जो महत्वकांक्षाले बिग्रिए

काठमाडौं, २६ मंसिर । संविधानजारी भएपछिको भएको पहिलो संसदीय निर्वाचनको नजिताले धेरैलाई चकित बनाएको छ । बामपन्थी गठबन्धनले अब देशमा लामै समय शासन गर्ने संकेत देखाएको छ । निर्वाचनमा कांग्रेस निकै कमजोर देखिएको छ । यो निर्वाचनमा केही असल मान्छेहरु पनि पराजित भएका छन् । तर केही यस्ता व्यक्तिहरु पराजित भएका छन्, जसको पराजयबाट धेरै खुशी भएका छन् । आफ्नो व्यक्तिगत महत्वाकांक्षा पुरा गर्न दायित्व बिर्सने त्यस्ता उम्मेदवारहरुलाई जनताले पनि सजायस्वरुप पराजित गरेका छन् । कांग्रेसका दीपकुमार उपाध्यय, डा.गोविन्द पोखरेल, खगेन्द्र अधिकारी जस्ता उम्मेदवारको पराजयमा सर्वसाधारणहरु खुशी एका छन् । भारतका लागि राजदुत रहेका दीपकुमार उपाध्यायले निर्वाचनमा भाग लिन राजीनामा दिएका थिए । कार्यकालको आधा समय पनि पूरा नगरेका गरी उनले राजिनामा दिएका थिए । तर, त्यो निर्णय उनका लागि घातक बन्यो । कपिलवस्तु १ मा वाम गठबन्धनका उम्मेदवार चक्रपाणि खनालले उनलाई ९४६ मतले पराजित गरे । दुई वर्षअघि भारतले नाकाबन्दी लगाएको बेला उनले अप्रत्यक्ष रुपमा भारतकै पक्ष लिएका कारण अलोकप्रिय बनेका थिए । त्यस्तै भूकम्पपीडित जनतालाई धोका दिएर राजनीतिमा लागेका डा.गोविन्द पोखरेललाई पनि जनताले दण्डित गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर प्युठानको चुनावी मैदानमा भाग लिन पुगेका डा. पोखरेल प्यूठानमा भारी मतान्तरले पराजित भए । वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले पोखरेललाई १० हजारभन्दा बढी मतको अन्तरले पराजित गरिन् । त्यस्तै एमाले अध्यक्ष केपी ओलीलाई टक्कर दिन्छु भनेर त्रिभुवन विश्वविद्यालयको शिक्षण पेशा छाडेका डा. खगेन्द्र अधिकारी लाजमर्दाे मतान्तरले पराजित भए । झापा ५ बाट उनी २९ हजार मतान्तरले पराजित हुने पुगे । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर काठमाडौँ क्षेत्र नम्बर ९ (क) मा प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका इन्द्रमान तुलाधर अहिले स्तब्ध बनेका छन् । उनलाई एमालेका उम्मेदवार अजयक्रान्ति शाक्यले पराजित गरे ।

Related News