​जातीयताको आगोमा संघीयता घीऊ

दृष्टि विश्लेषण/ काठमाडौं, १२ पुस । जातीय घृणा र द्वेष बढाउने योजनावद्ध घटनाले रक्तरञ्जित इतिहास बोकेका सँसारका धेरै देशहरू आजपर्यन्त कलंकित इतिहासबाट झस्किन्छन् । रगत पखालिएको छ तर हिंसापीडितका सन्तान दरसन्तानमा पीडा बल्झिरहन्छ । चाहे त्यो श्रीलंकाको जातीय हिंसा होस् या रूवाण्डाको नरसंहार नै किन नहोस् । संघीयताका कारण विभाजन खेपेको इथियोपिया नै किन नहोस् । बाह्य शक्तिले थोपरेको जातीयताको भारीले रक्तपातसँगै सामाजिक एकता भाडभैलो मात्र पारेन देशहरूलाई विभाजनको अवस्थासम्म पु¥यायो । कुनैबेला उपनिवेश खडा गरेका शक्तिशाली देशहरूले स्रोतको दोहोन र प्रभाव बढाउन कमजोर देशहरूमा भाडभैलो मच्चाउने गरेका छन् ।
कुनैबेला उपनिवेशबाट राज गर्न पल्केकाहरू रणनीति बदल्दै आन्तरिक विभाजनबाट लाभ लिन खोजिरहेछन् । शान्तिको गफ हाँक्दै हिंसा मच्चाउन बन्दुकको व्यापार गर्ने, समृद्धीको नारा उराल्दै अर्काको देशको स्रोतमाथि प्रभुत्व जमाउने र स्थायित्वमा जोड दिदै अस्थिरता मच्चाउनेहरू सिंहदरबार देखि गाउँ तहसम्म एजेन्ट तयार गरी आफ्नो योजना सफल बनाउन लागिपरेका छन् ।
तिनले विगतमा अफ्रिका र एशियाका कतिपय देशहरूमा हिंसा मच्चाउन जे जस्ता उपाय अबलम्बन गरेर प्रभुत्व स्थापित गरेका थिए नेपालमा त्यही शैली अपनाउँदैछन् । देशलाई दाउमा राख्दै राजनीतिक महत्वाकांक्षा पूरा गर्न केही नेताहरू विदेशीको लहलहैमा लागिरहेछन् । सदीऔं देखि मिलेर बसेका जाति र समुदायबीच घृणा फैलाउ‘दै
छन् । समस्या समाधान गर्न कुसंस्कार बदल्नुपथ्र्यो । तर, सुसंस्कार मेटेर देशमा थप समस्या सृजना गरियो । जातीय पहिचानसहितको संघीयताको नारा घन्काएर माओवादी नेताहरू प्रचण्ड र बाबुरामले सोझा जनतालाई भ्रमित पारे । बिडम्बना, तिनको लहलहैमा काँग्रेस र एमालेका नेताहरू समेत लागे । अहिले जातीयता र अन्धाधुन्दा विभाजन गरिएको प्रदेशले तिनलाई नै टाउको दुखाइरहेछ । विदेशी भूमीमा बसेर देशमाथि जेहाद छेडेका कथित सर्वहारा प्रचण्डलाई त देशको बर्बादीसँग कुनै पर्बाह छैन । रूवाण्डामा दश लाख र श्रीलंकामा आधा लाखको नरसंहार हुने गरी भएको प्रयोग नेपालमा भित्राउन खोजिदैछ । इथियोपियाको जस्तो विभाजनबाट लाभ लिन खोज्ने शक्तिको स्वार्थ उत्तिकै छ । बलिया बाह्य शक्तिले कमजोर देशको बर्बादीमा आफ्नो उन्नति कसरी देख्छन् भन्ने विश्वका धेरै घटना साक्षी छन् । 
बीसौं शताब्दीको अन्तिम दशकपछि जातीय द्वन्द्वले विश्वका कतिपय देशहरूमा हिंसा मच्चियो । शितयुद्धपछिको विकसित घटनाक्रम अन्र्तगत इथियोपिया गृहयुद्धमा फस्यो । जातीय द्वन्द्वको परिणती थियो त्यो हिंसा । माथिल्लो भू–भागका इथियोपियाली र तल्लो भू–भागका इरिट्रियालीबीच जातीय घृणाले विभाजनको रूप लियो । जातीय पहिचानको इतिहास लामो रहेपनि घृणा र द्वन्द्व दोस्रो विश्वयुद्धपछि बढ्दै गयो । बलिया देशहरूले एशिया र अफ्रिकाका देशहरूमा उपनिवेश खडा गरेका थिए । सहज तरिकाले प्रभुत्व बनाउन एक जातिलाई प्रयोग गरी