​​के गरेर फर्किए प्रधानमन्त्री ?

आलोक नेपाली । भारत भ्रमणका लागि निकै आतुरता देखाएका शेरबहादुर देउवाले हनिमुन अवधी अर्थात् सय दिन सरकारमा नबिताउँदै भारत भ्रमणको निम्तो पाएर गए । भ्रमणमा विमानस्थलबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेपछि उनले उच्च प्राथमिकता पाएको हल्ला पिटाइयो । जबकि प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा केपी शर्मा ओली र प्रचण्डले स्वराजकै निम्तो पाएका थिए । मोदीले आरजु तर्फ नमस्कार फर्काएको तस्वीर देखाउँदै कतिपय काँग्रेस नेताहरूले भ्रम फैलाउन खोजे । देउवालाई मोदीले उच्च महत्व दिएको हल्ला पिटाए । 
भ्रमणको पहिलो दिन देउवासँग मोदीले अनौपचारिक एकल भेटवार्ता गरे । मोदीले उच्च महत्व दिएको अर्थ लगाउन खोजियो । तर, यथार्थमा मोदीले देउवाको नाडी छामेका थिए । हरियो घाँस देखाएर देउवाबाट केही लाभ लिने प्रयास गरेका थिए । दोक्लाम क्षेत्रमा भारतको चीनसँग विवाद छ । यस मामलामा मोदीले देउवाको समर्थन चाहे । भारतको सत्तारुढ भारतीय जनता पार्टीको नेपाल मामलामा धर्मको विशेष चासो छ । मोदी नेपालमा पुनः हिन्दु अधिराज्य कायम भएको चाहन्छन् । यसमा भ्रमणबाट फर्किएपछि देउवाले खेल्ने भूमिका कस्तो हुनेबारे मोदीको चासो प्रकट भएको खबरहरू आएका छन् । त्यसबाहेक कोशी उच्च बाँध, पञ्चेश्वरको डिपिआर तयार गर्दा भारतको स्वार्थलगायतका विषय छन् । यी विषयमा भारतले लाभ लिन खोजेको छ । सम्झौता अनुसार दुवै देशले आधा आधा पानी बाँड्ने भएपनि भारतले दुई तिहाई पानी लाने गरी भित्री सहमति बनिसकेको छ । देउवाले पञ्चेश्वरमा देशमाथि घात गरेका छन् । भारतले उसको हितमा देउवा सहायक बनुन् भन्ने चाहेको थियो जुन भयो । देउवालाई मोदीले देखावटी रूपमा जे जस्तो महत्व दिए त्यसलाई हरियो घाँस देखाएर शिकार बनाउन खोजेको अर्थका रूपमा समेत लिन थालिएको छ । 
इजी देउवा
देउवा नेपालका अन्य शिर्ष नेताहरूभन्दा सजिलै प्रयोग हुन्छन् । विगतमा प्रचण्ड देखि राजासम्मले देउवालाई प्रयोग गरी स्वार्थ सिद्ध गरे । विदेशीहरूले पनि देउवालाई प्रयोग गरेका थिए । विदेशी स्वार्थ पूरा गर्न सजिलै तयार हुने स्वभावका कारण देउवा पटक पटक प्रधानमन्त्री बने । अन्यथा काँग्रेसका कुनैपनि सच्चा कार्यकर्ता उनलाई नेता मान्न तयार छैनन् । देउवा पटक पटक चुकेका छन् । प्रजातन्त्र राजालाई बुझाउने देखि माओवादी हिंसाको आगोमा तेल थप्ने क्रियाकलाप देखाएका थिए । कुनैपनि पश्चिमाले प्रयोग गरेका थिए देउवालाई । पछिल्लो समय उनी भारतपरस्त बन्दै गए । प्रधानमन्त्री पदका लागि भारतसँग अघोषित बाचाहरू गरे । 
