​जापानमा विदेशी कामदार लिनेबारे विधेयक स्विकृत

दृष्टि न्यूज

टोकियो, (एजेन्सी) । जापानको मन्त्रिपरिषदले विदेशी कामदार लिनेबारे मस्यौंदा विधेयक स्विकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले शुक्रबार विवादास्पद विधेयक स्विकृत गरेको हो । 
उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दलसहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले विरोध गरेका छन् । उक्त विधेयक विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । जापानी उद्योगी एवं व्यवसायीहरुले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन् । 
श्रमिक कामदारको अत्यन्त कमि रहेका क्षेत्रका लागि सीपयुक्त कामदार झिकाउन यो विधेयकले सहयोग गर्नेछ । विधेयकमा विदेशी कामदारलाई पाँच वर्षको भिसा दिइनेछ, तर उनीहरुका परिवारलाई सँगै ल्याउन दिइने छैन । 
राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषा परीक्षामा राम्रो अंक ल्याउने विदेशी कामदारले यस्तो भिसा प्राप्त गर्ने व्यवस्था विधेयकमा छ । प्रधानमन्त्री आबेले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री आबले सांसदहरुसँग छलफल गर्दै जापानले श्रमिकको कमि रहेका क्षेत्रमा मात्र यो पछिल्लो व्यवस्था लागू हुने बताएका छन् । 
यो वर्षको अन्त्यसम्ममा विधेयक स्विकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ । यसअघि जापानमा उच्च सीप भएका कामदारलाई मात्र भिसा दिने गरिएको छ । व्यवसायीहरुले केही खुकुलो आप्रवासी नियमका लागि लामो समयदेखि निरन्तर पहल गरिआएका थिए । 

Related News