अर्को जातिलाई दबाएका थिए । तिनै बाह्य शक्तिले प्रत्यक्ष उपनिवेशको साटो अप्रत्यक्ष उपनिवेश अर्थात् प्रभाव कायमै राख्न जातियताको मुद्दालाई उचाले । विशेषगरी पश्चिमाहरूले रणनीतिक रूपमा जातीय मुद्दालाई उचालेका थिए । इरान, इराक र टर्कीमा कुर्दहरूले आत्मनिर्णयको अधिकारसहितको प्रदेश मागेर द्वन्द्व चर्काए । कुर्दहरूमाथिको विभेद र दमन गम्भीर विषय हो । तर, कुनैबेला अन्य समुदायसँग मिलेर बसेका कुर्दहरूलाई भड्काउने काम बाह्य शक्तिले गरेकै हो । श्रीलंकामा सिंहाली र तामिलबीचको द्वन्द्वमा आन्तरिक समस्यामात्र कारण थिएन । बाह्य शक्तिको भूमिका उत्तिकै थियो । पश्चिमाहरूले त्यहाँको द्वन्द्वमा खूबै चलखेल गरे । दक्षिण एशियाको शक्ति भारतले पनि श्रीलंकाको द्वन्द्वबाट लाभ लिन खोज्यो । तर, त्यो उसका लागि घातकसिद्ध भयो । तामिल आतंककारीले उसका बहालवाला प्रधानमन्त्री राजीव गान्धीको आत्मघाती बम हमलाबाट हत्या ग¥यो । युरोपेली देशहरूमा सम्पर्क कार्यालय राखेर तामिलहरूले श्रीलंकामा आतंक मच्चाए । जातीय अधिकारको नाममा तामिलहरूले अलग देश बनाउन खोजे । सिंहालीहरू आफूलाई धेरै अघि देखि बसोबास गर्दै आएको दाबी गर्थे र तामिलहरूलाई विदेशीको व्यवहार गर्थे । बहुसंख्यक सिंहालीले अल्पसंख्यक तालिमहरूलाई शासनसत्तामा कमजोर बनाएका थिए । जातीय द्वेष बढ्दै गयो । मिलेर बसेका जातिहरूबीच सन् १९५६ यता विभाजनको रेखा कोरिदै हिंसामा बदलियो । हजारौंको ज्यान जाने गरी तीन दशक हिंसात्मक द्वन्द्व चल्यो । हिंसात्मक कारबाहीबाट तत्कालीन राष्ट्रपति महीन्द्रा राजापाक्षेले तामिल विद्रोहीलाई निमिट्यान्न पारे । हिंसात्मक जातीय द्वन्द्वको अन्त हिंसाबाटै भयो । युरोपेलीहरू श्रीलंकाको सैनिक कारबाहीमा मानवअधिकारको गम्भीर हननको विषय उठाइरहेछन् । तर, उनीहरूले नै अप्रत्यक्ष शैलीले जातीय द्वन्द्वलाई मलजल दिएका थिए । श्रीलंकाको घटनामा नर्वेको भूमिका विवादास्पद रह्यो । राजापाक्षेले नर्वेको भूमिकासुन्य बनाएर तामिल टाइगरमाथि सैन्य कारबाही गरी गृहयुद्ध अन्त गराएका थिए । 
बेल्जियनहरूले रूवान्डाको गृहयुद्धको बीऊ रोपेका थिए । हुटु र टुट्सी भिडाउने योजनावद्ध रणनीति चालेका थिए । रूवान्डामा हुटु र टुट्सी मिलेर बसेका थिए । हुटुले धन आर्जन गरेर आफूलाई टुट्सीमा परिणत हुनसक्थ्यो । दुवै जातिबीच विवाह हुन्थ्यो । संस्कृतिमा समानताहरू थिए । नेपालमा जस्तै सदीऔं देखि मिलेर बस्दै आएका जातिलाई बेल्जियनहरूले विभाजित बनाइदिए । योजनावद्ध तरिकाले गराइएको विभाजनले घृणाको रूप लिदै मानव सभ्यतालाई कलंकित बनाउने गरी हिंसा मच्चियो । बोस्नियामा सर्ब र क्रोयट्स मिलेर बसेका थिए । मुसलमानहरूलाई समेत आफ्नो समुदायको ठान्थे । तर, दोस्रो विश्वयुद्धपछि विभाजनको रेखा कोरिदै शितयुद्धपछि जातीय हिंसा मच्चियो । यसमा बाह्य शक्तिको भूमिका मुख्य थियो । पूर्व युगोस्लाभिया जातीय द्वन्द्वले विभाजित भयो । जातीय द्वेष र घृणाको परिणाम थियो सोभियत संघको विभाजन । त्यहाँ भिन्न जातिले पहिचानलाई आधार मान्दै विभाजनको रेखा कोरे । मस्को कमजोर भएको मौकामा जातीयताका आधारमा सोभियत संघ विभाजित भयो । 
