​के माओका सिद्धान्तहरु असफल भए ?

(सन्दर्भ माओ दिवस)

रवीन्द्र श्रेष्ठ । भारत सन् १९४७ मा स्वतन्त्र भई गणतन्त्र भारत बन्यो । चीन भने त्यसको दुई वर्षपछि १९४९ मा मात्र माओत्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भई जनगणतन्त्र चीन बन्यो । तर, अहिले आएर वर्तमान मूल्यको कूल गार्हस्थ उत्पादनको आधारमा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली देश बनेको छ भने भारत सातौं नम्बरमा रहेको छ । भनिन्छ कि केही वर्षभित्र चीनले अमेरिकालाई उछिनेर पहिलो नम्बरमा पुग्नेछ ।  चीनको तीव्र आर्थिक विकासमा माओको नेतृत्वमा भएको नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको प्रमुख योगदान रहेको छ । माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले माओको भन्दा भिन्न बाटो लिएता पनि माओको नेतृत्वमा स्थापना भएको मजबुत अर्थराजनैतिक जगकै आधारमा अहिलेको चिनियाँ विकास भएको यथार्थता कसैबाट छिपेको छैन र स्वयम् देङले पनि यसलाई स्वीकारेका थिए । 
डिसेम्वर २६ माओको जन्म भएको दिन हो । आज भन्दा १२३ वर्ष अगाडि सन् १८९३ मा माओको जन्म भएको थियो । के माओका सिद्धान्तहरु असफल भएका हुन् र त्यसको औचित्य सकिएको हो भन्ने जस्ता प्रश्नहरु नेपाल र विश्वभरि नै उठिरहेका छन् । एक समयका माओका घनघोर समर्थक पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरु माओका सिद्धान्तहरु पुरानो भयो भनेर अलाप प्रलाप गर्दैछन् । बाबुरामले कम्युनिष्ट सिद्धान्त नै परित्याग गरेर भारतीय सत्ताका नोकर बन्न पुगेका छन् भने पुष्पकमल दाहाल अझै पनि माओवादीकै नाम भजाएर माओका सिद्धान्तहरुमाथि विश्वासघात गर्दै भारतीय सत्ताको चाकडी गरिरहेका छन् । 
जसरी माक्र्स र लेनिनले विश्वका उत्पीडित जनताका लागि सार्वभौम विश्वव्यापी महत्व राख्ने र सबै समयका लागि उपयोगी सिद्धान्तहरु विकास गरेका थिए, त्यसैगरी माओले पनि सार्वभौम विश्वव्यापी महत्वका र सबै समयका लागि उपयोगी र वैज्ञानिक सिद्धान्तहरु विकास गरेका थिए । माओका ‘जनताको सेवालाई केन्द्रविन्दुमा राख्ने’ कुरा र ‘जननीति लागू गर्ने’ कुरा के कहिले पुरानो हुने वा काम नलाग्ने विषय हो र ? तर पुष्पकमल र बाबुरामका लागि यी माओवादी सिद्धान्तहरु पनि पुराना र काम नलाग्ने विषय भए । 
माओको जनयुद्ध सन् १९२७ मा सुरु भएर  २२ वर्षपछि सन् १९४९ मा विजयी रुपमा टुंगिएको थियो । माओले चीनभित्रको कथित गणतान्त्रिक सरकारविरुद्ध मात्र नभई त्यो बेला चीनमाथि हैकम चलाएर बसेको जापानी सत्ताका विरुद्ध पनि यस क्रममा कठोर युद्ध लडेका थिए । त्यस बीचमा माओको पार्टीभित्र तथा बाहिरबाट बीच बाटोमै सम्झौता गरेर जनयुद्ध टुंग्याएर सत्ता साझेदारी गर्ने प्रस्ताव धेरै पटक आएका थिए । तर माओले ती प्रस्ताव अस्वीकार गर्दै ती आत्मसमर्पणवादी धारहरु विरुद्ध संघर्ष गर्दै क्रान्ति सम्पन्न गरेरै छाडे । माओको एक महत्वपूर्ण सिद्धान्त यो हो कि ‘क्रान्तिलाई अन्तसम्म लैजाउ’ (माओका रचनाहरु भाग ४ पृष्ठ २९९) । तर पुष्पकमल बाबुरामहरुले क्रान्तिलाई बीच बाटोमै परित्याग गरेर नेपाली जनतामाथि गम्भीर विश्वासघात गरे, जसको फलस्वरुप ०६३ पछिको नेपालको राजनीति चरम अस्थिरता, अराजकता र बिखन्डनको बीचबाट गुज्रिरहेको छ । 
