जोसिला जोशीको सम्झना

–श्याम रिमाल
रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
व्यस्त रह्यो आजीवन हात रह्यो खाली
छैन कतै बास बस्ने प्रकृतिको  डाली
नेपालको टाकुरामा घाम उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन 
वनवनै सुसेलीमा रुन कति पर्ला
नेपालीले कहिलेसम्म दास हुनुपर्ला
कहिले होला विज्ञानले नौलो खोल हाल्ने
मानवता फैलाउने दानवता फाल्ने
नौलो नयाँ समाजको सङ्केत बारम्बार
सभ्यताको जग राख्ने कवि कलाकार
मानवता छट्पटायो व्यथा के हो बोल
 समाजको थोत्रिएको मिल्काइदेऊ खोल (गोकुल जोशी, सिमानाको दीप)

गोकुल जोशी जनकवि । अर्थात् जनताका कविता गाउँदै गाउँ गाउँ सहर सहर हिँड्ने कवि । जनताका कविता गाउनेलाई नै जनकवि भन्छन् । चरम गरिबी र अभावका बीच जन्मेका उनी ३१ वर्ष बाँचे । मोतीराम पनि ३० वर्ष नै हो बाँचेको । युवा कवि विमल गुरुङ २० मा, तबलावादक अतुल गौतम ३२ मा, अङ्ग्रेजी रोमान्टिक कवि जोन किट्स २५ मा, रुसी महाकवि पुस्किन ३७ मा,  अमेरिकी कवि तथा उपन्यासकार सिल्भिया पाथ ३० मा, बेलायती कवि तथा उपन्यासकार इमिली ब्रोन ३० मा । जोशी–जोसिलो, खरो । सानैमा गोठालो गए, घाँस दाउरा गरे, नुन खेपे । पढ्नलाई बत्ती थिएन । गए भारत र रोजीरोटीको काम गरे । प्रगतिवादी शिक्षादीक्षा र माक्र्सवादी दर्शनको ज्ञान श्यामप्रसादबाट पाए । हिन्दी, अङ्ग्रेजी, पन्जाबी, बंगाली, गुजराती, मराठी र तामिल भाषाको अल्पज्ञान पनि । पुस्तक पढ्न त रुचि भइहाल्यो । लक्ष्मीप्रसाद देवकोटा, धर्मराज थापा, बालकृष्ण सम, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, बालकृष्ण पोखरेल, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, डा केआइ सिंह, राहुल सांकृत्यानसम्मको संगत र सम्बन्ध । चौध वर्षका उमेरमा भारतमा यात्रा । सिलाङ, मद्रास, कोलकाता, बम्बइमा रहँदा होटेलमा, औषधि पसलमा, गोर्खा पल्टनमा, पानी जहाजमा काम गरे उनले । मालिक, हाकिमहरुबाट नोकर, कामदार, कर्मचारी, मजदुरमाथि हुने गरेका शोषण, थिचोमिचोमा हडताल, जुलुसमा सक्रिय भए । आठ सालमा नेपाल आएपछि गौचर हवाई अड्डामा काम पनि उही शोषण र थिचोमिचो झेले अनि लागे गीत, कवितातिर जनता जगाउन । 
काठमाडौँका डबली, चोक र गल्ली हुँदै फेरि लागे भारतका देहरादुन, सिलाङ, भाक्सु, गुहावटी, आसाम र दार्जिलिङतिर । नेपालका मोरङ, पर्सा, झापा, तेह्रथुम, सुनसरी, पाल्पा, कास्की, काठमाडौँका घरदैलोमा पुगे खद्दरको कमिज–सुरुवाल, दुब्ला च्याक्से तर मझौला कदका फुर्तिला कवि । कविता गीत लेखे, छपाए र सुनाए । उनले नेपाली जनताका घर आँगनमा पुगेर अङ्ग्रेजी पल्टनमा नजान र एकजुट भएर आफ्नै देशका प्रतिक्रियावादीलाई खतम गर्न आह्वान पनि गरे–
गरिबीको सुस्केरामा  रुन्छ तिम्रो आत्मा
बेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा
ऋण तिर्न नसकेर विदेशमा  झर्छाै
अङ्ग्रेजको जालभित्र चाल नपाई पर्छाै
नमार गरिबलाई, नजाऊ अङ्ग्रेजी पल्टनमा 

बाध्यताले विदेश गएका अहिलेका नेपालीलाई पनि यसले सन्देश दिन्छ । जोशीलाई अब भारत, खाडी मुलुकलगायत एसिया, युरोप, र अमेरिका पनि पु्याउनुपरेको छ । समतामूलक समाजवादी  दर्शनका साथ मानवतावादी दर्शन जीवन दृष्टिकोण  थियो । यात्राका क्रममा यिनी जनसेवा पनि गर्थे । अनारमनी–घैलाडुब्बा सडक, पुल, राइपुर सालडाँडामा विद्यालय स्थापना र सञ्चालन, असहाय–रोगीलाई सहयोग । नारीप्रति पवित्र सोच थियो, विवाह पनि गरेनन् । व्यक्तिगत सुख, धन कमाउन र घर बनाउनतिर लागेनन् । 
नेपालको भविष्य, सिमानाको दीप, बाँच र बाँच्न देऊ, नवप्रभात कवितासङ्ग्रह र  दुर्घटना कथा प्रकाशन गरे । गोपालप्रसाद रिमालले सात सालपछि निकै सकारात्मक परिवर्तन आउला भन्ने सोचेका थिए तर  बौलाहा बने यहाँको स्थिति देखी तर अरु आशावादी बने–
अर्काे  नयाँ निर्माणको विश्व पनि आउला
फेरि पनि नेपालीले क्रान्ति गीत गाउला । 

रमाइलो कुरो, मृत्युको २१ वर्षपछि उनको ५२ औँ जन्मजयन्ती काठमाडौँमा पहिलो पटक मनाइएको रहेछ र त्यसको समाचार दिने रासस पहिलो समाचार संस्था रहेछ । जसलाई प्रकाशन गर्नेमा गोरखापत्र र नेपाल भाषा पत्रिका रहेछन् । जोशी, रिमाल, हृदयचन्द्रसिंह प्रधान, युद्धप्रसाद मिश्र, श्यामप्रसाद, कुलमानसिंह भण्डारी, गोविन्द भट्ट, रमेश विकल, पारिजात, जनकप्रसाद हुमागाईँ, केवलपुरे किसान, रुद्र खरेल, नरेन्द्र चापागाईँ विमल गुरुङ, जस्ता स्रष्टा फेरि कहिले पाउनू मुलुकले ? जोशीबारे खोज–अनुुसन्धान गर्नेमा हुमागाईँ र सुकुम शर्मा तथा  उनका घैलाडुब्बा, झापामा राखिएको उनको सालिक बनाउने पृथ्वीनारायण श्रेष्ठ र जन्मभूमि राईपुर तनहुँमा उद्यान बनाउनका लागि यसै महिना सालिक बनाएर दिने कुलमानका सुपुत्र रामकृष्ण भण्डारी जस्ता स्रष्टा पनि अझै जन्मनुपर्छ । 
 अन्यायको बादलमा नलुकन रवि
दुनियाँको दर्द बोकी नझुकन कवि
भोकभोकै मर्न लागे कवि कलाकार
तड्पाएर नमारिदेऊ झुन्ड्याएर मार । 

shyam_rimal@yahoo.com



 

Related News