​जिफन्टमा महिला सदस्यता उल्लेखनीय रुपमा बृद्धि

दृष्टि न्यूज

काठमाडौं,  २५ फागुन । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले सातौं राष्ट्रिय श्रमिक महिला सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा देशभरीबाट झण्डै ३ सय महिला र पुरुष प्रतिनिधि सभागि थिए । सम्मेलनले जिफन्ट अन्तर्गतको नयाँ महिला कमिटी चयन गरेको छ । 
यसअघि सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले ट्रेड युनियन आन्दोलनमा महिला सहभागिता बृद्धि गर्न सुरु गरिएको अभियान २५ बर्ष पुगेको र सो अभियानले महत्वपूर्ण उपलव्धी हासिल भएको बताउनुभयो । उहाँले महिला कमिटी बनाउन सुरु गर्दा नेतृत्वमा महिलाको प्रतिनिधित्व शुन्य रहेको हुनाले त्यसलाई बृद्धि गर्दै लैजान हरेक महाधिवेशनमा ५ प्रतिशतमहिला सदस्यता बृद्धि गर्ने लक्ष्य राखिएको स्मरण गर्नुभयो । यसले २५ बर्षभित्रमा उल्लेख्य प्रगति हासिल भएको भन्दै अध्यक्ष रिमालले हाल जिफन्टमा महिला सदस्यको संख्या गर्व गर्न लायक स्थीतिमा पुगेको बताउनुभयो । आगामी दिनमा यो अझ बृद्धि हुँदै जाने अपेक्षा पनि उहाँले प्रकट गर्नुभयो । 
सुरुवातको जिफन्टको महिला विभागको प्रमुख दोश्रोे पटक पुनः राष्ट्रपति हुन लाग्नु भएको भन्दै अध्यक्ष रिमालले जिफन्टले नेतृत्व तहमा आउने महिला केवल आलंकारिक मात्र नभई, क्षमतावान छन् भन्ने प्रमाणित भइसकेको धारणा राख्नुभयो । उहाँले क्षमतावान भएकै कारण अहिले थुप्रै जिफन्टकर्मी अगुवा महिला नेतृ केन्द्रीय ससद, प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित भएको बताउनुभयो । 
सो अवशरमा बोल्दै जिफन्ट गभर्नीङ काउन्सीलकी सदस्य समेत रहेकी साँसद विन्दा पाण्डेले पछिल्ला केहि बर्षमा थुप्रै महत्वपूर्ण परिवर्तन भएको भन्दै अझै पनि केहि विषयमा अधिकारको लडाई जारी रहेको धारणा राख्नुभयो । उहाँले आमाको नामबाट नागरिकता तथा पैत्रिक सम्पत्तिमा समान अधिकारको मुद्धा बलियोसँग उठाउन र कार्यान्वयनका लागि दवाव दिन आवश्यक रहेको धारणा राख्नुभयो । 
सम्मेलनमा बोल्दै आइएलओका नेपाल प्रमुख रिचार्ड हावर्डले नेपालले महिलालाई नेतृत्व तहमा स्थापीत गरेको उदारहण एसियामै देखाउन लायक भएको बताउनुभयो । नयाँ सरकारले धेरै आशा जगाएको भन्दै उहाँले भविष्यमा नेपालमा अझ धेरै प्रगतिको अपेक्षा गरिएको र त्यसमा सहकार्य गर्न आइएलओ तत्पर रहेको धारणा राख्नुभयो । 
यसैगरी डव्लुएसएमका प्रतिनिधि ब्रुनोले जिफन्टले महिला सदस्यतामा गरेको बृद्धि सह्रायिन रहेको बताउनुभयो । सवै कमिटीहरुमा ३३ प्रतिशत महिला प्रतिनिधित्व, कुल सदस्यतामा २८ प्रतिशत महिलाको संख्या पुग्नु उल्लेख्य उपलव्धी भएको उहाँको भनाई थियो । 
कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटा, अन्टुफकी उपाध्यक्ष उषा देवकोटा, मञ्जु थापा लगायतले बोल्नु भयो । 
उद्घाटन पश्चात बन्दसत्रले मिना गुरुङको नेतृत्वमा नयाँ कमिटी चयन भयो । निर्वाचन मण्डलका अध्यक्ष जिफन्ट महासचिव विष्णु लम्सालले निर्वाचित नयाँ कमिटीले अझ सशक्त रुपमा काम गर्ने अपेक्षा सहित बधाई ज्ञापन गर्नु भएको थियो । 

Related News