जेएनयूमा बिताएका ६ वर्ष

दीपेश केसी । ‘आफूलाई चिन । ज्ञान, शक्ति, शान्ति र सामथ्र्य तिमीभित्रै छ,’ ६ वर्ष जेएनयू बस्दा पंक्तिकारले सुपरभाइजर प्राध्यापक रेणुका सिंहबाट पाएको टिप्स हो यो । आफूले टेक्ने धर्तीलाई चिन्न सके मात्र व्यक्तिले जीवन सार्थक बनाउन सक्छ भन्ने ज्ञानको सार लिएर आउँदो महिना फर्कनेछु । जेएनयू जीवनमा तीतामीठा क्षणहरू ताजा स्मरण रहने नै छन् । अन्तरमनमा छचल्किरहेका भावना यदाकदा पोखिएर अक्षर बनेका छन् । जेएनयूको सौन्दर्यबारे र व्यक्तिगत अनुभवहरू पाठकसामु साट्न चाहन्छु ।
जुन उत्साह बोकेर जेएनयू आएको थिएँ त्यो भन्दा सयौँ गुना उत्साह र साहस बोकेर फर्कने जमर्को गर्नु मेरा लागि उपलब्धि होला । जेएनयू बसाईंका क्रममा आधा दर्जन पुस्तक लेखन, सयौं पत्रपत्रिकामा प्रकाशित लेखरचना, प्रकाशोन्मुख जर्नल आर्टिकलभन्दा ठूलो उपलब्धि मित्रहरूसँगको संगत र उनीहरूबाट सिक्ने अवसर नै रहेछ । ‘आदर्शलोक’ जस्तै जेएनयू परिसरमा स्वार्थी र मतलबी स्वभाव उत्तिकै व्याप्त छ । जसरी आश्रममा पुग्ने सबै ज्ञानी र मुनी बनेर फर्कंदैन त्यसरी नै जेएनयू जस्तो प्रतिष्ठित विश्वविद्यालयमा प्रवेश गरेर ज्ञान आर्जन गर्ने ज्ञानी र विद्धान बनेर नफर्कन सक्छ । पंक्तिकार के बन्न सक्यो या सकेन त्यसको मूल्यांकन भविष्यमा समाजका लागि गर्न सक्ने/नसक्ने कार्यले देखाउला । कर्ममा विश्वास गर्ने मैले जीवनमा हिँड्ने छोटो र जोखिमयुक्त बाटो नै रोज्नेछु । ज्ञानको खानी जेएनयूले विद्या प्राप्त गरेर मात्र हुँदैन विवेकशील बन्नसक्नुपर्छ । विवेकशील बनेर मात्र पुग्दैन व्यवहारिक र समाजको सेवक र हितरक्षक बन्नुपर्छ भनी सिकाएको छ । आफू बनेर मात्र हुँदैन जन्मेको धर्तीका लागि समेत सक्दो योगदान दिनसक्नुपर्छ भनी सिकाएको छ । माता, मातृभूमि र गुरूलाई आत्मामा राखेर अगाडि बढ्न प्रेरित गरेको छ ।
जेएनयू ज्ञानको सरोवर हो जहाँको कञ्चन पानीमा पौडने अवसर प्राप्त छ । अवसरका ढोकाहरू यत्रतत्र खुल्ला छन् इच्छाशक्ति र मिहेनतमा निर्भर हुन्छ । नौ तले पुस्तकालयमा संरक्षित लाखौं पुस्तक र ई बुक्स र जर्नलमा पहुँचले ज्ञानको अनन्त सगरमा उड्न पाइन्छ । त्यो सगरमा उड्दाउड्दै बिछट्टै आनन्द अनुभूती भयो । फरक विचारका बहस र विश्वप्रशिद्ध व्यक्तिहरूलाई प्रत्यक्ष देख्न र सुन्न पाइयो । राजा–महाराजाभन्दा विद्धान सर्वत्र पूजिन्छ । जेएनयू यस्तै थलो हो जहाँ विद्धान पूजिन्छ र सुनिन्छ । विवेकशील बन्ने प्रेरणा मिल्छ । यहाँका भित्ताहरूमा लेखिएका नारा, कविता र कोरिएका चित्रकलाले क्रान्तिदेखि शान्ति सम्मकमा जोड दिन्छ । प्राज्ञिक थलोको विशेषता बनाएको जेएनयूले देश विदेशमा क्रान्तिकारीदेखि शान्तिदूतसम्मको उदय गराएको छ, जेएनयूले ।