नेपालमा प्रत्येक आन्दोलन र क्रान्तिहरुपछि बनेको सरकार र पार्टीहरुका नेता कार्यकर्ताहरु जनविरोधी, भ्रष्ट, निरंकुश अर्थात् पुरानै शासकहरुकै रुपमा परिवर्तित हुनेक्रम ००७ सालदेखि नै चलिरहेको छ । माओले क्रान्तिपछि हुने यस्ता प्रतिक्रान्तिहरुका बारेमा वैज्ञानिक विश्लेषण गरेर यसका कारणहरु र यसविरुद्ध लड्ने उपायहरुको सिद्धान्त विकास गरेका थिए जसको विश्वव्यापी महत्व अझ बढेको छ । यस सिद्धान्तलाई निरन्तर क्रान्तिको सिद्धान्त वा सांस्कृतिक क्रान्तिको सिद्धान्त पनि भनिन्छ । सांस्कृतिक क्रान्ति भनेको जनपक्षीय क्रान्तिकारी बाटो छोडेर आत्मसमर्पणकारी जनविरोधी बाटो समात्न थाल्ने कम्युनिष्ट नेताहरुविरुद्ध क्रान्तिकारी जनपक्षीय कम्युनिष्टहरुले गर्ने नयाँ खालको क्रान्ति हो । यसलाई प्रयोग गर्ने क्रममा चीनमा केही कमी कमजोरी अवश्य पनि रहन गएका थिए । तर ती कमी कमजोरीका आधारमा यस विश्वव्यापी महत्वको सिद्धान्तको अवमूल्यन गर्नु कदापी सही होइन । माओको यस सिद्धान्तले यो भन्छ कि क्रान्तिपछि नयाँ सरकारमा जाने नेता कार्यकर्ताहरुमध्ये कयौंको वर्ग परिवर्तन, विचार परिवर्तन र व्यवहार परिवर्तनको वस्तुगत सम्भावना रहेको हुन्छ । क्रान्तिपछि पनि पुरानो प्रतिक्रियावादी जनविरोधी वर्ग र विचार तथा आनीबानी र संस्कृति बाँकी रहेको नै हुन्छ । पराजित भएता पनि समाजमा उनीहरुको आर्थिक र सांस्कृतिक आधार कायमै रहेको हुन्छ । तसर्थ नयाँ क्रान्तिकारी नेता कार्यकर्ताहरु जनविरोधी बन्ने सम्भावना बाँकी नै रहन्छ । क्रान्तिपछि पनि पुरानो प्रतिक्रियावादी वर्गले आफ्नो गुमेको सत्ता प्राप्तिका लागि अनेकौं तरिकाले वर्ग संघर्ष जारी राख्छ । उनीहरुका लागि सबभन्दा सजिलो तरिका भनेको माओले भनेजस्तै किल्ला भित्रबाट किल्ला कव्जा गर्नु हो अर्थात् नयाँ नेता कार्यकर्ताहरुलाई पनि वर्ग परिवर्तन गराई प्रतिक्रियावादी बनाउनु हो । नेपालमा बारम्वार यही भइरहेको छ । माओले यस्तो स्थितिमा ती नयाँ नेता कार्यकर्ताहरुविरुद्ध नयाँ ढंगको क्रान्ति चलाउने सिद्धान्तको विकास गरे जसको नेपालमा पनि महत्व रहेको छ । 
अहिलेको स्थितिमा माओको सांस्कृतिक क्रान्तिको सिद्धान्त केवल क्रान्तिपछि देखापर्ने प्रमुख नेताहरुको आत्मसमर्पण र गद्दारीका विरुद्ध मात्र होइन, बरु क्रान्ति चल्दै गरेको बेला नै क्रान्तिप्रति गद्दारी गर्न खोज्ने प्रमुख नेताहरुविरुद्ध क्रान्तिलाई पूर्ण सफल बनाउन पनि आवश्यक भइसकेको छ । क्रान्तिकै क्रममा प्रमुख नेताहरु नै आत्मसमर्पणको बाटो समात्न थाल्नाले विश्वमा जनपक्षीय क्रान्तिहरु धेरै असफल भइरहेका छन् । पेरुदेखि नेपालसम्मका अनुभवले यही देखाइरहेको छ । अहिलेको युगमा सशस्त्र विद्रोह वा सबै खालका जनयुद्ध वा जनक्रान्तिहरु सफल पार्न  सांस्कृतिक क्रान्तिको सिद्धान्तलाई पनि जनयुद्ध वा जनक्रान्तिको सिद्धान्तमा फ्युजन गरिनु पर्दछ । 