देउवाले प्रधानमन्त्रीको मार्ग सफा बनाउन भारतको सत्तारुढ दल भाजपाको स्वार्थमा चले । भाजपानिकट संस्थाले दलाई लामाले उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथि बनाएर विवादमा मुछ्यो । तर, देउवा थापा पाएरै उक्त कार्यक्रममा सहभागी भई तिब्बती शरणार्थीका प्रधानमन्त्री लोब्साङ्ग साङ्गेसँग भेट्न पुगेका थिए । पिएचडी गरेका साङ्गेसँग देउवाको गोवा सम्मेलनको बहानामा गोप्य भेटघाट भएको थियो । सम्मेलनकै दौरान उनी साङ्गेसँग बसेको तस्वीर सार्वजनिक भएको थियो । देउवाले केही महिनायता भारतको विशेष साथ पाउँदै आएका थिए । यसका पछाडि उनको सहजै शक्तिकेन्द्रको स्वार्थमा कम गरिदिने स्वभाव प्रमुख कारण थियो । भारतको कतिपय चाहना पूरा गर्न देउवा अग्रसर भइसकेका छन् । त्यसैले उनले कोशी उच्च बाँधको विषय उठाए । संविधान संशोधन गर्ने प्रतिवद्धता गरे । सार्वभौम देशको प्रधानमन्त्रीले विदेशी भूमिका आन्तरिक विषय राखेर हल्कापन देखाएको टिप्पणी सर्वत्र भएको छ । देउवाले खुलेआम प्रतिवद्धता जनाउनुले स्पष्ट भएको छ—उनी सजिलो मान्छे हुन् र स्वार्थका लागि विदेशीको स्वार्थ पूरा गर्छन् । 
एजेन्डाबिहीन ?
गिरिजाप्रसाद कोइरालाले देशको स्वार्थका लागि भारतीय समकक्षीसँग स्पष्ट कुराहरू राख्थे र कन्भिन्स समेत गर्थे । २०६३ मा भारत भ्रमणमा जाँदा कोइरालाले सैनिक सामाग्रीमा तिर्न बाँकी रकम मिनाहा गरिदिन समकक्षी मनमोहन सिंहलाई आग्रह गरे । सिंहले यो एजेण्डालाई कार्यान्वयनमा लान निर्देशन दिएर परिणाम तत्काल आयो । नेपालले पौने दुई अर्ब सैनिक सामाग्रीवापत्को रकम तिर्नुपरेन । भारतलाई तिर्नबाकी योभन्दा ठूलो रकम अनुदानमा परिणत गराउन देउवाले स्पष्ट कुरा राख्न सकेनन् । भारतले अनुदानमा परिणत गरेन । देउवा स्पष्ट कुरा राख्न नसक्ने काँतर प्रधानमन्त्री ठहरिए । 
मनमोहन अधिकारीले २०५१ सालमा भारत भ्रमण गरेर सन् १९५० को सन्धीको पुनरावलोकनको प्रस्ताव राखे । सीमा समस्या समाधानको विषय उठाए । मनमोहनमा साहस थियो र देशको हितका लागि स्पष्ट कुरा राख्ने । काँग्रेस सभापतिका रुपमा भारत भ्रमणमा जाँदा सुशील कोइरालाले भारतको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको विषय उठाएका थिए । देउवा इतिहासकै काँतर प्रधानमन्त्री ठहरिदैछन् । उनले न त कालापानीको विषय उठाए न त सुस्ताको पीडाबारे बोले । मधेश डुबिरहँदा भारत पुगेका देउवाले जनताले पाइरहेको सास्तीमा भारतको बाँधको भूमिका रहेको जान्दा जान्दै केही बोलेनन् । देउवा यतिसम्म काँतर देखिए कि भारतलाई नेपालमा यसो गर्छु र उसो गर्छु भने । जुन सार्वभौम देशको प्रधानमन्त्रीका लागि सुहाउने विषय थिएन । 
कुनैपनि देशको प्रधानमन्त्रीको विदेश भ्रमण राष्ट्रिय स्वार्थमा केन्द्रित हुन्छ । विदेशसँगको सम्बन्धबाट देशले कति लाभ लिनसक्छ लेखाजोखा हुन्छ । भारतका प्रधानमन्त्री नेपाल आउँदा होस् या अमेरिकी राष्ट्रपति भारत जाँदा किन नहोस् भ्रमणबाट के लाभ लिन सकिन्छ लेखाजोखा गरेर मात्र पाइला सार्छन् । नत्र महङ्गो खर्च गरेर विदेश जानुको अर्थ छैन । ? 
