जयाको ‘भर्जिनिया उल्फ र आँसुका फूल’

काठमाडौं, १९ कात्तिक । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई नयाँ कृतिका साथ नेपाल आएकी छन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्रा–कृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कवि, मुन्दुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले   विमोचन गरे ।  

गद्य लेखनमा जयाको पकड बलियो रहेको उल्लेख गर्दै कवि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न स्थानको भ्रमण, घटना र परिवेशहरूको लोभलाग्दो चित्रण गरेकी छन् । यसकारण उनका नियात्राहरू पठनीय छन् ।’

साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालले जयाको लेखन सरल र सहज हुनुुका साथै उनमा कुशल संगठक र व्यवस्थापकीय क्षमता पनि राम्रो रहेको बताए । प्राज्ञ डा. अमर गिरीले प्रवासमा बसरे नेपाली भाषा एवं साहित्यको क्षेत्रमा उल्लेखनीय कर्म गरिरहेकी जयाको लेखनी प्रभावकारी रहेको भन्दै उनका नियात्राले पाठकलाई सूचना र ज्ञानका साथै कलात्मक आनन्द प्रदान गर्ने दावी गरे । प्राज्ञ डा. ज्ञानू पाण्डेले यस संग्रहका नियात्रा निबन्ध प्रतीकात्मक र विम्बात्मक रहेको बताइन् । 

भुँडीपुराण प्रकाशनले छापेको यस कृतिमा ‘च्याउ टिप्ने निम्ता’, ‘एअर ओमानमा यात्रुको हुर्मत’, ‘शेक्सपियरको घरमा पाहुना’, ‘भर्जिनिया उल्फ र आँसुका फूल’लगायत १५ वटा निबन्ध समाविष्ट छन् । 

Related News