​के साम्यवाद सम्भव छ ?

सन्दर्भ माक्र्सको जन्म द्विशताब्दी

रवीन्द्र श्रेष्ठ । साम्यवाद सम्भव र आवश्यक मात्र होइन अवश्यम्भावी छ भनि उद्घोष गर्ने वैज्ञानिक साम्यवादका महान सिद्धान्तकार कार्ल माक्र्सको जन्म भएको दुई सय वर्ष पूरा हुन लागेको छ । नेपालमा उनको जन्म द्विशताब्दी विविध कार्यक्रमहरु आयोजना गरी मनाउन सबैजसो कम्युनिष्ट पार्टीका युवा नेता कार्यकर्ताहरु रहेको एक आयोजक समिति पनि बनेको छ । यो केवल जन्म दिवसको औपचारिकता मात्र नभई माक्र्सवादको विजय र पराजयको मूल्यांकन तथा आगामी योजना निर्माणको लागि पनि महत्वपूर्ण थलो हुन सक्दछ । सबै कम्युनिष्ट घटकहरु रहेको यस्तो समिति बन्नु सकारात्मक कुरा हो । कम्युनिष्ट जनमत बहुमतमा रहेको विश्वका पाँच देशहरुमा नेपाल पनि पर्दछ । एकाइसौं शताब्दीमा विश्वका कुनै पनि देशहरुमा कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति भएका छैनन् । नेपालमा कांग्रेस कम्युनिष्ट मिलेर गणतन्त्रसम्म ल्याएका छन् । नेपाल नै विश्वमा एक यस्तो देश हो जहाँ विगत ९ वर्षमा ६ जना कम्युनिष्ट प्रधानमन्त्री भएका छन् । नेपाल नै विश्वमा एक यस्तो देश हो जहाँ संसदीय चुनावबाटै कम्युनिष्टहरुको एकलौटी सरकार बन्ने सम्भावना अझै पनि छ । साथै, नेपाल नै एक यस्तो देश हो जहाँ दशथरि कम्युनिष्ट पार्टीहरु पनि छन् र कम्युनिष्टहरुबीचमै काटाकाट मारामारको स्थिति पनि छ । 
उन्नाइसौं शताब्दीमा माक्र्स ऐंगेल्सको समयमा कुनै पनि देशमा क्रान्ति सफल हुन सकेन । विसौं शताब्दीमा लेनिनको नेतृत्वमा रुसी समाजवादी क्रान्ति तथा माओको नेतृत्वमा चिनियाँ नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति र प्रतिक्रान्ति रोक्ने उद्देश्यसहित सर्वहारा सांस्कृतिक क्रान्ति सहित विश्व हल्लाउने ठूल्ठुला क्रान्तिहरु भए । भियतनाममा अमेरिकालाई हराउने गरी होचि मिन्हको नेतृत्वमा राष्ट्रिय मुक्ति युद्ध पनि सम्पन्न भए । साथै विसौं शताब्दीमै सोभियत संघमा प्रतिक्रान्ति भई पूँजीवादको पुनस्र्थापना भयो र सोभियत संघ विघटन भयो भने पूर्वी युरोपका कम्युनिष्ट नेतृत्वका देशहरुमा पनि प्रतिक्रान्ति भयो । माओको निघनपछि चीनमा देङको नेतृत्वमा समाजवादी बाटो बदलेर पूँजीवादी बाटोको शुरुवात भयो । यी परिघटनाहरुले गर्दा पूँजीवादी वुद्धिजीवीहरुले साम्यवाद असम्भव भएको प्रमाणित भएको हौवा संसारभरि फैलाउन थाले । माक्र्सको जन्म दिवस मनाउँदै गर्दा के साम्यवाद असम्भव भएको नै हो भन्ने प्रश्न लगायत यससँगै आउने अन्य प्रमुख प्रश्नहरुको समुचित उत्तर दिनु सबै माक्र्सवादीहरुको कर्तब्य हो । यी प्रश्नहरुको उत्तर नदिई केवल कर्मकाण्डी जन्म दिवस मनाउनुको भने कुनै अर्थ रहने छैन ।
