डेढ महिने छोरीसहित प्रधानमन्त्रीको कुर्सीमा ज्यासिन्डा !

दृष्टि न्यूज

न्युनिल्याण्ड, (एजेन्सी) । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्रेडेर्न डेढ महिने छोरीसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । प्रधानमन्त्री ज्यासिन्डाको डेढ महिनाको छोरी छ । उनले शनिबारबाट न्युजिल्याण्डको प्रधानमन्त्री पद सम्हालेकी छन् । उनी छोरी काखमा च्यापेर राजधानी विलिङटन विमानस्थलमा ओर्लिएकी थिइन् । 
करिब ६ हप्ताको सुत्केरी बिदा सकाएपछि उनी प्रधानमन्त्रीको कार्यभार सम्हाल्न थालेकी हुन् । ३८ वर्षीया ज्यासिन्डाले गएको ७ असारमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् । उनीभन्दा पहिले २८ वर्षअघि पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजीर भुट्टोले सन्तान जन्माएकी थिइन् ।
ज्यासिन्डा बिदामा रहेका बेला उपप्रधानमन्त्री विनस्टन पिटरले जिम्मेवारी सम्हालेका थिए । ज्यासिन्डा विवाहित होइनन् । तर उनी र उनका प्रेमी क्लार्के गेफोर्डको पहिलो सन्तानको रुपमा छोरीको जन्म भएको हो । उनीहरुले छोरीको नाम उनीहरुले निभ गेफोर्ड राखेका छन् । ज्यासिन्डाले बिदामा रहेका बेला पनि मन्त्रीपरिषदका कागजात अध्ययन गर्ने तथा महत्वपूर्ण विषयमा सल्लाह दिने गरेकी थिइन् ।
उनी गएको अक्टोबरमा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । उनले आफू गर्भवती रहेको कुरा गएको जनवरीमा बताएकी थिइन् । ज्यासिन्डा लेबर पार्टी गएकै समय सेप्टेम्बरमा भएको चुनावमा दोस्रो पार्टी भएको थियो । कुनै पनि पार्टीले बहुमत नल्याएकाले ज्यासिन्डा गठबन्धन बनाएर प्रधानमन्त्री बनेकी हुन् । उनी न्युजिल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुन् ।

Related News