सन् २०१६ को शुरूको वर्ष कन्हैयाकुमार संसारभर छाए । जेएनयूका छात्र संघका अध्यक्ष कन्हैयाको भाषण सुन्न मध्यरात कटेपछि पनि जेएनयूको केन्द्रभागमा विद्यार्थीहरूको भीड देखिन्थ्यो । सत्तारुढ भाजपानिकट एबीभीपीका तर्फबाट छात्रसंघमा सहसचिवमा विजय हासिल गरेका सौरभ शर्मा पनि खुबै छाए । जेएनयू राष्ट्रवाद र राष्ट्रविरोधीको मुद्दाले तात्तियो । भारतभर राष्ट्र र राष्ट्रवादबारे बहस बन्यो । राष्ट्रवाद, जातिवाद, साम्यवाद, समाजवाद, पूँजीवाद, उदारवाद, महिलावाद, धर्म, संस्कृति, भूमण्डलीकरण, तापक्रम वृद्धिलगायत धेरै मुद्दाको बहसलाई सुन्ने र बुझ्ने अवसर मिल्यो । जेएनयूभित्र भारत मात्र नभएर विश्वका धेरै मुलुकका प्रतिष्ठित कलाकार, लेखक, पत्रकार, अधिकारकर्मीहरूको आवत्जावत् हुन्छ । हरीभजन गाउनेदेखि क्रान्तिकारी गीत गाउनेसम्मकाले राति अबेरसम्म गीत गाएका क्षणहरू धेरै देखेँ । चाट सम्मेलनमा व्यङ्ग्यको प्रतिष्पर्धा हुन्छ । जेएनयूको होली विशेष हुन्छ । दिल खोलेर होली खेल्छन् विद्यार्थीहरू । हरेक साँझ खानाको समयमा कुनै न कुनै विद्यार्थी संघसंस्था वा समुदायका प्रतिनिधि विरोध वा समर्थनको पर्चासहित र्‍यालीसहित आइपुग्छन् । एक वा दुई पन्नामा उल्लेखित विचार प्रभावशाली र पठनीय हुन्छन् । जेएनयूको उदारवाद र लोकतन्त्रको सौन्दर्य नै हो यो । हरेक वर्ष हुने छात्रसंघको चुनावमा रातभर चल्ने प्रेसिडेन्टियल डिबेट जेएनयूको पहिचान हो । विना झडप, कसैको डर, धाक, धम्की, लालच वा करकापमा धाँधलीरहित, शान्तिपूर्ण र भयरहित तरिकाले चुनाव सम्पन्न हुने दक्षिण एशियाका थोरै चुनावमध्येको एक हो जेएनयू चुनाव । छात्रहरूको समस्या, भारतभित्रको मुद्दा मात्र नभई अन्तर्राष्ट्रिय मुद्दासमेत उठ्ने चुनावी बहसमा उम्मेदवारहरूले त्यही अनुसारको भाषण र सवालजवाफको सामना गर्न सक्नुपर्छ । विद्यार्थीको प्रतिनिधित्व गरेर नेतृत्वमा पुग्छु भन्नेले विद्यार्थीको सवालजवाफबाट भाग्न पाउँदैन ।
जेएनयूमा सातै दिन चौबीसै घण्टा खुल्ने पुस्तकालयकामा केही कक्षसमेत छन् । त्यस्ता कक्षहरूमा रातदिन अध्ययन गरेर आइएस अफिसर बन्ने सपना पालेकाहरू बढी हुन्छन् । हरेक वर्ष जेएनयूबाट दुई दर्जनभन्दा बढीको संख्यामा आइएस अफिसरको परीक्षामा सफल हुन्छन् । विभिन्न राज्यको प्रशासनिक र प्रहरी सेवाको परीक्षामा उत्तीर्ण हुने संख्या त्योभन्दा धेरै हुन्छ । कोही मूलधारको राजनीतिमा त कोही अधिकारकर्मी बन्छन् । प्राध्यापन पेशामा लाग्नेको संख्या उत्तिकै हुन्छ ।