सन् १९६७ सम्म बेलायती उपनिवेश थियो दक्षिणी यमन । उत्तरचाहिं तुर्क साम्राज्यको नियन्त्रणमा थियो । स्वतन्त्रतापछि दक्षिणमा कम्युनिष्ट र उत्तरमा परम्परावादी पद्धतिको शासन चल्यो । दुवै देश गरिबीले थलिएका थिए । सीमा विवादले युद्धको रूप लियो । असहमतिलाई सदाका लागि अन्त गर्न २२ मे सन् १९९० मा एकीकरणको सफलताका साथ गणतन्त्र यमनको जन्म भयो । यमनलाई शान्त र समृद्ध देश बनाउने संकल्पसहित भएको एकीकरणपछि संकट झन् गहिरियो । बाह्य शक्तिको ठाडो हस्तक्षेपले आन्तरिक राजनीति खलबलिइरह्यो । भिन्न जाति, क्षेत्र र समुदायका जनतालाई विदेशीले उकासेर स्वार्थ पूर्ति गर्न खोजे । सन् १९९४ मा यमन तीन महिना लामो गृहयुद्ध भोग्यो । विभाजनको प्रयासमा लागेका दक्षिणका अल्पसंख्यक पराजित भएपछि अन्त भएको गृहयुद्धले जटिल संक्रमणकाल ल्यायो । आन्तरिक द्वन्द्व चलिरह्यो । उत्तरले दक्षिणमाथि शोषण गरेको र स्रोतमाथि एकलौटी कब्जा जमाएर दक्षिणका नेता र जनतालाई अधिकारविहिन र कमजोर बनाएको सन्देश प्रभाव हुनुले द्वन्द्वलाई मलजल दियो । सत्ताधारीहरूले उत्तरका समर्थकलाई दक्षिणका भूमीमाथि कब्जा गर्ने रणनीति कार्यान्वयन गरे । दक्षिण समर्थकले उत्तरले आफूहरूको भूमी कब्जा जमाएको भन्दै विरोधका आवाज चर्काए । आन्तरिक खिचातानीले उत्तरी यमनको पहाडी क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक हुथी विद्रोहीलाई ऊर्जा मिल्यो । यसमा सामरिक स्वार्थले निर्देशित बाह्य शक्तिको भूमिका रह्यो । सन् २०१५ मा आएर सत्ता उल्टाउने हुथी विद्रोहीको कदमले यमनमा आन्तरिक ध्रुवीकरण बढ्यो । यमनको सत्ता संघर्षलाई लिएर अन्तर्राष्ट्रिय जगत् पनि विभाजित भयो । यमनसँग लामो सीमा जोडिएको मध्यपूर्वको शक्तिशाली देश साउदी अरेबियाले परम्परागत सत्तालाई पुर्नस्थापना गर्ने कदम चाल्यो । मध्यपूर्वमा साउदी अरेबियाको मुख्य प्रतिद्वन्द्वी इरान चाहिं सामरिक स्वार्थका कारण लाभ हासिल गर्न सक्रिय भयो । यमन झन् हिंसामा फस्यो । एकातर्फ दक्षिण र उत्तरबीचको विभाजनकारी सोच अर्कोतर्फ उत्तरका हुथीहरूको सत्ता कब्जाको रणनीतिसँगै नेताहरूको पूर्वाग्रही व्यवहारले यमन असफल देशमा परिणत हुँदैछ ।
जातीय विभाजन सँसारमा सबैभन्दा घातक प्रमाणित भएको छ । पहिलो र दोस्रो विश्वयुद्धमा भन्दा बढी मान्छे जातीय द्वन्द्वमा मारिइसकेको तथ्यांक छ । बलिया देशहरूले कमजोर देशलाई अस्थिर बनाउन त्यहाँको जातीय भावनामाथि खेल्छन् । जातीय समुदायबीच योजनावद्ध तरिकाले घृणा जगाएर लडाउन र भिडाउने गर्छन् । नेपालमा जातीय विभाजनको आगोमा संघीय प्रणालीको अर्को घीऊ थपेको छ । यो प्रणाली आफैमा खराब चाहिं होइन । तर, जुन तरिका र नियतले जातीय पहिचानको मुद्दा र बहुसंख्यक जाति रहने गरी प्रदेश निर्माणको प्रपञ्च प्रचण्ड र देउवाले रचेका छन् ।  त्यसले खतरनाक अवस्था निम्त्याउँदैछ । 

Related News