भारतको स्वार्थ
देउवाले भ्रमणमा विगतका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने चर्चा चलेको थियो । तर, महाकाली सन्धी अन्तर्गतको पञ्चेश्वरमा फेरि नेपाल तल परेको छ । सहमति कार्यान्वयन गर्ने सहमति गरिएको जस्ता हास्याँस्पद विषय दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा उल्लेख गरियो । महाकाली सन्धी भएपछि छ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर तयार गर्ने सहमति भएपनि प्राविधिक विषयका नाममा काम बढ्न सकेन । २२ वर्षसम्म नेपालका नदीबाट भारतमा पानी बगिरह्यो । नेपालले केही पाएन । भारतले पानीमा स्वार्थ देखाउनु र नेपालले जलविद्युत उत्पादनमा जोड दिनुले सहमति बन्न नसकेको यथार्थ हो । भारत नेपालको नदीबाट सिधै बाँध बाधेर पानी लान चाहिरहेको छ । यसमा उसको रणनीतिक र आर्थिक दुवै स्वार्थ जोडिएको छ । देउवा कतै यही स्वार्थमा त प्रयोग भएनन् ? पानीमा स्वार्थ देखाएको भारतले नेपालमा जलविद्युत उत्पादनलाई खासै महत्व दिएको देखिदैन । 
भारतको भूमि भएर व्यापार गर्दा धेरै समस्या झेल्नुपर्छ । जसको मार नेपाली उपभोक्ताले सामानको महङ्गो मूल्य तिरेर भोग्नुपर्छ । नेपाली भारत आयात निर्यातमा ढुवानी, कर, चेकपोष्टलगायतमााा समस्हरू छन् । राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषयलाई देउवाले भारतसँग सिधा कुरा राख्न सकेनन् । त्यसैले होला भ्रमण दलमा रहेका कतिपय व्यापारी भ्रमण छोट्याएर फर्किए । देउवाले पनि देशको हितमा भन्दा आफू र पत्नी आरजुको राजनीतिक भविष्यबारे केन्द्रमा राखेर कुरा गरे ।
देउवाको असफल कुटनीति
देउवाको पालामा देशमा कुनै ठूलो परिवर्तनको आशा राख्नु बेक्कार हो । देशले बारम्बार परिवर्तन चाहिंरहँदा देउवा यथास्थितिमै रहेका थिए । उनी अझै पूर्ण गणतन्त्रवादी बन्न सकेका छैनन् । भारतसँगको सम्बन्धको सवालमा पनि देउवाले उपलब्धि दिलाउन सकेनन् । देशलाई बर्बाद पार्ने कुनै भित्री सहमति त गरेनन् ? शंका आशंका बढेको छ । भारतले आश्वासन बाहेक केही दिएन भन्दा फरक पर्दैन । भूकम्पपछिको पुनःनिर्माण गर्न भारतले एक खर्ब रुपैयाँ दिने वाचा गरेपनि दिएको छैन । 
भारतसँगको सम्बन्ध यथास्थितिवादी चरित्रले सुधार हुँदैन । न त अहिलेको शैलीले सम्बन्ध दरिलो र उपयोगी बन्छ । सम्बन्धको जगलाई टेकेर परिवर्तनको जरूरीबारे ठोस कुरा हुनुपर्छ । देउवाबाट त्यो आशा असम्भव छ । पटक पटक कुटनीतिमा असफल हुँदै आएका देउवाको अवसरवादी शैलीले देशले मूल्य चुकाउनु हुँदैन । भारतसँगको सम्बन्धमा यथास्थितिवाद होइन परिवर्तनको जरूरी छ । देउवाको कार्यशैलीले त्यो सम्भव छैन । उनले आफ्नो स्वार्थका लागि देशलाई समेत दाउमा राखेका छन् । देशलाई कमजोर बनाउन र विदेशी स्वार्थ पूरा गराउन के कस्ता गतिविधि गरे भविष्यले प्रष्ट पार्न सक्छ । 

Related News