पूँजीवादी वुद्धिजीवीहरुले जतिसुकै चर्को स्वरमा साम्यवादी सिद्धान्तहरुको अन्त्य वा सदाका लागि पराजय भइसकेको भनेर चिच्याए पनि विश्वमा यसको आवश्यकता अझ बढ्दै गएको तथ्यहरुले देखाइरहेका छन् । बेलायतको पूँजीवादी पत्रिका गार्डियनले जनाएअनुसार अहिले विश्वका केवल १ प्रतिशत मानिसले विश्वको आधाभन्दा बढी सम्पत्तिमा कब्जा जमाएका छन् भने विश्वका आधा जनताको सम्पत्ति विश्वको केवल १ प्रतिशत सम्पत्ति मात्र रहेको छ । अमेरिकाको पूँजीवादी पत्रिका वासिङ्टनपोष्टले जनाएअनुसार विश्वका ८५ जना पूँजीपतिहरुको हातमा विश्वका  ३ अर्ब ५० करोड गरिव जनताको बराबर सम्पत्ति रहेको छ । सोही पत्रिकाका अनुसार विश्वका १० प्रतिशत बालिग पूँजीपतिहरुका हातमा विश्वको ८६ प्रतिशत सम्पत्ति केन्द्रित भएको छ । अमेरिकाकै कुरा गर्दा त्यहाँका १ प्रतिशत पूँजीपतिहरुका हातमा अमेरिकाको ५० प्रतिशत शेयर पूँजी रहेको छ भने आधा अमेरिकी जनताका हातमा केवल ४ प्रतिशत मात्रै रहेको छ । सन् १९९० यता कर्पोरेट नाफा दोब्वर बृद्धि भएको छ, सिइओहरुको तलव सुविधा ३०० प्रतिशतले बढेको छ । तर मजदुरहरुको ज्याला भने केवल ४ प्रतिशतले मात्र बढेको छ । ४०० अमेरिकी पूँजीपतिहरुका हातमा आधाभन्दा बढी अमेरिकी जनताको भन्दा पनि बढी सम्पत्ति रहेको छ । पूँजीवादले धनी र गरिब अर्थात् शोषक र शोषितबीचको दूरी झन् झन् बढाउँछ भन्ने माक्र्सवादी सिद्धान्त अमेरिकामा समेत पनि पुष्टि भइरहेको छ । भनिन्छ कि माक्र्स लेनिन र माओको बेलामा भन्दा पनि अहिले अमेरिकालगायत विश्वमै  धनी र गरिवबीचको असमानता तीब्र भएको छ । यसको अर्थ हो माक्र्स, लेनिन र माओको समयभन्दा पनि अझ भीषण क्रान्तिहरुको जन्मका लागि अहिलेको विश्वमा वस्तुगत आधारहरु तयार छन् । 
अर्कोतिर माक्र्स लेनिन र माओको समयभन्दा अहिलेको उत्पादक शक्तिहरुको विकास  तीब्रतामा छ । विज्ञान र प्रविधिको विकास माक्र्स लेनिन र माओको समयभन्दा निकै अगाडि छ । उत्पादक शक्तिहरुको विकासको अर्थ यो हो कि अहिले विश्वमा भएका विज्ञान प्रविधि, पूँजी, प्राकृतिक श्रोत, सक्षम श्रमिकहरु आदिको सही ढंगले अर्थात् समाजवादी ढंगले प्रयोग गर्ने हो भने विश्वभरिका जनताका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ, मनोरन्जन आदि जस्ता आधारभूत आवश्यकता तत्काल पूर्ति हुने निश्चित छ । अमेरिका युरोप चीन र भारतले मात्रै पनि विश्वका सवै जनतालाई पुग्ने गरी खाद्यान्न उत्पादन गर्न सक्दछ । तर एकातिर अमेरिका युरोपमा अनाज उत्पादन बढी भएर फालाफाल छ अर्थात् अति उत्पादनको समस्या छ भने अर्कोतिर संसारभर लाखौं होइन करोडौं जनता कुपोषणबाट ग्रस्त छन् । भारतकै कयौं प्रान्तमा अन्न र सब्जी उत्पादन बढी भएर बिक्री हुँदैनन् भने करोडौं जनतालाई एक छाक खान पनि मुश्किल छ । भारत र युरोपका औषधी उद्योगहरु मात्रले पनि विश्व भरिका जनतालाई सबै रोगका लागि पुग्ने औषधी उत्पादन गर्न सक्दछ तर विश्वभरि सामान्य औषधी पनि नपाएर लाखौं जनता वर्षेनि मरिरहेका छन् । 
