​जापानमा वर्षाका कारण १०० को मृत्यु, प्रधानमन्त्रीको भ्रमण स्थगित

दृष्टि न्यूज

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा एक सय जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । 
उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । 
सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित ःथानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 
यसैबीच सोमबार जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण स्थगित गरेका छन् । उनले बुधबारदेखि विभिन्न चार देशको भ्रमण गर्दैथिए । उनी बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट भ्रमणमा जान लागेको बताइएको छ ।

Related News