जेएनयू यस्तो थलो हो जहाँ महिलाहरू निर्धक्क मध्यरातमा एक्लै हिंड्न सक्छन् । महिलाका लागि दिल्लीलगायत भारतका शहरहरू असुरक्षितको लिष्टमा पर्दा जेएनयूमा कुनै असुरक्षा रहेन । महिलाहरूका लागि जेएनयू स्वर्गभन्दा हुन्छ । महिलाहरू ऊर्जावान र साहसी बन्नसक्ने वातावरण प्रदान गर्छ । निर्धक्कसँग बोल्न सक्ने क्षमता अभिवृद्धि गर्छ । जेएनयू जीवनका दौरान फरक जाति, भाषा, समुदाय र धर्मका छात्रछात्राबीच प्रेम र विवाहका धेरै उदाहरणहरू छन् । नेपाली विद्यार्थीहरूले जेएनयू अध्ययनका दौरानको प्रेमलाई विवाहमा परिणत गरेका छन् । गतवर्ष जेएनयूमा अध्ययन गरेका नेपाली मित्र विराटकृष्ण थापाले पञ्जाबी र अनुराग भट्टराईले गुजराती मूलकी जेएनयू छात्रासँग विवाह गरे । जेएनयू जीवनका सिलसिलामा प्रेम र विवाहका यहाँको सौन्दर्य हो ।
पंक्तिकारले जेएनयूको ६ वर्षे बसाई सबैभन्दा दूरमा पर्ने चन्द्रभागमा छात्रावासको कोठा नम्बर १३६ मा बिताउँदैछ । मेरा लागि उक्त कोठा सदा स्मरणीय हुनेछ । यसबीच रूममेटहरू दुईजना फेरिए । पहिलो दुई वर्ष हरियाणाको जाट समुदायको चञ्चलकुमार सेरावत रहे । कम्प्युटर विज्ञानका शोधकर्ता उनी असाध्यै सहयोगी र दिलदार । निडर अनि खरो स्वभावका धर्ममा कट्टर । भारतीय जनता पार्टीनिकट अखिल भारतीय विद्यार्थी परिषद्का सक्रिय नेता । जेएनयूको काउन्सलर चुनाव जितेका । जेएनयू प्रवेश गर्दा रूढीवादी यिनी उदारवादीमा परिणत भए । आफ्नो समुदायबाहेकको केटीसँग विवाह गर्दिनँ भनेर कसम खाएका थिए, तर कसम तोडे । पञ्जाबीमूलकी पीएचडी शोधकर्ता अमृत कौरसँग विवाह गरे । कौर सुनाउने गर्छिन्, ‘जाट र जेएनयू पढ्नेसँग विवाह नगर्ने भन्थे आखिर नसोचेको भयो ।’ दुवैको विवाहको कारणमध्ये म पनि एकजना पर्छु । निर्णय लिन अलमलिँदा मित्रलाई उत्साह जगाएको थिएँ । मित्रलाई भनेको थिएँ, ‘तिमीले पढेलेखेकी पञ्जाबीसँग विवाह गर्‍यौँ भने रूढीवादी परिबन्धबाट आफूलाई निकाल्छौ र समाजलाई समेत निकाल्ने क्षमता तयार गर्छाैं । अर्को विषय भनेको पञ्जाबीले मागेर खाँदैनन् र तिमीलाई जस्तोसुकै दु:ख पर्दा पनि मागेर खाने अवस्थामा पुग्न दिँदैनन् ।’ मैंले भनेका वाक्य बेलाबेलामा दोहोर्‍याउँदै सुखद दाम्पत्य जीवन बिताइरहेछन् मेरा मित्र । अमृत कौर मित्रहरूको जमघटमा खुलेरै भन्छिन्, ‘दीपेश नै हो हाम्रो विवाहको मुख्य कारण ।’ जीवन यस्तै त हो नसोचेको हुने, खान्न भनेको खानुपर्ने र गर्दिन भनेको गर्नुपर्ने । चञ्चले स्वभावको चञ्चल सुनाउने गर्छन्, ‘मैंले तिमीबाट धेरै सिकेको छु, सायद तिमीले पनि मबाट सिक्यौ होला ।’ आखिर जीवन सिक्ने प्रक्रिया त रहेछ ।