पूँजीवाद अगाडि विश्वको समस्या भनेको न्युन उत्पादन र न्युन उपभोगको थियो । तर पूँजीवादी विकाससंगै विश्वमा अति उत्पादन र न्युन उपभोगको समस्या देखा परेको थियो र माक्र्सले यसैवाट पूँजीवादमा वारम्वार गम्भीर संकट आउने वताएका थिए । अहिले पूँजीवादी उद्योगहरुले विश्व भरका जनतालाई पुग्ने गरि आधारभूत सामानहरु र अन्य कयौं सामानहरु पनि वनाउने क्षमता राख्दछ । तर उनीहरुले विश्वभरिका जनतालाई पुग्ने गरि सामान उत्पादन नगरि उत्पादक शक्तिको हत्या गरिरहेका छन् । किनभने उनीहरुलाई व्यक्तिगत नाफा चाहिन्छ, नाफाका लागि किन्ने र काम गर्ने श्रमिकहरुको शोषण गरेर क्रयशक्ति घटाइन्छ फलस्वरुप उनीहरुको सामान विक्री हुँदैन । यही पूँजीवादी दुष्चक्र  नै समाजवाद र साम्यवादको अवश्यम्भाविताको प्रमाण हो । 
पूँजीवादले व्यक्तिगत सम्पति रक्षा तथा प्रजातन्त्र रक्षा को नाममा अनुत्पादक क्षेत्रमा अरवौं डलर खर्च गरिरहेका छन् । अमेरिकाले सन् २०१५ मा सेनाका लागि ५७० अर्ब डलर वजेट निकासा ग¥यो । त्यसै गरि त्यसैगरि वेलायतले ६६ अर्ब, रुसले ५३ अर्ब, फ्रान्सले ५३ अर्ब, भारतले ५० अर्ब, जापानले ४९ अर्ब, जर्मनीले ४४ अर्ब डलर वजेट निकासा ग¥यो । वर्षेनि गरिने यस्ता अरबौं डलर रकम मध्ये दश वर्षको आधा मात्रै वजेट वाट पनि विश्वका अति गरिव ३ अर्ब जनताको आधारभूत आवश्यकता पूरा हुने थियो । माक्र्स देखि माओको पालामा इन्टरनेट र मोवाइल फोनको आविश्कार भएको थिएन । यसवाट विश्व भरिको अर्थतन्त्रलाई साम्यवादी ढंगले व्यवस्थापन गर्न सजिलो वनाइदिएको छ । साम्यवादको प्रमुख आर्थिक नियम भनेर माक्र्सले सबैवाट उसको क्षमता अनुसार र सबैलाई उसको आवश्यकता अनुसार भनेका थिए । विज्ञान र प्रविधिको विकास लगायत उत्पादनका अन्य शक्तिहरुको विकासले गर्दा अहिलेको विश्वमा माक्र्सले भनेको साम्यवादको त्यस आर्थिक नियम लागु गर्न सकिने वस्तुगत आधार तयार भएको छ । अर्थात उत्पादनका साधन र शक्तिहरु यति विकास भएको छ कि त्यसको प्रयोग व्यक्तिगत नाफाको लागि नभएर पुरै विश्व समाजका लागि गर्ने हो भने अर्थात त्यसलाई व्यक्तिगत स्वामीत्वमा नराखी समाज पुरैको स्वामीत्वमा राख्ने क्रान्ति गर्न सक्ने हो भने ती उत्पादनका साधन र शक्तिवाट साम्यवादी व्यवस्थाको प्रारम्भ गर्न सकिने स्थिति पैदा भएको छ । तर व्यक्तिगत स्वामीत्व र नाफाका आधारमा चल्ने पूँजीवादी व्यवस्था रहेकोले ती उत्पादक शक्तिको हत्या वा नास भैरहेको छ अर्थात जति क्षमता हो त्यो प्रयोग नगरिकन त्यसलाई दवाइएको छ । 
तसर्थ माक्र्स लेनिन र माओको समय भन्दा अहिले अझ राम्रो वस्तुगत परिस्थिति साम्यवादको विजयको लागि तयार भएपनि किन विश्वमा क्रान्तिहरुको श्रंखला शुरु हुन सकिरहेको छैन भन्ने तर्फ सबै माक्र्सवादीहरुको ध्यान केन्द्रित हुनु पर्ने वेला आएको छ ।  माक्र्सको क्रान्तिको तरिका र सिद्धान्त ग्रहण गर्न मै कतै विश्वका कम्युनिष्टहरुमा आएको समस्याले गर्दा यस्तो क्रान्ति सम्पन्न हुन नसकेको त होइन भनेर हामीले पनि सोच्ने बेला आएको छ । 



Related News