​जोगमाईबाट ७.५ मेगावाट बिजुली थपियो


इलाम, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । 

निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले साविक नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । “प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युतगृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो” – सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भने । 

पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सबस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युतगृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सबस्टेसनमा पु¥याइएको छ । 

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । पीपीएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि 
वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ । 

आयोजना पूरा हुन २७ महिना लागेको थियो । रु एक अर्ब ५० करोडको लागतमा आयोजना सम्पन्न भएको प्रबन्ध निर्देशक पोखरेलले बताए । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैं्कले लगानी गरेका छन् । यस आयोजनामा अन्तर्रा्ष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन् ।

Related News