बाँकी चार वर्ष रूममेट रहे दाङ स्थायी घर भएका सन्दीप पौडेल । ब्राम्हण समुदायका धार्मिक स्वभावका पौडेल क्यान्सरमा शोध गरिरहेछन् । रातभर प्रयोगशालामा बिताउने उनको मिहेनतको जोकसैले इष्र्या गर्ने खालको छ । कम बोल्ने तर धेरै काम गर्ने उनी निकै सहयोगी छन् । भरपर्दो कार्यशैलीले जीवविज्ञान स्कुलमा धेरैको मन जितेका रहेछन् । जेएनयू छात्रसंघमा काउन्सल पनि जितेका थिए पौडेलले । संयोग नै भन्नुपर्छ मेरा दुवै रूममेटहरू जेएनयूको छात्रसंघको चुनाव जित्न सफल भए । मचाहीँ जीवनमा मनिटरको चुनाव पनि नलडेको । उनीहरूबाट चुनावी राजनीति सिक्ने अवसर मिल्यो । विद्यार्थी राजनीतिमा संघर्ष गरिरहेका सन्दीप राना बारम्बार आउँथे । यिनी बौद्धिक बहस र अभ्यासमा निकै रूची राख्ने । भाजपा अध्यक्ष अमित शाहका विशेष सहयोगी बनेका छन् सन्दीप अहिले । मगर समुदाय र ब्राम्हण समुदायका दुवै सन्दीप एक–अर्कालाई मित भन्छन् । पवित्र सम्बन्धमा रगतको नाता नभए पनि भावनाको नाता छ । जातीय घृणा र असन्तुष्टिको तुषसम्म छैन । आहा कति सुन्दर सम्बन्ध । जेएनयूमा निम्तो स्वीकारेर आउने दिलदार मोहनबहादुर शाक्य सदास्मरणीय हुनेछन् । मित्र रामचन्द्र शाक्य थपिँदा भेटको मज्जा अलग । इन्जिनियर अर्जुन भण्डारी भेटिँदा भविष्यका सुन्दर योजनाहरू सुनाउँछन् । यस्तै मित्रहरू कमाइयो जेएनयूमा । ज्ञान र विद्यामात्र सबथोक होइन रहेछ असल मित्र बन्नसक्नु र बनाउन सक्नुले सामाजिक प्राणीलाई खुसी र शान्तिका साथ बाँच्ने हौसला दिँदोरहेछ । आखिर शोधकर्ताले हासिल गर्ने भनेको ज्ञान र असल मित्र रहेछ । योभन्दा ठूलो धन अरू केही हुनसक्नै छैन ।
६ वर्षपछि जेएनयू छाड्दा केही विषयको कमी महशुश हुने नै छ । पुस्तकालय, मध्यरातमा समेत निर्धक्क हिंड्न पाउने अवसर, हरेक साँझ खेल्ने गरेको फुटबल, फुटबल खेल्ने विश्वका धेरै देशका मित्रहरू, साँझपख जेएनयू परिसरमा सुनिने नारावाजी, होस्टलहरूमा खानाको समयमा दैनिकजसो बाँडिने पर्चा, विभिन्न मुद्दामा गरिने बहसहरू मिस गर्नेछु । जीवन सधैँ एकैनास हुँदैन । हुनु पनि हुँदैन । अध्ययन पनि कर्म हो । कर्म मानव कर्तव्य हो । समाजबाट व्यक्तिले आशा गरेको हुन्छ भने व्यक्तिप्रति पनि समाजले आशा गरेको हुन्छ । समाजलाई निराश पार्नु हुँदैन र पार्ने पनि छैन । यही आशा, विश्वास र साहसका साथ मातृभूमि फर्कनेछु । जीवन सिक्ने प्रक्रियाहरू सिक्दै, सुधार्दै बढ्ने प्रयास गर्नेछु । गुरूले दिएका टिप्सलाई मनन गरेर आफूले टेकेका पाइलालाई चिन्ने र धर्तीलाई बुझ्ने प्रण गरेको छु । सहयोगी र असहयोगी सबैलाई मुरीमुरी धन्यवाद ।
 

Related News