​संगीतले नै मलाई जीवन दिएको छ– जोनिसा पौडेल, गायिका

‘मेरो फिगर कोकाकोला’  बोलको गीतबाट चर्चामा  आएकी गायिका जोनिसा पौडेल नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत गायिका हुन् ।   क्यासिकल संगीतमा विशेष  इच्छा राख्ने  उनी  आजभोलि निकै व्यस्त छिन् ।  त्रिविमा भोकल विषयमा नै मास्टर पढ्दै गरेकी उनै २३ वर्षीया गायिका जोनिसासँग रेजिना पाण्डेसँगको जम्काभेट :
धेरै नै व्यस्त देखिनुहुन्छ नि ? 
हो, सिक्ने, सिकाउने र गाउने काममा आजभोलि व्यस्त नै छु । 
तपाईमा राग संगीतमा बढी लगाव देखिन्छ नि ? 
मलाई विशेष राग संगीतमा नै रुचि छ । रागमा ताल मिलाएर गाउन  निकै रमाइलो लाग्छ । 
तर, राग आम स्रोताहरुले त धेरै रुचाएको पाइन्न नि होइन ? 
नबुझुनेलाई मात्र हो । बुझेर गाउने र सुन्ने हो भने यसमा निकै आनन्द आउँछ । यो एउटा नशा हो, बिस्तारै लाग्दै जान्छ । 
रागको बारेमा अलिकति बताइदिनुस् न  ?
यो आफ्नै क्रियशनमा गरिने संगीत हो । यो जति लामो तानेर गाउन सक्यो त्यति नै राम्रो हुन्छ । 
तर, राग गाउन गाह्रो छ होइन ? 
सिकेर बुझेर राम्रो अध्ययन गरियो भने गाह्रो छैन । 
नेपालमा यसको त्यति महत्व  दिँदैनन्, हो ?
होइन, नबुझेकाले यसको महत्व कम जस्तो देखिएको चाहिँ हो ।  राग संगीतका  कार्यक्रमहरु कम नै हुने गर्छन् ।  विदेशमा यसलाई धेरै महत्व दिन्छन् ।  धैरै खर्च र लगानी गरेर यस्ता कार्यक्रमहरु गर्ने गरेका पनि छन् । 
जति पनि राग गीत गाएपनि  स्रोताहरुले तपार्इंलाई चलचित्र अघकट्टीको ‘मेरो फिगर कोकाकोला’ भन्ने गीतबाट धैरैले नै चिने होइन ?
हो,  यो कुरा मान्छु । तर, त्यो भन्दा अगाडि पनि मेरो गजल र गीतहरु पनि चर्चामै थिए ।  
गीत गाउन कत्तिको अफर आइरहेको छ ? 
कामहरु पाइ नै रहेको छु । चलचित्रमा पनि गाइरहेको छु । भर्खर मात्र  आलोक श्रीको एकल एल्बम बाटोमा तीन वटा गीत गाए । अरुमा पनि कुराहरु भइरहेको छ । 
उसो भए पैसा राम्रै कमाइएको  छ होइन ?
मैले गर्न सकेको श्रमको फल पाएको नै छु । म सन्तुष्टिमा काम गरिरहेको हुन्छु, जहिले पनि ।  
अरुको एल्बम र फिल्ममा धैरै गाउनु भयो, आफ्नो एल्बम निकाल्ने योजना छैन ? 
त्यतातिर खासै मैले सोचेको नै छैन । ममा अझ निखारिन बाँकी छ । अझै मेहेनत गर्न बाँकी छ ।   
छोरीको सफलतामा परिवारले के भन्नुहुन्छ ?
मेरो परिवार मेरो कामप्रति धैरै नै सपोर्ट गर्नुहुन्छ । अझै धेरै सिक भन्नुहुन्छ । मैरै लागि नै मेरो परिवार पोखरादेखि काठमाडांैमा सिफ्ट हुनुभएको हो । मेरो कामलाई सम्मान गर्ने मेरो परिवार पाएकोमा मलाई गर्ब लाग्छ । 
गायनमा रुचि चाहिँ कसरी सुरु भयो ? 
म सानैदेखि साई भजनहरु  गाउथे । सबैले  तिम्रो स्वर राम्रो छ भन्नुहुन्थ्यो ।  कार्यक्रमहरुमा गाउँदा गाउँदै संगीतमा नै लागे  । सबैले गीत गाउनुपर्छ भनेर हौसला दिनुहुन्थ्यो ।  प्लसटुपछि संगीतकै अध्ययन लागे । 
तपाईं संगीत सिकाउनु पनि हुन्छ, आफू पनि सिक्नु हुन्छ कुन काम गाह्रो छ ? 
दुबै गाह्रो छ । सिक्न र सिकाउन दुवैमा धैर्य चाहिन्छ ।  
तपाईंको लागि संगीत के हो ? 
बाँच्ने आधार हो, यसले नै मलाई जीवन दिएको छ  ।  

Related News