माओको अर्को महत्वपूर्ण सिद्धान्त भनेको उत्पीडित वर्गका सबै खाले सशस्त्र विद्रोह, जनक्रान्ति वा जनयुद्धहरु दिर्घकालीन हुन्छ भन्ने हो । पेरिस कम्युन पनि दीर्घकालीन सोचाइ बनाएर लडिएको भए वा दीर्घकालीन समय लगाएर लामो समय लडिएको भए विजयी बन्न सक्दथ्यो । रुसी अक्टोबर क्रान्ति पनि दीर्घकालीन नै थियो । रुसमा राजधानी कब्जा गरेपछि दुई वर्षसम्म गृहयुद्ध चलेको थियो र त्यसपछि मात्र देशव्यापी सत्ता कब्जा भएको थियो ।  दुई वर्षको युद्ध भनेको अल्पकालीन विद्रोह होइन । भियतनाम, क्युवा, कोरिया आदि सबै देशमा भएका सफल क्रान्तिहरु सवै दीर्घकालीन जनयुद्धकै परिणाम हुन् ।  
माओको अर्को महत्वपूर्ण सिद्धान्त भनेको ‘क्रान्तिलाई पकड्ने र उत्पादन बढाउने’ सिद्धान्त हो । क्रान्ति र उत्पादनमध्ये क्रान्ति प्रमुख हो भने उत्पादन सहायक हो । क्रान्ति भएन भने जनविरोधीहरुका हातमा सत्ता र अर्थतन्त्र रहने हुन्छ जसले गर्दा बहुसंख्यक जनताले दुःख पाउँछन् र देश मुठ्ठीभरको मात्र स्वर्ग बन्ने हुन्छ । क्रान्तिको माला मात्र जप्ने तर उत्पादन बढाउनेतर्फ अर्थात् आर्थिक क्रान्तितर्फ कदम नचाल्ने हो भने पनि क्रान्ति असफल हुने गर्दछ भन्ने माओको भनाइको नेपालमा पनि विशेष अर्थ रहेको छ । यहाँ आन्दोलनहरुपछि बनेका सबैजसो सरकारले आर्थिक क्रान्तिमा कहिल्यै ठोस काम गरेनन् वा गर्न चाहेनन् । तसर्थ बारम्वार सीमित उपलव्धि प्राप्त आन्दोलनहरु पनि असफल भएर प्रतिक्रान्ति भएका छन् । 
चीनमा पनि सांस्कृतिक क्रान्तिकालमा माओ समर्थकहरुले केवल क्रान्तिलाई एकोहोरो रुपमा पकड्ने र उत्पादन बढाउन अर्थात् आर्थिक क्रान्ति गर्न ठोस ध्यान नदिने गरेर गम्भीर गल्ती गरेका थिए । तर देङ स्याओ पिङपछिको चीनमा भने क्रान्तिलाई परित्याग गर्ने र केवल एकोहोरो रुपमा उत्पादन मात्रै बढाउनेतर्फ चिनियाँ नेतृत्वको ध्यान गइरहेको छ । फलस्वरुप चीनमा वर्ग विभाजन निकै तीब्र भएको छ ।  सरकारका कयौं नेताहरुनै भ्रष्टाचारमा डुब्न थालेका छन् र कयौंलाई फाँसीको सजायसमेत भएको छ । तर जब नीति र योजनामै गम्भीर गल्ती भएको छ भने केहीलाई सजाय दिएर मात्र समाधान निस्कने सम्भावना छैन । तसर्थ वर्तमान चिनियाँ नेतृत्वले या त पुनः माओको बाटो अपनाउनु पर्ने हुन्छ या केही दशकपछि सोभियत संघको जस्तो विघटनको सामना गर्नपर्ने हुन्छ । 
माओको अर्को महत्वपूर्ण सार्वभौम सिद्धान्त यो हो कि पुरानो जनवाद अर्थात् पुरानो बुर्जुवा लोकतन्त्र प्रतिक्रियावादी जनविरोधी भइसकेकोले त्यसको बदलामा क्रान्तिकारी जनपक्षीय कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जनवाद अर्थात् नयाँ लोकतन्त्रको स्थापना गर्नु पर्दछ ।  नेपालमा घुमीफिरि लोकतान्त्रिक गणतन्त्रको नाममा दलाल तथा नोकरशाही पूँजीपतिवर्गको पुरानै लोकतन्त्र स्थापना भएकोले जनताका समस्याहरु समाधान नभएको तथ्यबाट पनि माओको सिद्धान्तको सार्थकता प्रष्ट भएको छ । 
माओले दर्शनशास्त्र, वैज्ञानिक समाजवाद, राजनैतिक अर्थशास्त्र तथा सर्वहारा फौजी विज्ञानका क्षेत्रमा अनेकौ सार्वभौम सिद्धान्तहरुको विकास गरेका छन् जसको चर्चा यो लेखमा सम्भव छैन । तर माथिका केही उदाहरणहरुबाट पनि माओका सिद्धान्तहरु अहिलेको विश्वमा पनि आवश्यक रहेको पुष्टि गर्दछ । 

Related News