​‘राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र नागरिकता ऐन संशोधन’

दृष्टि न्यूज

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर मात्र ऐन संशोधन गर्नुपर्ने बताएका हुन् । 
नेता खनालले भने, ‘कुनै पनि नेपाली नागरिकता पाउनबाट वञ्चित हुन हँुदैन, कुनै विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने संविधानको मूल मर्म हो, सोहीअनुरुप ऐन संशोधन हुनुपर्छ ।’ नेता खनालले नागरिकतासम्बन्धी ऐन बनाउँदा संविधानको भावनाअनुसार गहन अध्ययन गरेर सजग र सचेतपूर्ण तरिकाले बनाउनुपर्नेमा जोड दिए । 
नेकपा (माले) का माहासचिव सिपी मैनालीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्दा ध्यान नदिएमा देशको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तालाई गम्भीर असार पर्ने बताए । 
सरकारले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्नका लागि संसद्मा विधेयक पेश गरेको छ । नेपाल–भारतबीच खुला सिमाना भएको हुँदा भारतीय नागरिक मात्र नभई अन्य देशका नागरिक पनि नेपालभित्र आई बसोबास गरिरहेको हुँदा तिनीहरुलाई नागरिकता दिँदा ध्यान दिनुपर्नेमा समितिको जोड छ 

Related News