहरुले जनताका समस्या, दुख, पीडाहरुलाई प्रतिनिधित्व गर्दै आफ्नै पार्टीको सरकारले गल्ति गरेमा त्यसका विरुद्ध पनि आन्दोलन गर्न तयार रहनु पर्दछ भन्नु भएको थियो । तर यहाँ जनवर्गीय संगठनहरु व्यक्तिगत स्वार्थ पूर्तिको साधन वन्न लागेको देखिँदैछ । यसले जनवर्गीय संगठनहरुलाई अघोषित मृत्यु तर्फ लगिरहेकोछ । 
जनवर्गीय संगठनहरुले जनताका समस्यालाई लिएर आवाज नउठाउनु भनेको राजनैतिक दलहरु जनतावाट कटिंदै जानु हो । जनता एकातिर र दलहरु अर्कोतिर हुन थाल्नु भनेको देशको दुर्भाग्यको शुरुवात हो । जनतामा आफ्नो आवाज वोक्ने संगठन र दलहरुको अभाव महशुस हुन थाल्नु भनेको जनतामा निराशा फैलनु हो । यसले देशलाई अगाडि लान कदापी सहयोग गर्दैन । जनवर्गीय संगठनहरु भनेको भावि नेतृत्व विकास गर्ने थलो पनि हो । तर यी संगठनहरु नै जनतावाट कटिन थाल्ने हो भने भावि नेतृत्वको पनि सही विकास हुन सक्दैन । तसर्थ दलहरुले आफ्ना जनसंगठनहरुलाई नयाँ धरातलमा नयाँ तरिकाले जनताका आवाज उठाउन सक्षम संगठनको रुपमा विकास गर्न ढिलाई गर्न हुँदैन । 

Related News